काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै संविधान र लोकतन्त्र नै अप्ठ्यारोमा परेको बताएका छन् ।
काठमाडौंको खुलामञ्चमा आईतवार आयोजित नेपाली काँग्रेसको १५ औँ महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले सत्ताको स्वेच्छाचारिता र अराजकताले लोकतान्त्रिक प्रणालीलाई जोखिममा पारेको बताएका हुन् । पूर्वप्रधानमन्त्री दाहालले समावेशी लोकतन्त्रसहितको सङ्घीय गणतन्त्र शान्ति सम्झौताको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै त्यसको रक्षाका लागि सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता औँल्याएका छन् । शान्ति सम्झौताका केही पक्षहरू अझै टुङ्गिन बाँकी रहेको भन्दै उहाँले त्यसलाई पूर्णता नदिए देश पुनः अस्थिरतातर्फ धकेलिन सक्ने खतरा औँल्याए उनले विशेष गरी नेपाली काँग्रेसका सभापति गगन थापालाई लक्षित गर्दै शान्ति सम्झौताका बाँकी काम पूरा गर्ने जिम्मेवारी वोध गराए । वर्तमान राजनीतिक दलहरूको खुम्चँदो अवस्थाबारे चर्चा गर्दै दाहालले दलका नेताहरूप्रति आफ्नो भरोसा रहेको बताएका छन् ।
उनले भने, ‘देश अप्ठ्यारो अवस्थामा छ, लोकतन्त्र चुनौतीमा छ र हामीले निर्माण गरेको समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान पनि चुनौतीमै छ । यस्तो अवस्थामा संविधान र लोकतान्त्रिक व्यवस्थालाई अझ सुदृढ गर्न सबै राजनीतिक दलहरू मिलेर अघि बढ्न आवश्यक छ । समावेशी संघीय लोकतान्त्रिक गणतन्त्र शान्ति सम्झौताको महत्वपूर्ण उपलब्धि हो । शान्ति प्रक्रियाका धेरै काम सफलतापूर्वक सम्पन्न भएपनि केही काम अझै बाँकी छन् । ती काम समयमै टुङ्ग्याउन नसकिए देश फेरि अप्ठ्यारो परिस्थितिमा जान सक्छ । शान्ति सम्झौताको जीवित हस्ताक्षरकर्ताको नाताले म नेपाली काँग्रेसका सभापति गगन थापाजीलाई विशेष आग्रह गर्न चाहन्छु, बाँकी शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने जिम्मेवारीलाई प्राथमिकताका साथ अघि बढाउनुहोस् । शान्ति सम्झौतामार्फत महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारूलगायत समुदायले प्राप्त गरेका अधिकार र पहिचानलाई अझ सुदृढ गर्दै शान्ति सम्झौतालाई पूर्ण सफलताको उदाहरण बनाउने दिशामा तपाईंको नेतृत्व अघि बढोस् भन्ने मेरो विश्वास छ । अब धेरै कुरा गर्न चाहन्न । समय पनि घर्किसकेको छ । गगनजी र अन्य नेताहरूको कुरा सुन्न बाँकी नै छ । तर यहाँ उपस्थित सबै राजनीतिक नेतृत्वप्रति मेरो उत्तिकै सम्मान, माया र भरोसा छ । मलाई विश्वास छ, आउने दिनमा हामी सबैले आपसी समझदारी र सहकार्यका साथ समृद्ध, शान्तिपूर्ण र लोकतान्त्रिक नेपाल निर्माण गर्न सफल हुनेछौँ ।’
उनले रास्वपा सभापति रवि लामिछाने र काँग्रेस नेताहरूप्रति सम्मान व्यक्त गर्दै आउँदा दिनमा समझदारीका साथ समृद्ध नेपाल निर्माणमा लाग्नुपर्नेमा जोड दिएका छन् । उनले दलहरूबीचको ध्रुवीकरणभन्दा पनि राष्ट्रिय मुद्दामा सहमतिको खाँचो रहेको बताएका छन् ।
प्रकाशित मिति: १८ आश्विन २०८३, आईतवार