काठमाडाैं । परिवर्तन अभियान नेपालको आयोजनामा संघीय गणतन्त्रात्मक शासन व्यवस्थास विगत र वर्तमानको समीक्षा ः आगामी कार्यभार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले सरकारले संसदमा कांग्रेसले उठाएको सहकारीको एजेण्डामा पेलेर जान खोजे कांग्रेस सहेर नबस्ने चेतावनी दिएका छन् ।उनले कांग्रेस आफ्नो मागमा नडगमगाउने भन्दै सरकारले प्रतिपक्षको आवाज नसुने जस्तोसुकै चुनौतीको सामना गर्न कांग्रेस तयार रहेको टिप्पणी गरे ।
उनले भने, ‘सरकारले जनताको हितमा काम गर्नुपर्छ । जुन मैले सांकेतिक रुपमा भनेको छु, संविधानले जनतालाई दिएको हकहरुलाई प्रचलनमा ल्याउनुपर्छ । प्रतिपक्षले जनताको आवाज निरन्तर उठाउनुपर्छ । प्रतिपक्षले कुरा उठाएन प्रतिपक्ष सिध्दियो, सरकारले जनहितमा काम गरेन सरकार सिध्दियो ।’ उनले भने, ‘म दाबाको साथ भन्छु, प्रतिपक्षमा कांग्रेस मात्रै नभएर अन्य पार्टीले पनि साथ दिएका छन् । प्रतिपक्षले संसदमा जनताको आवाज बुलन्द गरेको छ । यसलाई सरकारले छिटै गम्भीरतापूर्वक लिन ढिलाई गरेको छ । सरकार यसमा पेलेरै जान खोज्छ भने हामी त्यो चुनौतीको सामना गर्न तयार छौ ।’
सरकारले सहकारी प्रकरणमा पेलेर जान खोजे कांग्रेसले नसहने भन्दै कडा रुपमा नेता सिटैलाले भने, ‘सरकार यही ढंगले जाने सोचमा छ भने कांग्रेस त्यसको लागी तयार छ । कांग्रेस सहेर बस्न सक्दैन । हामीले आफूमाथि अन्याय भएर होइन जनतामाथि अन्याय भएर कुरा उठाएको हो ।’कांग्रेसको राष्ट्र निर्माणमा सबैलाई साथ लिएर हिँड्ने कल्चर भएको उल्लेख गर्दै नयाँ पुरानालाई लिएर कांग्रेस देश हाँक्न सक्षम भएको सिटौलाले धारणा राखे ।
यस्तै नेकपा एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाँक्रीले दुई वर्ष नपुग्दै सरकार र प्रधानमन्त्रीले करिब पाँच पटक विश्वासको मत लिनु व्यवस्थाको बरखिलाफ भएको बताएकी छन् । उनले भनिन्, ‘प्रणालीगत हिसाबले स्थायित्व खोज्दै गर्दा पनि दुई वर्ष नपुग्दै सरकार र प्रधानमन्त्रीले करिब पाँच पटक विश्वासको मत लिनुपर्ने अवस्था आउँछ भने संविधानमा दुई वर्षसम्म सरकारलाई अविश्वासको प्रस्ताव लिन नपाउने भनेर बन्देज गरिदिएको व्यवस्थाको बरखिलाफ भएको छ ।’
सहकारी सहकार्यमा सामुहिक लगानी गर्ने प्रणाली भएको भन्दै कसैले जनताको बचत अपचलन गर्छ भने त्यो आर्थिक अपराध भएको बताइन् । उनले भने, ‘हामीले सहकारीलाई अर्थतन्त्रको एउटा खम्बा मान्यौं । सहकारीमा सहकार्य गर्ने सदस्यहरुको पुँजी निर्माण गर्ने, पुँजीलाई जम्मा गर्ने, सामूहिक लगानी गर्ने प्रणाली हो । र सहकारी सुशासनमा आधारित हुन्छ । जुन मान्छे सहकारीको सदस्य छैन, किर्ते गरेर १० वा हजार कित्ता सेयर ल्याएर जनताको बचत अपचलन गर्छ भने यो आर्थिक अपराध हो ।’
प्रकाशित मिति: १३ जेष्ठ २०८१, आईतवार