Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

साताव्यापी कार्यक्रम गरी विश्व खाद्य स्वच्छता दिवस मनाइँदै


काठमाडौँ । “खाद्य स्वच्छतामा लगानी बढाऔँ, अप्रत्याशित अवस्थाको पूर्व तयारी गरौँ” भन्ने नाराका साथ विश्व खाद्य स्वच्छता दिवस, २०८१ मनाउने तयारी भइरहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

हरेक वर्ष जस्तै यो वर्ष पनि ७ जुनका दिन विश्वभरि विविध कार्यक्रमका साथ विश्व खाद्य स्वच्छता दिवस मनाउन लागिएको विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले जानकारी दिए । खाद्य स्वच्छताको महत्वलाई आम जनमानसमा पुर्‍याउन विभागले सोह्र वर्षअघि २०६५ देखि खाद्य स्वच्छता दिवसको अभियान सुरु गरेको थियो ।

अभियानलाई समर्थन हुने गरी खाद्य तथा कृषि सङ्गठन र विश्व स्वास्थ्य सङ्गठनको प्रस्तावमा सन् २०१८ डिसेम्बर २० का दिन संयुक्त राष्ट्र सङ्घको महासभाले हरेक वर्ष जुन ७ लाई विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय गरी सन् २०१९ देखि हरेक वर्ष ७ जुनका दिन विश्वभरि विविध कार्यक्रमका साथ विश्व खाद्य स्वच्छता दिवस मनाइँदै आएको छ । विश्व स्वास्थ्य सङ्गठनको सन् २०२२ को तथ्याङ्क अनुसार विश्वमा हरेक वर्ष प्रत्येक १० मध्ये एक जना व्यक्ति दूषित खाद्य पदार्थको उपभोगका कारण बिरामी हुने गरेको र ४ लाख २० हजार मानिसको मृत्यु हुने गर्दछ ।

जीवनाशक विषादीको अवशेष, भेटेरिनरी ड्रगको अवशेष, ढुसीजन्य विष, हेभि मेटल लगायतका हानिकारक तत्त्वको उपस्थिति एवं रोगजन्य सूक्ष्म जीवाणुहरूको सङ्क्रमण कारण खाद्य पदार्थ दूषित भई आर्थिक एवं मानवीय क्षतिको जोखिम रहन्छ । यस प्रकारका विभिन्न जोखिमबाट हुन सक्ने अप्रत्याशित अवस्थाको पूर्व तयारी गर्न खाद्य स्वच्छतामा लगानी अभिवृद्धि गर्दै जोखिम न्यूनीकरणका लागि खाद्य शृङ्खलाको प्रारम्भिक उत्पादन देखि प्रशोधन, सञ्चयन, ढुवानी, बिक्री वितरण र उपभोगसम्मको प्रत्येक चरणमा संलग्न सबै सरोकारवालाको अहम् भूमिका रहने विभागले जनाएको छ ।

नेपालको संविधानले मौलिक हक अन्तर्गत प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा प्राप्त गर्ने उपभोक्ताको हकको व्यवस्था गरेको छ । तसर्थ खाद्य स्वच्छता र गुणस्तरीयताको नियमन कार्यलाई समयानुकूल सुदृढ र प्रभावकारी बनाउन सङ्घीय संसद्ले “खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१” जारी गरेको छ । ऐनले मानव स्वास्थ्यको सुरक्षा तथा उपभोक्ता हित संरक्षणका लागि खाद्य शृङ्खलाका सबै चरणमा वैज्ञानिक तथ्यका आधारमा खाद्य पदार्थको स्वच्छता तथा गुणस्तर निर्धारण र यसको नियमनको कानुनी व्यवस्था गरेको छ ।

यसै सन्दर्भमा खाद्य स्वच्छतामा लगानी बढाऔँ, अप्रत्याशित अवस्थाको पूर्व तयारी गरौँ भन्ने नाराका साथ जेठ १९ देखि २५ गतेसम्म सप्ताहव्यापी रूपमा खाद्य स्वच्छता सम्बन्धी विभिन्न कार्यक्रमको आयोजना गरी देशैभर मनाउन लागिएको प्रवक्ता महर्जनले जानकारी दिए । उनका अनुसार ३ जुन २०२४ मा खाद्य तथा दाना उद्योग दर्ताको सिफारिस तथा उद्योग अनुमति पत्र जारी तथा नवीकरण कार्यलाई अनलाइन प्रणाली मार्फत सेवा प्रदान गर्न नेपाल कृषि बजार विकास कार्यक्रमको प्राविधिक सहयोगमा विकसित नेपाल फुड एन्ड फिड इन्डस्ट्री लाइसेन्स सिस्टमको शुभारम्भ हुने भएको छ ।

विभाग र मातहतका कार्यालयहरूबाट दुग्ध पदार्थ, प्रशोधित पिउने पानी, मासुजन्य पदार्थ, तरकारी फलफूल, होटेल रेस्टुरेन्ट, स्ट्रिट फुड्स लक्षित विशेष अनुगमन निरीक्षण, विश्व खाद्य स्वच्छता दिवसको नारा तथा खाद्य स्वच्छता सम्बन्धी सूचना सन्देशका चेतनामूलक पर्चा पम्प्लेट प्रकाशन तथा प्रचार प्रसार, ६ जुन २०२४ मा विश्व स्वास्थ्य सङ्गठन तथा कोडेक्स ट्रस्ट फन्डको सहकार्यमा खाद्य स्वच्छता सम्बन्धी सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम हुने भएको छ । यसै गरी खाद्य प्राविधिक तथा पशु चिकित्सा सम्बन्धी कलेजहरूमा खाद्य स्वच्छता तथा प्रति जैविक प्रतिरोध सम्बन्धी सचेतना कार्यक्रम, स्वच्छतासँग सम्बन्धित सरोकारवालाहरू (सरकारी निकाय, गैर सरकारी सङ्घसंस्था, शिक्षण सङ्घसंस्था, एवं उपभोक्ता हकहितसँग सम्बन्धी संघसस्थाहरु लगायत)को सहभागितामा विश्व खाद्य स्वच्छता दिवस, २०८१ को अवसरमा २५ जेठ (७ जुन) गते बिहान ७ः०० बजे प्रभातफेरि कार्यक्रम रहेको विभागले जनाएको छ ।


प्रकाशित मिति: १८ जेष्ठ २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?