Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

पर्यटक र पूर्वाधारको पर्खाइमा चाङ्गा


म्याग्दी । मङ्गला गाउँपालिका-५ स्थित चाङ्गाधुरी पर्यटक र पूर्वाधारको पर्खाइमा छ । समुन्द्री सतहबाट दुई हजार ५० मिटर उचाइमा रहेको चाङ्गा प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको थियो ।

पहाडको शिरमा भिरालो पाखामा रहेको चाङ्गाको पृष्ठभूमिमा धवलागिरि, अन्नपूर्ण, गुर्जा, चुरेन, मानापाथी, नीलगिरि र माछापुच्छ्रे हिमालका साथै सूर्योदयको दृष्यावलोकन गर्न सकिन्छ । दरबाङ, बाबियाचौर, तातोपानी बजार, नागबेली परेर बगेको म्याग्दी नदीको किनारबाट पहाड र हिमालको दृष्य एकैठाउँबाट देख्न पाइन्छ ।

चाङ्गाबाट देखिने मनमोहक हिमशृङ्खला, शान्त र एकान्त वातावरणले तन र मन दुवै चाङ्गा हुने त्यहाँ घुम्न गएका बेनीका दिप्सन खड्काले बताए । ‘चिसो हावापानी पृष्ठभूमिमा देखिने हिमालको लामो लर्कनले मोहित बनाय’, उनले भने, ‘यात्राको थकान मेटियो । दुःख बिर्सायो । समय बितेको पत्तै भएन ।’ जडीबुटी, वन पैदावार, वन्यजन्तु र पक्षीको अवलोकन गर्न पाउनु चाङ्गाको थप विशेषता रहेको उनले उल्लेख गरे । चाङ्गाको बराह मन्दिरको धार्मिक महत्व छ । भेडा, बाख्रा र गाईभैँसीका गोठ, स्थानीयवासीको जीवनशैली, संस्कृति र रहनसहन पनि पर्यटक लोभ्याउने माध्यम हुन् ।

खाजाखाना खाने रेस्टुरेन्ट र बास बस्न लज, सार्वजनिक शौचालय, सूचना बोर्ड, खानेपानी आदिको व्यवस्थापन गर्न सकेमा पर्यटकलाई सहज हुने बेनीबाट चाङ्गा घुम्न गएका किरन कार्कीले बताए ।

पूर्वाधारको व्यवस्थासँगै प्राकृतिक सौन्दर्यताका विषयमा प्रचारप्रसार आवश्यक रहेको उनले बताए । चाङ्गा घुम्न जाने पर्यटक फेदीमा रहेको सिर्कुममा बास बसेर पैदलयात्रा र सडकमा सवारीसाधनमार्फत चाङ्गामा पुग्ने गर्दछन् । पाहुनालाई आलु, मुला, भाँगो, टुसा, च्याउ, सिमीको दाल, ढिँडो, गौरीया र गुडुरा चामलको भात, स्थानीय कुखुराको मासुका परिकार चखाउने गरिएको सिर्कुमका बासिन्दा दीपेन्द्र जिसीले बताए ।

मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरबाट पाखु, सिर्कुम हुँदै एक घण्टा ३० मिनेट मोटरसाइकल र जिपमा यात्रा गरेपछि चाङ्गा पुग्न सकिन्छ । बाबियाचौरबाट शेराफाट–पीपलबोट–पाखु–सिर्कुम हुँदै चार घण्टामा चाङ्गा पुग्ने पदमार्ग पनि छ । मङ्गला गाउँपालिका–५ का वडाध्यक्ष भूपेन्द्र खत्रीले चाङ्गा जोड्ने सडक स्तरोन्नति र पदमार्गलाई व्यवस्थित गरेर वनभोज, हाइकिङ र क्याम्पिङ गर्ने पर्यटक भित्र्याउन पहल गरिएको बताउँछन् ।

चाङ्गाबाट बागलुङको ताराखोला गाउँपालिकाको सिमानामा रहेको तिनचुले र मङ्गलाको वडा नं ४ मा रहेको गम्फाधुरीको एकीकृत पर्यटन विकासको योजनाअनुसार काम भइरहेको उनले बताए ।


प्रकाशित मिति: २७ कार्तिक २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?