Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२४ माघ २०८२, शनिबार
२४ माघ २०८२, शनिबार

काठमाडौं उपत्यकामा १६ प्रतिशतले घट्यो सवारी दुर्घटना


काठमाडौँ । उपत्यकामा सवारी दुर्घटना र मानवीय क्षति घटेको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो तीन वर्षमा उपत्यकामा दुर्घटना र त्यसबाट हुने मानवीय क्षति घट्दो क्रममा रहेको देखिएको हो।

आर्थिक वर्ष २०७८/७९ मा १० हजार ७३३ सवारी दुर्घटना हुँदा १९१ जनाको मृत्यु भएको थियो। आव २०७९/८० मा १० हजार ६७५ दुर्घटना हुँदा १८७ को मृत्यु र गत आवमा ८ हजार ८८१ सवारी दुर्घटना हुँदा १७७ जनाको मृत्यु भएको कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए। उनका अनुसार गत आवमा १२९ पुरुष र ४८ महिलाको मृत्यु भएको थियो।

जनचेतनामूलक कार्यक्रम, सुरक्षा जाँचमा कडाइ, विभिन्न अभियानसहित उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउँदा सडक दुर्घटनामा केही कमी ल्याउन सकिएको प्रहरी उपरीक्षक खड्काको दाबी छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा दुर्घटना सङ्ख्या १६.८ र मृत्यु हुनेमा छ प्रतिशतले कमी आएको उनले जानकारी दिए।

चालु आवमा पनि दुर्घटना न्यूनीकरण गर्ने लक्ष्यसहित ट्राफिक व्यवस्थापन सुधारलाई थप प्रभावकारी बनाउने योजना अघि बढाइएको खड्काले बताए। जनचेतनामूलक कार्यक्रमले सडक प्रयोगकर्तालाई ट्राफिक नियमको पालना गर्न र सडक सुरक्षालाई आत्मसाथ गर्न प्रेरणा दिएको पाइएको उनको बुझाइ छ।

ट्राफिक सप्ताह कार्यक्रम, यात्रुमैत्री विशेष अभियान, ट्राफिक सचेतना विशेष अभियानलगायत कार्यक्रममा समावेश भएका ट्राफिक गतिविधिमार्फत हालसम्म ४ लाख ७७ हजार ३०३ जना प्रत्यक्ष रुपमा लाभान्वित भएका प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीले मादक पदार्थ र लागुपदार्थ सेवन गरी सवारी चलाउने विरुद्धको अभियान, लेन अनुशासन पालना, लापरबाहीका साथ सवारी चलाउने र तीव्रगतिका कारणले हुने दुर्घटना न्यूनीकरणमा अभियान प्रभावकारी बनेको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए।

उनका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने १० लाख बढीलाई ट्राफिक प्रहरीले कारबाही गरी जरिवाना बापत ७२ करोड ६० लाख सङ्कलन गरेको छ।

विभिन्न सडक केन्द्रित सचेतना कार्यक्रम सञ्चालन, ट्राफिक सुरक्षा जाँच, चौकी विस्तार, भित्री गल्ली तथा साँघुरा सडक र करिडोरमा नियमित गस्ती थालिएको बताउँदै प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठ यसलाई अझ प्रभावकारी बनाउन थप योजना बनाइ कार्यान्वयनको चरणमा रहेको जानकारी दिए।


प्रकाशित मिति: १२ श्रावण २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?