Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

होली शालिनता, मेलमिलाप र आत्मीयता अभिवृद्धिको पर्व : उपराष्ट्रपति यादव


काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले फागु पूर्णिमा (होली)को अवसरमा राष्ट्रिय एकता, अखण्डता, सार्वभौमसत्ता, सामाजिक सम्बन्ध र बन्धनहरूलाई बलियो बनाउने महान् अवसरका रूपमा सबैले यसलाई उपयोग गर्न आह्वान गरेका छन् ।

स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै उनले आपसी समझदारी, सद्भाव, समरसता, मैत्रीभाव, अपनत्वभाव र समानताको प्रतीकका रूपमा रहेको होलीपर्व शालिनता, परस्पर मेलमिलाप र आत्मीयता अभिवृद्धि गर्ने अवसर भएको समेत बताए ।

“सबैले आपसी मनोमालिन्यता, रिस, राग, द्वेष, क्लेश, मतभेद बिर्सेर एकअर्कालाई रङ अबिर लगाउँदै फागु पूर्णिमा (होलीपर्व) मनाउनुले हामीबीच बन्धुत्व, मेलमिलाप, मैत्रीभाव, सौहार्दता र पारस्परिक सद्भावलाई अक्षुण्ण राख्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै होलीपर्वको हार्दिक शुभकामना व्यक्त गर्दछु”, उपराष्ट्रपति यादवले शुभकामना सन्देशमा भनेका छन् ।

बहुआयामिक महत्व बोकेको यस पर्वका ऐतिहासिक, धार्मिक, सामाजिक र सांस्कृतिक पक्षलाई नयाँ पिँढीमा हस्तान्तरण गर्ने र यसका सकारात्मकतालाई अङ्गीकार गर्दै यसलाई जीवन्त बनाउन आवश्यक रहेको उनको भनाइ छ ।

उपराष्ट्रपति यादवले होलीको सांस्कृतिक महत्वबारे उल्लेख गर्दै पछिल्लो समय यो परम्पराले विकृत स्वरुप ग्रहण गर्नु चिन्ताको विषय भएको बताएका छन् । “अपरिचित, जोसुकै बटुवा, आफूभन्दा जेठो, ज्येष्ठ नागरिकलगायतमाथि फोहर पानी छ्याप्ने, लोला हान्ने र हुलहुज्जत गर्नेजस्ता कुसंस्कृतिले होलीलाई अमर्यादित बनाउनु हुँदैन । यसप्रति सम्बन्धित सबै सचेत र सावधान हुन अतिआवश्यक छ”, शुुभकामना सन्देशमा उनले भनेका छन् ।

उनले यस पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिहरूलाई निर्मूल गर्दै मौलिक संस्कृतिहरूको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गर्नेमा जोड दिएका छन् ।


प्रकाशित मिति: ११ चैत्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?