Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

मत्स्यनारायणमा ८० हजारले गरे दर्शन


३२ श्रावण, काठमाडाैँ । यसअघिका मलमास लागेको वर्षमा स्थानीयको सामान्य पूजापाठमा सीमित चाँगुनारायण नगरपालिका–५ छालिङ गोकुलस्थित ऐतिहासिक मत्स्यनारायण मन्दिरमा यस वर्ष भक्तजनको घुइँचो लागेको छ ।

ऐतिहासिक यस मन्दिरमा पहिलो पटक पुरूषोत्तम महिना (मलमास) सुरु भएयता गएरातिसम्म पनि दर्शनार्थीको घुइँचो मात्रै बढेन एक महिनाको यो अवधिमा विभिन्न जिल्लाबाट आएका करिब ८० हजार भक्तजनले दर्शन एवं पूजा अर्चना गरेका छन् ।

मत्स्यनारायण मन्दिरमा एक महिने ‘मत्स्यनारायण मेला’ सुरु भएदेखि नै ओझेलमा पर्दै आएको यस मन्दिरमा यस वर्षदेखि भक्तजनको नजर परेको एकमहिने पुरुषोत्तम मेला आयोजना समितिका संयोजक गोकर्ण पुरीले जानकारी दिए ।

उनले भने, “गरे के नहुँदो रहेछ र ?, तीन सय वर्ष पुरानो यो मन्दिर ओझेलमा थियो, यहाँका मान्यगन्य, ज्येष्ठ नागरिकसँग सुझाव लियौँ, हामी युवा यहाँको प्रचारमा लाग्याँै, यो मन्दिरमा पहिलो पटक हरेक दिन दर्शनार्थीको घुइँचो देखेर हाम्रा अग्रजहरु पनि छक्क पर्नुभयो, यो मन्दिरको दीर्घकालीनरुपमा संरक्षण र विकासमा हामी लाग्नेछौँ ।”

स्थानीयस्तरबाटै महिना दिनसम्मका लागि प्रवचन र भजनकीर्तनका टोली ल्याएको, नारायणको पूजा÷पुरुषोत्तम महात्म्य वाचन गरिएको, यहाँ आउने दर्शनार्थीलाई सहज पूजा गर्ने व्यवस्था गरेको जनाउँदै उनले भक्तपुरका चारवटै नगरपालिका, काठमाडौँ, ललितपुर, साँखु, मूलपानी, काभ्रेपलाञ्चोकलगायत विभिन्न ठाउँका दर्शनार्थीको मन्दिरमा भीड लागेको बताए ।

मन्दिर संरक्षकसमेत रहेका पुरीले भने, “यो तीन सय वर्ष पुरानो मन्दिर हो, दुई पीपलको बोटको बीचमा रहेको मन्दिर भत्किएपछि पुनःनिर्माण गरिएको हो, यसको शिलालेख पुरिएकाले उत्खनन् र अध्ययन गर्नुपर्ने देखिन्छ, सय वर्ष पुरानो पुजाको थाली भने अझै पनि छ, मन्दिरको संरक्षणमा यहाँका बासिन्दा सबै जुटेपछि अहिले यो मन्दिर वर्षभरि नै आन्तरिक पर्यटकको केन्द्र बनेको छ ।”

ससाना तीन नदीको सङ्गमस्थलमा रहेको यस मन्दिरलाई त्रिवेणी धामका नामलेसमेत चिनिने गरिन्छ । मन्दिर संरक्षणसँगै ६४ शिवलिङ्ग, सप्तऋषिको मन्दिर, कृष्ण बर्तेश्वर महादेव मन्दिर, गणेश मन्दिर र कुण्डसमेत रहेको यस मन्दिर परिसरमा मलमासमा यस वर्ष दर्शनार्थीको अधिक घुइँचो लागेको छ । यहाँको कुण्डमा स्नान गरेमा छालालगायतका विभिन्न रोग नाश हुने जनविश्वास रहँदै आएको छ ।

यस क्षेत्रमा प्राकृतिक सौन्दर्यता रहेको र यहाँ पार्क निर्माण गरेकाले बाह्रै महिना आन्तरिक पर्यटकको आगमन बढ्दो रहेको पुरीले बताउनुभयो । यस मन्दिरमा तीज र जनैपूर्णिमामा पनि मेला लाग्ने गरेको छ । बालाचर्तुदशीमा महाद्वीप बाल्न र ६४ शिवलिङ्ग परिक्रमा गरी सद्बिज छर्न पनि यहाँ घुइँचो लाग्ने गर्दछ ।

मन्दिरसम्म पुग्ने सडक कच्ची भएकाले यसलाई कालोपत्र गर्नसके उपत्यकाबाट नजिक पर्ने यस क्षेत्रमा पारिवारिकरुपमा घुम्न र रमाइलो गर्न आउने आन्तरिक पर्यटकको सङ्ख्या अझै बढ्ने भएकाले यसका लागि पहल भइरहेको उनले बताए ।

यसैगरी भक्तपुर नगरपालिका–६ स्थित अंचा पोखरी (ख्यो पुखु) मा पनि साउन २ गतेदेखि लागेको एकमहिने मत्स्यनारायण पुरुषोत्तम मलमास मेलामा स्थानीयले पूजा एवं दर्शन गरेका छन् । यस मन्दिरमा पनि एक महिनासम्म नारायणको पूजा, पुरुषोत्तम महात्म्य वाचन गरिएको थियो । यहाँका कुण्डमा स्नान गरी मन्दिरमा दर्शन गरे रोगव्याधि नष्ट हुने, पापकर्म नष्ट हुने जनविश्वास रहँदै आएकाले भक्तपुर नगरका बासिन्दाले यहाँ पूजा, दर्शन एवं स्नान गरेका छन् ।


प्रकाशित मिति: ३२ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?