Trending
>>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

सामाजिक रुपान्तरणका कथावस्तुलाई प्राथमिकता दिन चलचित्रकर्मीलाई मन्त्री शर्माको आग्रह


धनगढी । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक रुपान्तरणका कथावस्तुलाई प्राथमिकता दिन चलचित्रकर्मीहरुलाई आग्रह गर्नुभएको छ । चलचित्र विकास बोर्डको आयोजनामा कैलालीको धनगढीमा सुरु भएको तीने दिन दोस्रो बाल चलचित्र महोत्सव उद्घाटन गर्दै उहाँले चलचित्र समाज रुपान्तणको महत्वपूर्ण माध्यम भएकाले यसमा सामाजिक रुपान्तरणका कथावस्तुलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको हो ।

‘हामी आज जुन प्रदेशमा उभिएर बोलिरहेका छौं, यसका कयौं जिल्लाहरुमा अझै पनि छाउपडीजस्ता अमानवीय प्रथाहरु बाँकी छन्’, मन्त्री शर्माले भन्नुभयो, ‘हामीले संविधान र कानुबाट जातीय छुवाछुत, लैंगिक विभेदजस्ता थुप्रै असमानताको अन्त्य गर्यौं तर व्यवहारमा अहिले पनि पूर्ण रुपमा हटिसकेको छैन । यस्ता विकृति र विसंगतिको अन्त्य गर्ने महत्वपूर्ण माध्यमको रुपमा कला संस्कृतिलाई अघि बढाइनुपर्छ, त्यसमा पनि चलचित्र क्षेत्र सशक्त माध्यम हुनसक्छ ।’ विभिन्न राजनीतिक आन्दोलनबाट प्राप्त अधिकारलाई जनताको जीवनसँग अब सामाजिक रुपान्तरण आवश्यक भएकाले यसलाई सबैले साझा अभियान बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

बालबालिकाहरू माझ चलचित्रको माध्यमबाट शिक्षा र संस्कृतिलाई अगाडि बढाउन र बालबालिकाहरूमा चलचित्र निर्माणको चासो बढाउन सफल यो महोत्सव उपयोगी हुने विश्वास व्यक्त गर्दै उहाँले यस्ता महोत्सवबाट अन्तराष्ट्रियस्तरमा हुने महोत्सवहरुमा नेपालको सहभागी बढाउन सहयोग पुग्ने पनि बताउनुभयो । नेपालबाट नेपाली बालबालिकाले बनाएका वा उनीहरुका बारेमा बनेका चलचित्र अन्तर्राष्ट्रयस्तरमा प्रतिष्पर्धा गर्न लायक बनाउनुपर्ने उहाँले स्पष्ट गर्नुभयो ।

बालबालिकाको हकहितका सवालमा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री शर्माले नेपालका बालबालिकाको हकहितमा के कस्ता नियम कानुन रहेका छन् र यसको कार्यान्वयन कसरी भइरहेको छ भन्ने सन्दर्भ पनि बाल चलचित्र निर्माणका कथावस्तु बनाउनुपर्ने धारणा राख्नुभयो । नेपालले बाल अधिकार सुनिश्चित भएको बालमैत्री समाजको परिकल्पना गरेको उल्लेख गर्दै उहाँले बालबालिका तथा किशोरकिशोरीलाई सबै प्रकारको हिंसा, दुव्र्यवहार र शोषणबाट मुक्त गर्नुपर्ने बताउनुभयो ।

मन्त्री शर्माले सरकारले नेपाली चलचित्रको प्रवर्धनलाई जोड दिएको उल्लेख गर्दै समाज रूपान्तरणका लागि सङ्घर्ष गर्ने व्यक्ति तथा घटनासँग सम्बन्धित ऐतिहासिक चलचित्र, वृत्तचित्र तथा स्वदेशी चलचित्र निर्माणलाई प्रोत्साहन र प्रवर्द्धन गर्न बजेट व्यवस्था गरिएको बताउनुभयो । चलचित्र क्षेत्रमा सूचना प्रविधिको प्रयोग गरी मौलिक, गुणस्तरीय र प्रतिस्पर्धी चलचित्र निर्माणको लागि चलचित्र विकास बोर्डमा पोस्ट प्रोडक्सन ल्याब स्थापनाको कार्य प्रारम्भ भएको र बक्स अफिस प्रणालीलाई स्तरोन्नति गर्दै लगिएको जानकारी दिंदै उहाँले चलचित्र क्षेत्रबाट राष्ट्रका लागि योगदान गर्ने चलचित्रकर्मीहरुको सम्मानका लागि परिचयपत्र प्रदानदेखि चलचित्र क्षेत्रको माध्यमबाट समाज रुपान्तरणमा योगदान गर्ने चलचित्रकर्मीहरुलाई सम्मान र पुरस्कार लगायतका व्यवस्थाले पनि नेपाली चलचित्र क्षेत्रको प्रवर्धनमा टेवा पुग्ने विश्वास रहेको बताउनुभयो ।बोर्डका अध्यक्ष भुवन केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य रुपा चौधरीलगायतले शुभकामना दिनुभएको थियो । महोत्सव असार ९ गतेसम्म चल्नेछ ।


प्रकाशित मिति: ७ असार २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?