Trending
>>   महिला नेपाल प्रिमियर लिगको आयोजना गर्न क्यानलाई प्रधानमन्त्रीको निर्देशन >>   एनपिएलको ट्रफी अनावरण (फोटो फिचर) >>   रोमानियाको राष्ट्रपति चुनावमा वर्तमान प्रधानमन्त्रीको नेतृत्व >>   कोप २९ विश्वव्यापी जलवायु सम्झौता प्याकेजमा पुग्यो >>   प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्रीहरुसँग आसन्न चीन भ्रमणबारे छलफल गर्दै >>   यी दुई प्रदेशमा हल्का वर्षा र हिमाली भूभागमा हिमपातको सम्भावना >>   आज मिति २०८१ साल मङ्सिर १० गते सोमबार,हेर्नुहोस आजको राशिफल >>   संसदमा पेश भएका विधेयकहरु ६० दिनभित्र पास गर्नेगरी काम गर्दैछौँः उद्योगमन्त्री भण्डारी >>   नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय छ : सभामुख >>   सोमवारदेखि शुरु हुँदै सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन
Logo
१० मंसिर २०८१, सोमबार
१० मंसिर २०८१, सोमबार

‘चलचित्र नीति संवाद’ र ‘युनेस्को चलचित्र सहर’ को प्रमाण पत्र ग्रहण कार्यक्रम


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले युनेस्को रचनात्मक सहरमा ‘चलचित्र विधा’ को प्रमाण पत्र ग्रहण गरेको छ । आइतबार राजधानीमा महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले आयोजना गरेको ‘चलचित्र नीति संवाद’ र ‘युनेस्को चलचित्र सहर’ को प्रमाण पत्र ग्रहण कार्यक्रममा युनेस्कोका नेपाल प्रतिनिधि प्रमुख, माइकल क्राफ्टले महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोललाई प्रमाण पत्र हस्तान्तरण गर्नुभएको हो । महानगरपालिकाले आयोजना गरेको ‘चलचित्र नीति संवाद’ कार्यक्रमको समापन अवसरमा प्रमाण पत्र हस्तान्तरणसँगै ‘महानगरपालिका चलचित्र सहरको प्रतीक चिन्ह (लोगो)’ सार्वजनिक गरिएको थियो ।

त्यस अवसरमा बोल्दै उपप्रमुख डंगोलले, रचनात्मक सहरका लागि भएका ७ वटा विधामध्ये चलचित्र विधाले अन्य सबै विधालाई समेट्न सक्ने भएकोले यही विधा छानिएको बताउनुभयो । ‘काठमाडौँ संगीतको सहर पनि हो । लोककथाको सहर पनि हो । यस्तै डिजाइन, मिडिया, खानेकुरा सबै क्षेत्र काठमाडौँका लागि उपयुक्त थिए । यीमध्ये चलचित्रबाहेक अन्य विधामा काम गर्दा एउटै क्षेत्रमा मात्र सीमित हुन सकिन्थ्यो । चलचित्र विधाले रचनात्मक सहरका सबै क्षेत्रमा काम गर्न पाइन्छ । यसकारण चलचित्र नै हाम्रो रोजाइमा परेको हो ।’

चलचित्र क्षेत्रको विकासका लागि चलचित्र क्षेत्रका विषय विज्ञ तथा प्रयोगकर्ताबाट आएका सुझावलाई आउँदो बर्षको आर्थिक ऐन, नीति तथा कार्यक्रममा समेट्ने प्रयास गर्नेछौँ । उहाँले भन्नुभयो, ‘समुदायको सहभागिता, शैक्षिक र प्राविधिक क्षमता विकास, राष्ट्रिय अन्तरराष्ट्रिय सञ्जाल निर्माणमा काम हुनेछन् ।’

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भन्नुभयो, ‘साहित्य र सिर्जनाका साधको योगदानलाई उचित सम्मान हुने कामलाई महानगरपालिकाले नीति, योजना र कार्यक्रममा समावेश गर्नेछ ।’ कार्यक्रममा युनेस्को प्रमुख क्रफ्टले भन्नुभयो, ‘सबैको ध्यान हाइड्रोपावर जस्ता क्षेत्रमा छ । चलचित्र जस्ता सिर्जनात्मक विधाहरु हरेक कोणबाट हाइड्रोपावरभन्दा महत्वपूर्ण छन् । यत्ति हो कि, यसलाई कसरी प्रवर्धन गर्ने भन्ने हो ।’

कार्यक्रममा चलचित्र निर्माता एवं निर्माता दिपकराज गिरीले ‘चलचित्रका उद्यमीले गरेका काम र सरकारसँगका अपेक्षा’, निर्देशक तथा लेखक मोहन राईले ‘अन्तरराष्ट्रिय अभ्याससँगको दृष्टिबाट नेपालको चलचित्र उद्योग’, चलचित्र विकास वोर्डका सदस्य सचिव राजेशकुमार थापाले ‘संघीय चलचित्र नीति र स्थानीय सरकारसँगको सम्बन्ध’ र नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले ‘स्थानीय सरकारले रचनात्मक उद्योगमा गरेको अभ्यास’ का विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । यसरी गरिएको प्रस्तुतिकरणमाथि चलचित्र निर्माता, निर्देशक, वितरकसहित क्षेत्रगत प्रतिनिधिहरुले टिप्पणी गर्नुभएको थियो ।

प्रस्तुतिकरणमार्फ व्यक्त धारणामा मनोरञ्जन क्षेत्रका लागि सरकारले दिने सुविधाका विषयमा अन्तरराष्ट्रिय अभ्यास अनुसरण हुनुपर्ने, उद्योगको विकास र विस्तार हुन सक्ने खालको नीति बनाउनु पर्ने, महानगरपालिकाको कुनै निश्चित स्थानलाई चलचित्र सडकका रुपमा नामाकरण गरेर त्यो क्षेत्रलाई चलचित्रमैत्री क्रियाकलाप प्रवर्धन गर्नुपर्ने, राष्ट्रिय सभा गृहलाई धेरै चलचित्र प्रदर्शन गर्न सकिने स्थलका रुपमा पूर्वाधार विकास गरिनुपर्ने, चलचित्र महोत्सव, दृश्य सिर्जना, लिपि लेखन, उत्पादन, वितरण, प्रवर्धन, भर्चुअल रियालिटी जस्ता परियोजनाका लागि सरकारले लगानी बढाउनु पर्ने, स्रष्टाहरुलाई जीवनको उत्तरार्धमा सम्मानजनक जीवन जिउने वातावरण तयार गर्नुपर्ने, स्रष्टाहरुको मृत्युमा अन्तिम श्रद्धाञ्जली गर्ने ठाउँसमेत नभएकोले यस्ता स्थानको व्यवस्थापन गरिदिनुपर्ने सुझाव दिनुभयो ।

मनोरञ्जन क्षेत्रमा लगाइएको करले सिर्जना बाँच्न र प्रवर्धन हुन सक्छ कि सक्दैन, विश्लेषण गरेर स्थानीय कर छुटसहितका सुविधा उपलब्ध गराउनु पर्ने उहाँको भनाइ थियो ।

संघीय सरकारबाट चलचित्रमैत्री ऐन जारी हुनु पर्ने, ऐन जारी गर्ने प्रक्रिया रोकिएको देखिएकोले यसका लागि महानगरपालिकाले प्रयास गर्नु पर्ने उहाँहरुको भनाइ थियो ।

‘कर धेर भयो, प्रोत्साहन कम भयो’ यसलाई ‘कर कम र प्रोत्साहन धेरै’ हुने वातावरण बनाउनु पर्‍यो । पुराना चलचित्रहरुलाई डिजिटल रुपान्तरणको काम गर्नु पर्‍यो । प्रतिभाहरुलाई पहिचान हुने वातावरण बनाउनु पर्‍यो । चलचित्र पार्क बनाउनु पर्‍यो । पुराना हलहरुको इतिहासलाई जोगाउन सहयोग गर्नुपर्‍यो । उहाँहरुको भनाइ थियो ।

प्रस्तुतिकरण र व्यक्त धारणाको टिपोट र विश्लेषण गरेर निश्चल ओली, सन्ध्या थापा र रिजा जोशीको टोलीले समापन अवसरमा प्रस्तुतिकरण गरेको थियो । यसबाट महानगरपालिकालाई ‘चलचित्र नीति’ तर्जुमा गर्न सहयोग पुग्ने सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईको धारणा राख्नुभयो ।

विश्वका चलचित्र सहर र काठमाडौँ
काठमाडौँ महानगर विश्वका २६ वटा चलचित्र सहरमध्ये एउटामा छानिएको हो । काठमाडौँ महानगरपालिकाकी फोकल पर्सन श्रृजुमैया प्रधानकाअनुसार विश्व सहर दिवस २०२३ का अवसरमा युनेस्कोले २०८० कार्तिक १४ गते काठमाडौँसहित विश्वका ५५ वटा नगरलाई विभिन्न विधाका रचनात्मक सहरका रुपमा नाम सार्वजनिक गरेको हो । सञ्जालमा १ सय भन्दा धेरै देशका ३५० वटा सहरहरु आवद्ध छन् । यस पटक ५५ वटा सहर थपिएका हुन् । जसमा चलचित्र विधामा ५ वटा थपिएका छन् । यससँगै चलचित्र सहरको संख्या २६ पुगेको छ ।

यस बर्ष सञ्जालमा जोडिएका सहरमा चलचित्रसँगै संगीत विधामा १६ वटा, डिजाइनमा ६ वटा, शिल्प तथा लोककलामा ७ वटा, साहित्यमा १० वटा, ग्यास्ट्रोनमी (खानाका परिकार) मा ७ वटा, मिडिया कलामा ४ वटा छन् । यस बर्ष चलचित्र विधामा छानिएका सहरहरुमा नेपालको काठमाडौँ, नाइजेरियाको असाबा, मोरक्कोको औराजाजाते, व्राजिलको पेनेडो र अर्जेन्टिनाको भिसेन्ते लोपेज हुन् ।

सबैभन्दा पहिले छानिएको सहर संयुक्त राज्य वेलायतको व्राडफोर्ड हो । यो सन् २००९ मा छनोट भएको हो । सन् २०१० मा अष्ट्रेलियाको सिड्नी छानियो । सन् २०१४ मा यस विधामा ३ वटा सहर छानिए । जसमा दक्षिण कोरियाको बुसान, आयरल्याण्डको गल्बे र बुल्गेरियाको सोफिया छन् । सन् २०१५ मा ३ वटा सहर छानिए । जसमा नर्थ म्याकाडोनियाको विटोला, इटालीको रोम र व्राजिलको सान्तोस छन् । सन् २०१७ मा संयुृक्त राज्य बेलायतको ब्रिस्टोल, पोल्याण्डको लोज, चीनको क्वान्दो, स्पेनको टेरेसा र जापानको यामागाता गरी ५ वटा नगर छानिए । सन् २०१९ मा भारतको मुम्बइ, जर्मनको पोष्टडाम, बोस्निया हर्जगोभियाको साराजेभो, स्पेनको भालाडोलिड र न्युजिल्याण्डको वालिङ्टन गरी ५ वटा सहर छानिएका हुन् । सन् २०२१ मा ३ वटा सहर चलचित्र विधामा छानिए । जसमा पोल्याण्डको ग्ड्यानिया, फ्रान्सको क्यानेस र रोमानियाको क्लुज नेपोका छन् ।


प्रकाशित मिति: ८ जेष्ठ २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?