Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

संकटमा बङ्गुरपालन व्यवसाय


२८ भदौ, स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–१३, का श्यामबहादुर विश्वकर्माले बङ्गुरपालन व्यवसाय गर्न थालेको सात वर्ष भयो । वैदेशिक रोजगारमा छ वर्ष बिताएर फर्किएका उनले झलुङ्गे बजार स्थित अर्चलेमा तीन रोपनी जग्गा भाडामा लिएर केबी एस बङ्गुर फार्म दर्ता गरी व्यावसाय सुरु गरेका थिए ।

कोरोना कहर अघि विश्वकर्माको फार्ममा करिब तीन सय बङ्गुरका माउ र पाठापाठी थिए । अहिले भने त्यो सङ्ख्या घटेर एक सय वटाको हाराहारीमा बङ्गुर छन् । मासिक १२ लाख मुनाफा कमाउँदै आएका उनको आम्दानी हाल भने क्रमशः घट्दै जान थालेको छ ।

उनले व्यावसाय सञ्चालन गरेको चार वर्ष बङ्गुरपालनबाटै परिवार राम्रोसँग पाल्दै आएका थिए । उनले पछिल्लो समय बङ्गुरलाई खुवाउने दानामा मूल्यवृद्धि भएकाले व्यवसाय नै धरापमा परेको बताए ।

“व्यवसाय सुरु गरेको वर्ष कसरी मासु बिक्री गर्ने भन्ने चिन्ता हुन्थ्यो, एक वर्षपछि प्रचारप्रसार राम्रो भयो र बङ्गुरका पाठापाठी र मासु पु¥याउनै धौ भयो”, उनले दुखेसो पोखे, “अहिले हामी महँगीको मारमा परेका छौँ, दानापानीमा लगानी गर्न गाह्रो हुँदै गएको छ, ढुवानी खर्च बढी हुँदा बङ्गुर निर्यातमासमेत समस्या हुँदै आएको छ ।” “व्यवसाय सुरु गर्दा आठ सयमा किनेको मकै अहिले १७ सय पुगेको छ”, किसान विश्वकर्माले भने, “यस्तै समस्या यथावत रहेमा व्यवसायबाट पलायन हुने स्थिति नआउला भन्न सकिन्न ।”

“व्यवसाय गरेको करिब चार वर्ष सन्तुष्ट थिएँ, अहिले दानापानीमा भएको मूल्यवृद्धिले व्यवसाय नै छोडौँ कि जस्तो हुन्छ”, उनले थपे, “भन्दा सजिलो जस्तो पेशा देखिए पनि बङ्गुरलाई दाना पु¥याउन गाह्रो हुने रहेछ ।” विश्वकर्माले कोरोनाको समय मासुका लागि तयार भएका बङ्गुरलाई दाना पुर्याउन नसक्दा सस्तो मूल्यमा मासु बिक्री गर्न बाध्य भएको स्मरणसमेत गरे ।

उनले लगानीअनुुसार अन्य पशुपक्षीको तुलनामा बङ्गुरको मासुको मूल्य उचित नभएको दाबी गरे । “स्थानीय बजारमा एक किलो खसीको मासुको मूल्य नौ सय रुपैयाँ हुँदा बङ्गुरको मासुको मूल्य धार्नीको आठ सय रुपैयाँ हुनु किसान मारमा पर्नु हो”, विश्वकर्माले भने, “खसीबोकामा भन्दा बङ्गुरपालनमा उत्पादन लागत दोब्बर छ, सरकारले बङ्गुरको मासुको उचित मूल्य निर्धारण गरिदिएर किसानलाई राहत दिनुपर्छ ।”

उनले सरकारले किसानलाई अनुदान नदिएर सस्तो ब्याजदरमा ऋण उपलब्ध गराइदिनुपर्ने माग राखे । विश्वकर्माले साना व्यवसाय गर्ने किसानलाई टिकाइराख्न मूल्यवृद्धि नियन्त्रण गर्नुपर्नेमा समेत जोड दिए ।

“विदेशमा छ वर्ष बिताए, आर्थिक स्थिति तब पनि सुल्झेन”, उनले भने, “प्रदेशको कमाइले जीवनस्तरमा सुधार नआएपछि देशमै स्वरोजगार बन्ने अठोटका साथ गाउँ फर्केर बङ्गुरपालन गरेको छु तर पछिल्लो महँगीले अबको बाटो सहज देखेको छैन ।”

किसान विश्वकर्माले घरमा पाल्दै आएका तीन माउँ र एउटा बङ्गुरको पाठोबाट सङ्ख्या बढाएर २६ बङ्गुर उत्पादन गरेर फार्म दर्ता गरेका थिए । उनले सुरुमा मासु उत्पादनका लागि बङ्गुरपालन गरे पनि हाल पाठापाठी उत्पादनमा जोड दिएको बताए । यहाँ उत्पादित मासु स्थानीय बजारसँगै, पर्वत, पोखरा, काठमाडौँसम्म निर्यात हुने गरेको छ ।उनलाई श्रीमती विष्णुमायाले व्यवसाय सञ्चालनमा साथ दिँदै आएकी छिन् ।


प्रकाशित मिति: २८ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?