काठमाडौं । बैंकिङ कसुर तथा सजाय सम्बन्धि विधेयक (दोस्रो संशोधन), २०८० मा आर्थिक अपराधमा जेल हाल्ने भन्दा ‘आर्थिक सजाय’को व्यवस्था गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।
आईतवार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयकमाथिको छलफलमा बोल्दै अधिकांश सांसदहरुले यस्तो प्रश्ताव गरेका हुन् । सांसदहरुले बैंकिङ कसुर तथा सजाय ऐनमा आर्थिक अपराधमा जेल सजाय तोक्ने व्यवस्थालाई पुनःविचार गर्नुपर्ने बताए । उनीहरुले चेक अनादरको विषयमा बैंकहरुलाई पनि जिम्मेवार बनाउने गरी ऐन ल्याउन आवश्यक रहेको बताए । सांसदहरुले बैंकिङ कसुर ऐनलाई ब्याज,मिटरब्याज र चेक अनादरको कारण भएका समस्याहरु समाधान हुने बाटोमा गएको अनुभुति गर्ने तहबाट कानून पास गर्नुपर्नेमा जोड दिए ।
समिति बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले आर्थिक अपराधमा जेल होइन ‘आर्थिक सजाय’ नै गर्नुपर्ने बताएकी छिन् । उनले आर्थिक अपराध गर्दा कुनैपनि मानिसलाई जेल हाल्ने नभइ आर्थिक सजायको व्यवस्था गर्नु उपयुक्त हुने उल्लेख गरिन् । उनले चेक अनादरको मुद्दामा पनि चेक व्यावसायिक वा व्यक्तिगत कस्तो किसिमको हो ? सो को वर्गिकरण गर्न आवश्यक रहेको बताउदै उनले आर्थिक अपराधका विषयमा अहिले तीन महिनाभित्र जाहेरी दिनसक्ने भनिए पनि यसलाई एक वर्षभित्र जाहेरी दिनसक्ने व्यवस्था गर्नुपर्नेमा जोड दिएकी छिन् ।
उनले भनिन्,‘ऐनमा बिगो बमोजिमको रकम भराई भन्ने शब्दहरुको सट्टा चेक बमोजिमको रकम भन्ने राख्नुपर्छ । चेकमा भएको रकम भन्दा बिगो भनि राख्नुपर्दैन । अहिले हाम्रोमा जुनसुकै कसुरमा पनि जेल सजाय गरेपछि सबै कुराको समाधान हुन्छ भन्ने उदेश्य राखिएको र हामीले त्यही कुरामा विश्वास राखेको देखिन्छ । आर्थिक प्रवृत्तिको अपराधमा ब्याज भराउने वा आर्थिक प्रवृत्तिकै सजाय गर्न उपयुक्त हुन्छ । ऋण दिएको रकम दिने मान्छेलाई जेलमा राखेर पैसा उठ्दैन । जेल सजाय भोगेपछि ऋण मिनाहा भइसक्यो । त्यसैले जेल सजायको व्यवस्थाले कसैलाई पनि न्याय गर्दैन । आर्थिक अपराधलाई आर्थिक सजाय राख्दा उपयुक्त हुन्छ ।’
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धु्रवबहादुर प्रधानले पनि चेक अनादर गराएर मुद्दामा जाने प्रवृत्ति धेरै बढेको बताएका छन् । उनले चेक अनादरको विषय आर्थिक लेनदेनको विषय भएकाले चेक अनादर हुँदा मुद्दा हाल्ने र जेल सजाय भोग्नुपर्ने व्यवस्थालाई संशोधन गर्नुपर्ने बताए । उनले यस्ता अपराधलाई आर्थिक अपराधको रुपमा जरिवानाका माध्यमबाट जानुपर्ने बताएका छन् । उनले चेक अनादरको मुद्दामा बैंक अगाडि आउँदा मानिसहरु जेल जानु पर्ने अवस्थाहरु आएको भन्दै यो विषयमा बैंकले राम्रो नगरेको बताउदै उनले अहिले मिटरब्याजीको काम बैंकहरुले गरिरहेको भन्दै नागरिकलाई दुःख नहुने गरी र बैंकहरुलाई जिम्मेवार बनाउने गरी ऐन संशोधन हुनुपर्नेमा जोड दिएका छन् ।
उनले भने,‘चेक अनादर गराएर मुद्धामा जाने प्रवृति धेरै बढेको छ । चेक अनादरको विषय आर्थिक लेनदेनको विषय हो । चेक अनादर हुँदा मुद्दा हाल्ने र जेल सजाय भोग्नुपर्ने व्यवस्था छ । त्यसमा कैद भन्ने व्यवस्थालाई संशोधन गर्नुपर्छ । १० प्रतिशत तमसुक गराएर दिनसक्यो भने सुगम हुन्छ । दुवै नागरिक हो । जुन लेनदेनको कुरा हो । तर यसमा बैंक अगाडि आउँदा जेल जानुपर्ने अवस्थाहरु आउँछन् । यो विषयमा बैंकले राम्रो गरेको भन्नेकुरा छैन । बैंकको कारणले अर्थतन्त्रलाई हेरीरहेका छौं । अहिले मिटरब्याजीको काम बैंकहरुले गरिरहेको छ । नागरिकलाई दुःख नहुने गरी बैंकहरुलाई जिम्मेवार बनाउने गरी ऐन संशोधन हुनुपर्छ ।’
नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले पनि बैंकिङ कसुर तथा सजाय ऐनलाई पीडितहरुले न्याय पाउने अपेक्षा अनुभति गर्ने गरी कानून पास गर्नुपर्ने बताउदै उनले सरकारले ऐन बनाउने मात्रै नभएर जनताले भोगेको समस्या सम्बोधन गर्नेतर्फ समितिले छलफल गरिरहेको बताएका छन् । उनले बैंक धितो मूल्याङ्कन र चेक अनादरको विषयमा तत्काल गुनासो सुन्नेगरी बैंकहरुलाई पनि जिम्मेवार बनाउने गरी ऐन संशोधन गर्नुपर्ने बताए।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोसन कार्कीले राष्ट्र बैंकको अनुमति विना सहकारी बैंकहरुले बैकिङ कारोबार गरेमा अनुमति खारेज गर्नुपर्ने बताएका छन् । उनले राष्ट्र बैंकसँग स्वीकृत नदिइ सहकारी बैंक सञ्चालन गर्दा पछिल्लो समय सहकारी समस्या आएको बताउदै उनले चेक अनादरको मुद्दामा जरिवानाको व्यवस्था कायम राख्दै कैद सजाय हटाउन आवश्यक रहेको बताएका छन्।
नेकपा एमालेका सांसद पदम गीरीले चेक अनादर हुन एक महिना भन्दा बढी लाग्ने अवस्था रहेकोबताउदै उनले यस्तो परिस्थितिमा प्रमाणित हुँदा जरिवानासहित जेल सजायको व्यवस्था रहेको भन्दै जेल सजाय खारेज गर्नु आवश्यक रहेको बताएक्ला छन् ।
उनले चेक अनादरमा सजाय भन्दा पनि रकम असुलीमा बढी ध्यान दिन आवश्यक रहेको बताए ।
प्रकाशित मिति: १६ भाद्र २०८१, आईतवार