म्याग्दी । मुस्ताङबाट संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताल जोड्ने पदमार्ग निर्माण र स्तरोन्नति भएको छ । घरपझोङ गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय जोमसोमको सहयोगमा घरपझोङ गाउँपालिकाको ठिनीबाट करिब २३ किलोमिटर पदमार्ग निर्माण र स्तरोन्नति गरिएको हो ।
गाउँपालिकाको दुईवटा शीर्षकको र एक्यापको बजेटबाट फरक–फरक ठाउँमा पदमार्ग निर्माण भएको हो । आर्थिक वर्ष २०८०/८१ मा घरपझोङ गाउँपालिकाले दुईवटा शीर्षकमा ५० लाख रुपैयाँ बजेट बिनियोजन गरेको तिलिचो ताल जोड्ने पदमार्ग मर्मत तथा स्तरोन्नति योजनाका लागि एक्यापले पनि १० लाख रुपैयाँ खर्च गरेको छ ।
घरपझोङ गाउँपालिकाका रोजगार संयोजक शर्मिला श्रीसले प्रधानमन्त्री रोजगार कार्यक्रमको २१ लाख ४९ हजार र गाउँपालिकाको थप २८ लाख ५८ हजार रुपैयाँ बजेटबाट वडा नं ४ र ५ को विभिन्न ठाउँमा २२ किलोमिटर पदमार्ग बनाएको जानकारी दिए ।
‘दुईवटा वडाका १४–१४ जना बेरोजगार युवालाई पदमार्ग निर्माणमा परिचालन गरिएको थियो’, उनले भने, ‘साँघुरो र जोखिमयुक्त ठाउँमा चार फिट फराकिलो पदमार्ग बनाएर सहज रूपमा आवतजावत गर्न सकिने बनाइएको छ ।’
प्रकाशित मिति: ७ श्रावण २०८१, सोमबार