काठमाडौं। उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आर्थिक, सामाजिक र राजनीतिक रुपमा विश्वसनीय वातावरण सिर्जना भएको बताएका छन् ।शुक्रवारबाट काठमाडौंको भृकुटीमण्डमा शुरु भएको तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक अन्तर्राष्ट्रिय प्रदर्शनीको शुभारम्भ गर्दै उनले अहिले दुई ठूला राजनीतिक दलहरुको सरकार रहेको भन्दै नागरिकहरुले पनि विश्वासका साथ लिइरहेको बताएका छन् । उनले अहिलेको सकरकारलाई आर्थिक हिसावले मुलुकलाई अघि बढाउनुपर्ने जिम्मेवारी रहेको बताए । वर्तमान सरकार स्थायी सरकार भएकाले ढुक्क भएर लगानी बढाउन निजी क्षेत्रलाई आग्रह गरेका छन् ।
उनले धेरै कम्पनीहरुलाई एकै ठाउँ राखेर मुलुकको आवश्यकताअनुसार मेला सञ्चालन भएको भन्दै यस्ता मेलाले आर्थिक गतिविधि चलायमान बनाउने विश्वास व्यक्त गरे । उनले मुलुकको लक्ष्य आगामी १० वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने र आन्तरिक खपत बढाउने रहेको बताउदै उनले सरकारको सोही लक्ष्यअनुसार नै निजी क्षेत्रले साथ दिनुपर्ने बताएका छन्।
उनले भने , ‘यति धेरै कम्पनीहरुलाई एकै ठाउँ राखेर आज मुलुकको आवश्यकताका लागि जे प्रयास गर्नुभएको छ । यो अत्यन्तै सह्रानिय छ । अहिले मुलुकको आवश्यकता हामी २८ हजार ५ सय मेगावाट १० वर्षमा विद्युत उत्पादन गर्ने, २० हजार विक्री गर्ने, आन्तरिक खपत बढाउने जुन प्रयत्नमा लागेका छौँ, यस्ता इलेक्ट्रोनिक चिजहरुले यहाँ धेरै कुरा देखेँ । ट्रान्सफर्मर, ट्रान्समिसन लाइन बनाउने कुरादेखि, घरमा उपभोग्य वस्तुहरुको विषयदेखि यि यस्ता घरायसी उपभोग्य वस्तुहरुले हामीलाई आन्तरिक खपत बढाउने सरकारको लक्ष्य जुन छ, त्यसलाई सहयोग पुग्नेछ । यि उपभोग्य वस्तुहरुको अभावमा महिला दिदिबहिनीहरुले घरमा धेरै समय बिताउनुपर्ने अवस्था थियो, त्यो समयको वचत हुनेछ । अहिले यो दुई ठूला दलहरुसमेतको सरकार निर्माण भएको छ । यो स्थायी सरकार हो । आर्थिक हिसावले मुलुकलाई अघि बढाउनुपर्ने अवस्था छ । सामाजिक, राजनीतिक हिसावले विश्वसनीय वातावरण सिर्जना भइसकेको छ । अब आउने र निर्माण हुने कानूनहरुले यथेष्ठ सहयोग पुग्नेछ ।’
यस्ता मेलालो विद्युतको आन्तरिक खपत बढाउने र घरायसी कामका लागि पनि समय वचत हुने विश्वास व्यक्त गर्दै उनले सरकारले विभिन्न नीति नियमहरुको परिमार्जन र संशोधन गरिरहेको उल्लेख गर्दै आगामी दिनमा झनै सहज र सरल हुने प्रीतवद्धता जनाएका छन् ।
प्रकाशित मिति: २१ भाद्र २०८१, शुक्रबार