Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

पूर्वी नाकाबाट रु पाँच अर्बभन्दा बढीको भेनियर र प्लाईबोर्ड निर्यात


झापा । नेपालमा विदेशी मुद्राआर्जन गर्न र वैदेशिक व्यापार घाटा कम गराउन भेनियर र प्लाई काठको निर्यातले महत्वपूर्ण योगदान पुर्याएको छ । पहाडमा हुर्किने उत्तिस, कदम, मौवालगायत कमसल काठ (कु–काठ) बाट भेनियर पत्ती र प्लाइबोर्ड उत्पादन हुँदै आएको छ ।

विसं २०७९ साउन १ गतेदेखि २०८१ असोज मसान्तसम्म पूर्वीनाका काँकडभिट्टाबाट रु पाँच अर्ब ९२ करोड पाँच लाख ९२ हजार मूल्य बराबरको भेनियर पत्ती र प्लाइबोर्ड भारत निर्यात भएको मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालले बताए ।

गोलिया काठबाट भेनियर पत्ती उत्पादन हुने गर्दछ भने भेनियर पत्तीबाट प्लाईबोर्ड बनाउने गरिएको छ । नेपालमा भेनियर पत्ती सिधैँ भारत निर्यात हुने गरेको छ भने भेनियर पत्तीबाट प्लाई बोर्ड उत्पादन गरेर निर्यात गर्ने प्लाइउड उद्योगहरु स्थापना भएका छन् ।

पछिल्लो २७ महिनामा काँकडभिट्टा नाकाबाट रु ७३ करोड ६४ लाख ३१ हजार मूल्य बराबरको भेनियर पत्ती र रु पाँच अर्ब १८ करोड ४१ लाख ६१ हजार मूल्य बराबरको प्लाई बोर्ड भारत निकासी भएको प्रमुख भन्सार अधिकृत चुडालले जानकारी दिए ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा काँकडभिट्टा नाकाबाट रु १४ करोड ७१ लाख ३६ हजार मूल्य बराबरको भेनियर पत्ती र रु नौ करोड ९३ लाख ३२ हजार मूल्य बराबरको प्लाई बोर्ड भारत निकासी भएको छ ।

नेपाल भेनियर उत्पादक सङ्घका अध्यक्ष दीपक पाण्डेले पहाडमा खेर गइरहेको कुकाठ बिक्रीबाट किसानको आयस्तर वृद्धि गर्न, मुलुकभित्रै रोजगारीको अवसर सिर्जना गर्न, विदेशी मुद्राआर्जन गरी वैदेशिक व्यापार घाटा न्यूनीकरण गर्न र राज्यलाई ठूलो मात्रामा राजस्व बुझाएर अर्थतन्त्रलाई बलियो बनाउन भेनियर उद्योगले महत्वपूर्ण योगदान पुर्याइरहेको बताए ।

हाल नेपालमा एक सय २० भन्दा बढी सङ्ख्यामा भेनियर उद्योग सञ्चालनमा रहेको र त्यसबाट आठ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी उपलब्ध भइरहेको उनले जानकारी दिए । झापामा सबैभन्दा बढी ३८ वटा भेनियर उद्योग स्थापना भएका छन् ।

भेनियर पत्तीबाट प्लाईबोर्ड बनाउन नेपालभर ८० वटा प्लाईउड उद्योगहरु स्थापना भएका छन् । प्लाईउड उद्योगहरुले आफुलाई आवश्यक पर्ने कच्चा पदार्थको ८० प्रतिशत आपूर्ति गर्नका लागि उद्योगभित्रै एक सयभन्दा बढी भेनियर मेसिन जडान गरेका छन् ।

काँकडभिट्टा, विराटनगर र भैरहवा नाकाबाट यी सामानको भारत निर्यात हुँदै आएको छ । बिगतमा भारतबाट आयात गरेर माग धान्नुपर्ने अवस्था रहेकामा हाल भेनियर र प्लाईबोर्डमा नेपाल आत्मनिर्भर मात्र भएको छैन, निकासी गर्ने मुलुक बनेको उनको भनाइ छ ।

नेपाल भेनियर उत्पादक सङ्घका सचिव सञ्जीव बर्मा विदेशी मुद्रा भित्र्याउने र राजस्व अभिवृद्धिमा योगदान पुर्याउने भेनियर उद्योगप्रति राज्यको नीति सकारात्मक हुनुपर्ने र प्रोत्साहनको वातावरण बनाउनुपर्ने बताउछन् ।

हाल भेनियर पत्ती भारत निकासी गर्दा प्रति केजी रु छका दरले भन्सार महसुल बुझाउनुपरेको उनले बताए । जबकि, सरकारले प्लाईबोर्डको भारत निकासीमा शून्य भन्सार महसुल कायम गरेको छ । नेपाल भेनियर उत्पादक सङ्घले भेनियर उद्योगप्रतिको विभेदकारी नीति हटाउन र भन्सार महसुल घटाउन पटकपटक माग गरिरहे पनि सुनुवाइ नभएको बर्माले गुनासो गरे ।


प्रकाशित मिति: २८ कार्तिक २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?