Trending
>>   उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश >>   दरबारमार्गमा फोहोर गरेको भन्दै एमालेलाई महानगरको १ लाख जरिवाना ! >>   मुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै >>   काठमाडौंको कीर्तिपुर केन्द्रविन्दु भएर भूकम्पको धक्का >>   आजको मौसम : चार प्रदेशमा हल्का वर्षा र हिमाली भूभागमा हिमपातको सम्भावना >>   आज मिति २०८१ साल मङ्सिर ०७ गते शुक्रबार,हेर्नुहोस आजको राशिफल >>   ११ जिल्ला न्यायाधीशको सरुवा, को पुगे कहाँ ?(सूचीसहित) >>   अर्थमन्त्री विष्णु पाैडेलकाे कमालः आर्थिक वर्षको चार महिनामा १७ प्रतशितले राजस्व वृद्धि ! >>   राष्ट्रपति पौडेलबाट भारतीय सेनापति द्विेदीलाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान( फाेटाे फिचर) >>   नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
Logo
७ मंसिर २०८१, शुक्रबार
७ मंसिर २०८१, शुक्रबार

तल्लो तहको जनताको उत्थान नै लोकतन्त्र, गणतन्त्र र समानता हो: राष्ट्रपति


महोत्तरी । राष्ट्रपति रामचन्द्र पौडेलले दलित, उत्पीडित, जनजाति, महिला, आदिवासीलगायत सबैभन्दा तल्लो तहका जनताको उत्थान नै लोकतन्त्र, गणतन्त्र र समानता भएको बताउनुभएको छ ।राष्ट्रपति पौडेलले आज मटिहानीमा शहिद केशव कोइरालाको प्रतिमाको अनावरण गरेपछि मटिहानी नगरपालिकाद्वारा आयोजित कार्यक्रममा बोल्दै सो धारणा व्यक्त गर्नुभएको हो ।

“हामीले जनताका अधिकार स्थापित गरेको संविधान पाएका छौँ । यसअनुसार दलित, उत्पीडित, जनजाति, महिला, आदिवासीलगायत सबैभन्दा तल्लो तहका जनताको उत्थान गर्नुछ । यही नै हो लोकतन्त्र, यही नै हो गणतन्त्र, यही नै हो समानता”, उहाँले भन्नुभयो ।

राष्ट्रपति पौडेलले नागरिक अधिकार स्थापनाका लागि उनीहरुको मौलिक हक, अधिकारका लागि संघर्षका गर्ने क्रान्तिको करिडोर हो, मटिहानीदेखि सिन्धुली, ओखलढुंगाहुँदै सगरमाथाको भूमि भएको बताउनुभयो । उहाँले मधेसलाई प्रजातन्त्रको भूमिका रुपमा हामीले सम्मान गरिरहेको बताउनुभयो ।

राष्ट्रपति पौडेलले हाम्रो संविधानले निर्दिष्ट गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहित निमुखालाई न्याय र विपन्नलाई आयको परिलक्ष्य राखेको बताउनुभयो ।

उहाँले संविधानमा अधिकारका विभिन्न प्रकार उल्लेख गरे पनि ती सबै अधिकारले निमुखा जनतालाई निर्वाध स्वतन्त्रता उपभोग गर्ने र उनीहरूको जीवनस्तर उकास्ने अवसर प्रदान गर्ने विषय नै संघीय लोकतान्त्रिक गणतन्त्रले बोकेको दर्शनभित्रको अन्तर्य भएको स्पष्ट गर्नुभयो ।

उहाँले राजनीतिक रुपमा जनताको सर्वोत्तम उपलब्धि ‘गणतन्त्र’ हामीले प्राप्त गरेका छौं तर गणतन्त्रको वास्तविक अर्थ बुझ्न र त्यसलाई अनुभूत गर्न बाँकी नै छ जस्तो मलाई लाग्छ भन्नुभयो । “गणतन्त्र भनेको शासनमा व्यक्तिको परिवर्तनमात्र होइन यो त जनताको राजकीय शक्तिको प्रवाहमा सामेल हुन पाउने अधिकार हो यो त संस्कार, संस्कृति, आनीबानी र व्यवहारमात्रै होइन आचरणमा परिवर्तन पनि हो भनेर हामीले बुझ्न बाँकी छ”, उहाँले भन्नुभयो ।

नेपाली जनताको ठूलो संघर्ष, बलिदान र त्यागबाट आज मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको तथा अहिले हामीले लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण चरण पार गरेका छौं भन्दै राष्ट्रपति पौडेलले वर्तमान संविधानले निरंकुश, केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाका सबै प्रकारका विभेद र असमानतालाई अन्त्य गरेकोमात्र होइन वास्तविक अर्थमा नेपाली जनतालाई राजकीय शक्तिको मालिक बनाएको छ भन्नुभयो ।
उहाँले हामीले प्रशासनिक रुपमा राज्यको पुनः संरचना ग¥यौ र तल्लोभन्दा तल्लो तहमा रहेका जनताको पहुँचमा राज्यसत्ता पुगेको छ भन्दै तर, राज्यको चरित्रको भने पुनः संरचना हुन र हामीले केन्द्रीत गरेर राखेको अधिकार तल्लो तहमा प्रत्यायोजन गर्न अझै बाँंकी रहेको धारणा व्यक्त गर्नुभयो । “अब यसका लागि हामीले विलम्ब गर्न हुन्न भन्ने मलाई लाग्छ, संविधानबमोजिम प्रदेशहरूलाई अधिकार सम्पन्न बनाउने कानुन छिटो निर्माण गर्न संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूलाई आग्रह गरेको म यहाँंहरूसमक्ष स्मरण गर्न चाहन्छु”, उहाँले भन्नुभयो ।

एकदलीय शासन व्यवस्थालाई जरैसँंग उखेल्ने कठिन र दुरुह संघर्ष अनि त्याग र बलिदानका कैयौ कष्टकर दिनहरूमा आफूलाई न्यौछावर गरेर प्रजातान्त्रिक सिद्धान्त, मूल्य, मान्यता र संगठनलाई नेपाली भूमिमा बलियो, सुदृढ र व्यवस्थित बनाउन जीवनपर्यन्त अविश्राम खटेको एक योद्धाको नाम केशब कोइराला कोइराला भएको उहाँले उल्लेख गर्नुभयो ।

“ओखलढुंगाको पूर्वी गाँउ छहरे कोइराला गाँउमा जन्मेर प्रचुर धन सम्पति, नाता कुटुम्ब सबैलाई बिर्सिएर प्रजातान्त्रिक आन्दोलनको मूलधारामा सहभागी हुनु भएका केशव कोइराला कुशल संगठनकर्ता तथा लोकप्रिय नेता हुनुहुन्थ्यो, ओखलढुंगामा जन्मेर राजविराज झरेर केशव लगायतले मधेशमा प्रजातन्त्रको पक्षमा चलाएको जागरण अभियानका कारण आज पनि मधेश प्रजातन्त्रका पक्षमा सतिसाल झैं उभिरहेको छ भन्ने मलाई लाग्दछ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
यसअघि प्रजातान्त्रिक योद्धा गणेश नेपालीको शालिक अनावरण गर्दै राष्ट्रपति पौडेलले सुशासन, विकास, उत्पादन र रोजगारी बढाएर संघीय लोकतान्त्रिक गणतन्त्रलाई साकार पार्ने अभियानमा सबै एकजुट भएर लाग्न आव्हान गर्नुभयो । उहाँले जनता आफैंले बनाएको नेपालको संविधान कार्यान्वयन गरेर आज हामीले नेपाली जनताले चाहेको सुशासन, विकास, उत्पादन र रोजागरीमार्फत समृद्धिको यात्रामा अघि बढ्ने राष्ट्रिय दायित्व पुरा गर्न लागि पर्नुपर्ने छ भन्ने हेक्का हामी सबैले राख्न जरुरी भएको उहाँको भनाइ थियो ।

उहाँले संविधानले प्रत्याभूत गरेको मौलिक हकको कार्यान्वयन गरी खासगरी विपन्न, पिछडिएका र गरीव जनताको जीवनस्तर माथि उठाउन सक्यौ भने मात्र लोकतन्त्रको सार र सार्थकता यथार्थमा रुपान्तरण हुनेछ भन्नुभयो ।

लोकतन्त्रलाई राज्यसञ्चालनको एउटा माध्यममात्र होइन जीवन दर्शन र संस्कार बनाए मात्रै आज केशव कोइरालाजस्ता शहिदहरू र गणेश नेपालीजस्ता प्रजातन्त्रका योद्धाप्रति सच्चा श्रद्धाञ्जली हुनेछ भन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । केशव कोइराला र गणेश नेपालीको शालिक नेपालमा लोकतन्त्र स्थापना र पुर्नस्थापनाका लागि भएका संघर्ष, त्याग र आरोह अवरोह बुझ्ने एउटा जीवन्त इतिहास भएर रहिरहने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

यस अघि आज बिहान राष्ट्रपति पौडेलले जलेश्वरस्थित जलेश्वर महादेव मन्दिरको दर्शन एवम पूजा अर्चन गर्नुभयो । त्यस्तै उहाँले पिपरमा रहेको लोकतान्त्रिक योद्धा स्वर्गीय रामनारायण मिश्रको शालिकमा माल्र्यापण गर्नुभयो ।


प्रकाशित मिति: ३ चैत्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?