Trending
>>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

उच्चस्तरीय समिति बनाएर प्रश्न उठेका सार्वजनिक पदमा रहेकामाथि छानबिन गर्नुपर्छ: नैनसिंह महर


काठमाडौं । नेपाली राजनीतिज्ञमा पछिल्लो समय राजनीतिक नैतिकताको खडेरी देखिएको नेपाली कांग्रेसका नेता नैनसिंह महरले औंल्याएका छन्। प्राज्ञिक विमर्श समूहले काठमाडौंको कीर्तिपुरमा आयोजना गरेको लोकतन्त्र र नैतिकता विषयक बहसमा नेता महरले राजनीतिज्ञमा नैतिकता अहम् विषय भए पनि त्यसमा ह्रास हुने क्रम बढ्दो रहेको बताए।

‘२०१७ साल पछाडि सार्वजनिक ओहदामा रहेका व्यक्ति वा कुनै संस्थामाथि नैतिकरूपमा प्रश्न उठेको छ भने उनीहरूमाथि छानबिन हुनुपर्छ। कारबाही सिफारिसका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्छ,’ उनले भने। संसद‍्मा लामो समयदेखि उच्चस्तरीय छानबिन समितिको कुरा उठेको र जनताले पनि यो विषय उठाइरहेकोमा सांसदहरूको गैरजिम्मेवार व्यवहारका कारण समिति गठन हुन सकेको छैन।

‘देशका प्रति सांसदहरू जिम्मेवार देखिनु आवश्यक छ ।तर उच्चस्तरीय छानबिन समिति बन्न सकेको छैन। सांसद साँच्चिकै देश र जनताका प्रति जिम्मेवार छन् भने सदनमा नाटकबाजी, होहल्ला गर्नुभन्दा पनि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्छ। यसका लागि विधेयक आवश्यक परे त्यो पनि ल्याउनुपर्छ,’ उनले भने। त्यसरी गठित समितिले २०१७ साल यताका सार्वजनिक पद धारण गरेका व्यक्ति वा संस्थामध्ये नैतिकताको प्रश्न उठेका सबैमाथि अनुसन्धान गर्नुपर्ने बताए।

समाजमा भ्रष्टाचारलाई मात्र बढी प्राथमिकता दिने गरिएको बताउँदै उनले नैतिक भ्रष्टिकरण भएका व्यक्तिहरूको हर्कतले पनि देशलाई गम्भीर असर पारिरहेको उनको ठहर छ। ‘कानुन र नैतिकता अलि फरक हुन्। कानुनभित्र परेको मान्छेलाई कारबाही गर्न सकिन्छ। नैतिकता भनेको उसले पालना गर्ने आचरण हो। तै पनि व्यक्तिले गुमाएको नैतिकताका कारणले समाजमा समस्या पैदा गरिरहेको हुन्छ,’ उनले भने।

यो प्रवृत्ति सुशासन र समृद्धिको बाधक रहेको उनको भनाइ छ। नैतिकताको कमी हुँदा समाजलाई अपेक्षाकृति गतिमा अगाडि बढाउन नसकिएको उनले बताए। ‘नैतिकता हराएकै कारण नेपाललाई जुन ठाउँमा पुर्‍याउन सकिन्थ्यो, त्यहाँ पुगाउन सकेका छैनौं। युवाहरूले यही देशमा भविष्य देख्नुपर्थ्यो। राजनीतिक दलका नेता इमानदार हुनुपर्थ्यो। कर्मचारी इमानदार हुनुपर्थ्यो। पत्रकारले निष्पक्ष कलम चलाउनुपर्थ्यो। त्यो कम भएको देखिनु भनेको नैतिकता ह्रास हुँदै जानु हो,’ महरले भने।

संसद् जनताका प्रति जिम्मेवार हुन नसकेको महरको आरोप छ। संसद्मा पुगेर कोही भत्तामात्रै खाने र कोही सत्तामात्रै चलाउने धाउन्नमा रहेको उनले बताए। यसले जनउत्तरदायित्व नदेखिएको उनको ठहर छ।

छिटो-छिटो गठबन्धन भत्किनु र बन्नु पनि राजनीतिज्ञमा नैतिक ह्रासको प्रमाण भएको महरको भनाइ छ। यसले देशलाई ठूलो क्षति पु्ग्ने गरेको उनले बताए। नैतिकता ह्रास हुँदा गलत बाटो अवलम्बन गरिने भएकाले त्यसले मुलुक र जनताका लागि ठूलो दीर्घकालीन असर पुर्‍याइरहेको महरको धारणा छ।

यस्तै वर्तमान सरकारमा नै विभिन्न विवादमा मुछिएका र अनुसन्धानको दायरमा रहेका व्यक्तिहरू मन्त्री रहेकाले यसले राजनीतिक नैतिकता नदेखाउने महरले बताए। यस्ता प्रवृत्तिले जनतामा चरम निराशा बढ्ने भएकाले निष्पक्ष छानबिन हुनुपर्ने उनले बताए।


प्रकाशित मिति: ६ चैत्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?