Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

सुनको मूल्य दिनमा अब दुइपटक तोकिने !


काठमाडौं । चालु आर्थिक वर्षको सुरुदेखि सुनको मूल्य बढेर नयाँ रेकर्ड बनाउँदै आएको छ। यो आवको तेस्रो सातामै मूल्य प्रतितोला डेढ लाख रुपैयाँ नाघ्यो। सुनले २०८१ साउन २१ गते प्रतितोला १ लाख ५० हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड राखेको थियो। यद्यपि यसबीच सामान्यतया मंसिर महिना विवाहको लगन हुने भएकाले सुनको मूल्य बढ्ने गथ्र्यो तर मूल्य एक्कासि घट्यो।

सरकारले सुन आयातमा लगाउँदै आएको भन्सार दर २० बाट घटाएर १० प्रतिशतमा झारेकै दिन बजारमा सुनको मूल्य तोलामै १५ हजार ९ सय रुपैयाँले घटेको थियो। जसले गत मंसिर ९ गते छापावाला सुन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँमा बिक्री भइरहेकोमा त्यसको भोलिपल्ट १० गते घटेर १ लाख ५१ हजार ३ सय रुपैयाँमा सीमित भएको थियो। तर त्यसपछिका दिनमा पनि घटबढ भइरहेकोमा हाल फेरि १ लाख ७० हजार रुपैयाँकै आसपासमा देखिन्छ।

सुन–चाँदी व्यवसायी महासंघले फागुन २ गते प्रतितोला छापावाला सुन १ लाख ७० हजार २ सय रुपैयाँ तोक्यो। यस्तै, साताको पहिलो कारोबार दिन सोमबार (फागुन ५) छापावाला सुन प्रतितोला १ लाख ६८ हजार ७ सय रुपैयाँ, चाँदी प्रतितोला १ हजार ९ सय ७० निर्धारण गरेको छ।

सुन र चाँदीको मूल्य कसरी निर्धारण हुन्छ ?

सुन र चाँदीको मूल्य कसरी निर्धारण हुन्छ भन्ने धेरैको चासो हुन्छ। सुनचाँदीको कहिले ह्वात्तै घटेको कहिले बढेको सुनिन्छ। यसको निश्चित मापदण्ड छ। नेपालले सुनचाँदीको दर अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक भएको मूल्यलाई आधार मानिन्छ। सुनचाँदीको मूल्य पनि अन्तर्राष्ट्रिय बजारमा घटबढ हुने गर्छ। विशेष गरेर न्यूयोर्क एक्सचेन्ज अर्थात् अन्तर्राष्ट्रिय बजारमा १८ घण्टासम्म सुनको खरीदबिक्री हुन्छ।

सातामा ६ दिन सुन कारोबारको अन्तर्राष्ट्रिय बजारमा लाइभ कारोबार हुन्छ। हरेक साताको आइतबार भने बन्द हुने भएकाले ताजा मूल्यभन्दा पनि अघिल्लो सदन शनिबारकै मूल्य लागू हुन्छ। अन्तर्राष्ट्रिय बजारको मूल्य अस्थिरताले नेपाली बजारमा पनि सुन महँगिन सघाउ पुग्छ।

हाल सुनको मूल्य १०ः३०बजे तोक्ने गरिएकोमा अब एएम रेट र पीएम रेट ल्याउने योजना बन्दै
अन्तर्राष्ट्रिय बजारको साथै डलर रेटको उतारचढावले पनि सुनको मूल्यलाई तलमाथि पार्ने
नेपालमा कसरी तोकिन्छ सुनको मूल्य ?

नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल रत्न तथा आभूषण महासंघ, नेपाल हस्तकला महासंघको आपसी समझदारीमा मूल्य निर्धारण समिति गठन भएको छ। उक्त समितिको संयोजक सुनचाँदी व्यवसाय महासंघको वरिष्ठ उपाध्यक्ष दियशरत्न शाक्यको संयोजकत्वमा गठित समितिले मूल्य निर्धारण गर्छ। मूल्य तोक्ने सूत्र हुन्छ। सोहीअनुसार दैनिक मूल्य निर्धारण हुन्छ। उक्त समितिले नेपालको साढे १० बजेको समयमा अन्तर्राष्ट्रिय बजारमा जति मूल्य चलेको छ, त्यसैलाई आधार मानेर निर्धारण गर्छ।

साढे १० बजेकै मूल्यलाई किन लिइन्छ भन्ने अन्नपूर्णकर्मीको प्रश्नको जवाफ दिँदै महासंघका कोषाध्यक्ष सुदीप श्रेष्ठले भने, ‘सामान्यतया नेपालीहरूको बजार खोल्ने समय १० बजेदेखि हो। यसैले अन्तर्राष्ट्रिय बजारको सोही समयलाई लिएको हो।’ तर अब दिनको दुई समय सुनको मूल्य तोक्ने योजना बनाइरहेको उनले जानकारी दिए। उनका अनुसार कतिपयले ११–१२ बजे खोल्ने र अलि रातिसम्म बस्ने चलन भएकाले अब दिनमा दुई पटक सुनचाँदीको मूल्य तोक्ने नीति बनाउदै छौं। ‘अब एएम रेट र पीएम रेट ल्याउने तयारीमा जुटेका छौं,’ उनले भने। छिमेकी मुलुक भारतमा भने अन्तर्राष्ट्रिय बजारको लाइभ मूल्यअनुसार छिनछिनमै तलमाथि भइरहनेलाई आधार मान्ने गरेको छ।

शनिबार अन्तर्राष्ट्रिय बजार खुला हुन्छ। शनिबारको मूल्यलाई आइतबारसम्म नेपालले पनि आधार मान्ने गर्छ। महासंघका कोषाध्यक्ष श्रेष्ठअनुसार डलर रेटको उतारचढावले पनि सुनको मूल्य तलमाथि हुन्छ। डलर मूल्य र अन्तर्राष्ट्रिय सुनको मूल्यले तलमाथि हुनमा मूख्य भूमिका खेल्छ। डलर र सुनको मूल्य घटबढमा विपरीत हुन्छ भनिरहे पनि यो कहिलेकाहीँ मेल नखाने र दुवैको मूल्य घट्ने पनि वा बढ्ने पनि हुने गरेको उनको भनाइ छ।

सुनको मूल्य शुक्रबार प्रतिऔंस २९२५ डलर र शनिबार प्रतिऔंस २८८३.१० डलर थियो। यसलाई सोही दिनको नेपाल राष्ट्र बैंकले तोकेको विदेशी विनिमय दर अर्थात् डलरको मूल्यले गुणान गरिन्छ। विनिमय दर शुक्रबार प्रतिडलर नेपाली रुपैयाँ १३९.२५ पैसा र शनिबार १३८.९० पैसा थियो। एकदिनमा झन्डै ३५ पैसाले डलर मूल्य घट्यो। सुन र डलरको मूल्य सो अनुपातले घट्दा धेरै मात्रामा सुनको मूल्य घटेको जस्तो हुन्छ।

नेपाली समयअनुसार बिहान साढे १० बजेको अन्तर्राष्ट्रिय बजारको मूल्यलाई सोही सन्दर्भ मूल्यमा सो दिनका लागि राष्ट्र बैंकले तोकेको विदेशी विनिमय दर अर्थात् डलरको मूल्यले गुणान गरिन्छ। यसरी आएको गुणनफलमा जति आउँछ त्यसमा सरकारले लिने गरेको १० प्रतिशत भन्सार जोडिन्छ।

यसपछि सुन वाणिज्य बैंकहरूमार्फत खरिद गर्नुपर्ने भएकाले बैंकले सेवा शुल्कबापत ०.५ रुपैयाँ र सुनचाँदी व्यवसायीले थप ०.५ प्रतिशत नाफा राखेर अन्ततः सुनको मूल्य निर्धारण हुन्छ। यसपछि आएको मूल्य सुनचाँदी व्यवसायीहरूको छाता संगठनहरूले आम ग्राहकका लागि तोकेको मूल्य वेबसाइडमार्फत सार्वजनिक गर्छन्। अन्नपूर्णपाेष्टबाट


प्रकाशित मिति: ९ फाल्गुन २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?