Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

नेपाल विश्वस्तरमै चलचित्र उद्योगका लागि महत्वपूर्ण स्थल होः मन्त्री शर्मा


काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल विश्वस्तरमै चलचित्र उद्योगका लागि महत्वपूर्ण स्थल भएको बताउनुभएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा सुरु भएको सातौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको उद्घाटन गर्दै उहाँले छायाँकन स्थल र कथावस्तु दुबै हिसाबले नेपाल चलचित्रका लागि महत्वपूर्ण स्थल भएको बताउनुभयो ।

‘हिमाल, पहाड र तराईको भौगोलिक विविधिताको अनुपम संगम हुनुका साथै प्राकृतिक र सांस्कृतिक हिसाबले विश्वमै समृद्ध मुलुक नेपाल चलचित्र छायाँकनका लागि महत्वपूर्ण स्थल हो’– मन्त्री शर्माले भन्नुभयो– ‘यहाँका रमणीय प्राकृतिक सम्पदाको सामीप्यतामा गरिने छायांकन मात्र होइन, कहिल्यै पराधिन बन्नु नपरेको नेपाल राष्ट्रको गौरवशाली इतिहास तथा सामाजिक सांस्कृतिक सम्पदाको अखण्ड विरासत चलचित्रका लागि महत्वपूर्ण कथावस्तु पनि हुन् ।’

मानव जातिका दुःखका कारण र यसको समाधानको विधि पत्ता लगाएर विश्वलाई सुख र शान्तिको सन्देश दिने गौतम बुद्धको जन्मस्थल नेपाल बहुभाषिक, बहुसाँस्कृतिक र बहुजातीय मुलुक रहेको औल्याउँदै उहाँले नेपाली संस्कृतिको अभिन्न अंगको रुपमा रहेका मूर्त र अमूर्त सबै सम्पदाहरु चलचित्रका महत्वपूर्ण कथावस्तु र छायांकनका लागि मनोरम स्थल रहेको बताउनुभयो ।

नेपाली चलचित्रले यहाँको सामाजिक, साँस्कृतिक, आर्थिक समुन्नति तथा आपसी सद्भाव कायम गर्न ठूलो योगदान दिंदै आएको उललेख गर्दै मन्त्री शर्माले थप्नुभयो– ‘नेपाली चलचित्र क्षेत्रलाई मर्यादित, व्यावसायिक बनाउन र मौलिक एवं स्तरीय नेपाली चलचित्र निर्माणमा अभिप्रेरित गर्न तथा यसको बजारीकरणमा समयसापेक्ष विकास गर्दै लैजान सबैको उत्तिकै योगदान र सकारात्मक भूमिका अपरिहार्य रहन्छ ।’

अब नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजारीकरणमा ध्यान दिनुपर्ने आवश्यकतामा जोड दिंदै मन्त्री शर्माले उच्चतम प्रविधिको प्रयोग गरेर गुणस्तरीय चलचित्र बनाउने र विश्व बजारमा नेपाली चलचित्रलाई विस्तार गर्ने दुबै काम महत्वपूर्ण भएको बताउनुभयो ।

‘नेपाली चलचित्रको विश्वब्यापी बजारीकरणले एकातिर चलचित्र क्षेत्रको आर्थिक उनन्नयनमा टेवा पुग्नेछ भने अर्कोतिर पूर्वीय संस्कृतिको प्रवर्धन र विस्तारमा सहयोग पुग्नेछ’– मन्त्री शर्माले भन्नुभयो– ‘सूचना प्रविधिका कारण सिर्जित विश्वब्यापीकरणले नेपालजस्ता प्राचीन मुलुकहरुको मौलिक संस्कृति लोप हुने खतरा बढ्दै गएको छ । त्यसो हुन नदिन हाम्रा मौलिक संस्कृतिसँग जोडिएका कथावस्तुमा धेरैभन्दा धेरै चलचित्र निर्माण गर्ने र त्यसको अन्तर्राष्ट्रिय बजारीकरणमा ध्यान दिनुपर्ने आवश्यकता छ ।’

सरकारले नेपाली चलचित्र क्षेत्रलाई थप रचनात्मक र सिर्जनशील बनाउन सहयोग पुग्ने गरी स्टोरी बैंक स्थापना र ऐतिहासिक चलचित्र तथा वृत्तचित्र निमाणलाई प्रोत्साहन, काभ्रेमा चलचित्र छायाङ्कन स्टुडियो र दोलखा चलचित्र नगरी आयोजना, बाल चलचित्र महोत्सव जस्ता कार्यक्रम अघि सारेको जानकारी दिंदै उहाँले यो वर्षदेखि चलचित्रको माध्यमबाट सामाजिक सांस्कृतिकरुपान्तरणमा योगदान पुर्याउने चलचित्रकर्मीहरुलाई सम्मानको कार्यक्रम पनि थालिएको बताउनुभयो ।

सरोकारवालासँगको परामर्शमा चलचित्र क्षेत्रसँग सम्बन्धित कानुन परिमार्जनमा सरकारले गृहकार्य सुरु गरेको जानकारी दिंदै मन्त्री शर्माले यस क्षेत्रा आउने नीति र कानुनमा विरोध र समर्थन मात्रै भन्दा रचनात्मक सुझाव पनि विज्ञ र सरोकारवालाहरुलाई आग्रह गर्नुभयो । महोत्सव चैत ५ गतेसम्म चल्ने छ ।


प्रकाशित मिति: २ चैत्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?