Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

कञ्चनपुरमा आधुनिक सहरको कामले गति लिँदै


महेन्द्रनगर,कञ्चनपुर। कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रलाई आधुनिक सहर बनाउने लक्ष्यसहित सुरु गरिएको सडक लगायत पूर्वाधार निर्माणको ८५ प्रतिशत काम सकिएको छ । एसियाली विकास बैंक (एडीबी) को सहयोगमा तीन वर्षअघि देखि महेन्द्रनगर बजारका सडक, यहाँस्थित एयरपोर्ट रोड, सडक पेटी, नाली, फुटपाथ, साइकल लेन र पार्किङ लगायतको निर्माणका लागि रु एक अर्बमा ठेक्का भएको थियो ।

त्यसैगरी, आधुनिक सहर निर्माणको जिम्मेवारी पाएको जेडआइसी–लामा जेभीले निर्माण अन्तिम चरणमा पुगेको र केही प्रक्रियागत अल्झन्का कारण मात्रै ढिलाइ भएको जनाएको छ । उक्त योजनाअन्तर्गत महेन्द्रनगर बजार र आसपासको क्षेत्र गरी १४ किलोमिटर सडक कालोपत्र, २२ किलोमिटर नाली, फुटपाथ लगायतका संरचना निर्माणको काम रहेको थियो ।

जेडआइसी–लामा जेभीका इन्जिनियर भूपेन्द्रबहादुर सिंहले मदनचोक क्षेत्रको सडकमा पर्ने २१ वटा सटर खाली गराउनुपर्ने र बजार क्षेत्रमा बिजुलीका पोल सार्ने कामको ढिलाइले निर्माणको अवधि लम्बिएको बताए । “बिजुलीका पोल सार्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ, भीमदत्त नगरपालिकाले सडक हटाउन पनि पहल गरेको छ ।” उहाँले भन्नुभयो, “त्योबाहेक अधिकांश काम अन्तिम चरणमा रहेको छ ।”

त्यस्तै, भीमदत्त नगरपालिकाले फोहरमैला प्रशोधन केन्द्रका लागि जग्गा प्राप्ति गर्न नसक्दा उक्त शीर्षकको बजेट भने फिर्ता गएको छ भने उक्त नगरपालिकाले प्रशोधन केन्द्रका लागि जग्गा खोजबिन गरे पनि केही स्थानमा स्थानीयवासीको अवरोधपछि सो विषयले सार्थकता पाउन सकेको छैन । नगरपालिकाका प्रवक्ता महेन्द्र पाण्डेयले एसियाली विकास बैङ्कको सहयोगमा महेन्द्रनगरमा थप पाँच किलोमिटर सडक निर्माण हुने बताए ।

“दोस्रो चरणका लागि सडक छनोटका कार्य नगरपालिकाले गरिसक्यो,” उनले भने, “सो विषय नगरपालिकाले एडिबीलाई निर्णय गरेर प्रदान गरिसकेको छ ।” उनले फोहरमैला प्रशोधन केन्द्रका लागि जग्गा खोजिएको स्थानमा स्थानीयवासीले विरोध गर्दा समस्या भएको बताए । त्यस्तै, एसियाली विकास बैंकले सुदूरपश्चिमका चारवटा पालिकालाई छनोट गरी आधुनिक सहर निर्माणलाई अघि बढाएको छ । जसमा कैलालीको धनगढी उपमहानगरपालिका, अत्तरिया नगरपालिका र कञ्चनपुरको शुक्लाफाँटा र भीमदत्त नगरपालिकामा निर्माणकार्य भइरहेको छ ।

उक्त योजनाअन्तर्गत धनगढी उपमहानगरपालिकामा फोहरमैला प्रशोधन निर्माणका लागि स्थान उपलब्ध गराइए पनि वन लगायतको प्रक्रियागत कारणले निर्माण व्यवसायीले प्रशोधन केन्द्रको काम गर्न पाएको छैन भने अत्तरिया र शुक्लाफाँटा नगरपालिकामा भने प्रशोधन केन्द्रको निर्माण धमाधम भइरहेको छ ।


प्रकाशित मिति: ११ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?