Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

मुस्ताङमा पर्यटकको चहलपहल बढ्यो


२८ फागुन, मुस्ताङ। बसन्त ऋतुको आगमनसँगै मुस्ताङमा पर्यटकको चहलपहल बढेको छ। म्याग्दी हुँदै सडकमार्ग भएर मुस्ताङ जाने र फर्कने पर्यटकको बेनी–जोमसोम सडकमा चाप बढेको हो।

मुक्तिनाथ मन्दिर, कागबेनी, कोरला नाका, लोमान्थाङ, जोमसोम, ढुम्वा ताल, ठिनी, लेतेलगायत ठाउँमा पर्यटकको घुइँचो लागेको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जोमसोमस्थित कार्यालय प्रमुख अशोक सुवेदीले आन्तरिक पर्यटकको चाप बढेको र विदेशी पर्यटक पनि मुस्ताङ घुम्न आउन थालेको जानकारी दिए।

“सडक र हवाईमार्ग भएर मुस्ताङ घुम्न आएका आन्तरिक पर्यटकका कारण चहलपहल बढेको छ,” उनले भने, “थोराङ्ला, उपल्लो मुस्ताङ र जोमसोम आसपासका क्षेत्रमा पनि विदेशी पर्यटकको चहलपहल बढेको छ ।” सन् २०२३ को मार्च महिनाभित्र ११ दिनको अवधिमा एक हजार आठ सय ४४ विदेशी पर्यटक मुस्ताङ भित्रिएका एक्पाप जोमसोम शाखाले जनाएको छ।

अङ्ग्रेजी वर्ष २०२३ सुरु भएयता तीन हजार छ सय ६९ विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन्। जनवरीमा एक सय ३१ र फेब्रअरीमा एक हजार छ सय ९९ पर्यटक आएका थिए। सन् २०२२ मा ४८ देशका ६५ हजार नौ सय ४० जनाले मुस्ताङ भ्रमण गरेकामा ४६ हजार सात सय २४ जना सार्क र १९ हजार दुई सय छ जना तेस्रो मुलुकका थिए।

सार्क राष्ट्रका मध्ये धेरै पर्यटक भारतका हुन्। म्याग्दी भएर दैनिक ५० वटा बस र एक सय ५० जीप(पर्यटक सवारीसाधन)बाट मुस्ताङ भित्रने गरेका जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। अनुकुल मौसम, सडक यातायात र होटलको सहजतासँगै मुस्ताङमा पर्यटकको आगमन बढेको होटल व्यवसायी सम्झना थकालीले बताए।

विदेशीको तुलनामा स्वदेशी पर्यटक बढी छन्। आमा समूह, वन समूह, क्लब, सहकारी संस्था र शैक्षिक संस्थाबाट पनि समूह बनाएर भ्रमणमा आएका छन्। चीनको सिमानास्थित कोरला नाकासम्म सडक पुगेको छ। यातायातको सहज पहुँचसँगै यात्राको खर्च घटेको र समय छोटिएको छ।

मुस्ताङ जाने र फर्कने पर्यटकको चाप बढेपछि म्याग्दीका व्यवसायीलाई पनि राहत मिलेको होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घका जिल्लाअध्यक्ष बाबुराम आचार्यले बताए। बेनी, गलेश्वर, भुरुङ तातोपानी, पोखरेबगर, दाना क्षेत्रका होटल पाहुनाले भरिन थालेका छन्।


प्रकाशित मिति: २८ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?