Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

पूर्वमा आज चासोक तङ्नाम पर्व मनाइँदै


ताप्लेजुङ। किरात समुदायको बसोबास रहेको पूर्वी पहाडमा आज उद्यौली पर्व अर्थात् चासोक तङ्नाम धुमधामका साथ मनाइँदै छ । विशेष गरी ताप्लेजुङ, पाँचथर, तेह्रथुम, इलाम, धनकुटा, झापा, मोरङ, सुनसरीलगायत क्षेत्रमा पूजाआजासहित विविध कार्यक्रम गरेर यो पर्व मनाइँदै छ ।

त्यसैगरी, चासोक तङ्नामका बेला थान थापेर प्रकृतिदेवीलाई पुकार्दै नयाँ अन्नबाली पुज्ने गरिन्छ । बाली उब्जाइदिने प्रकृति, जल, जमिन, वायु, अग्नि (सूर्य) लाई प्रकृतिदेवीका रुपमा मानेर पुजा गर्ने परम्परा रहेको छ भने किरात समुदायमा चासोक तङ्नाम भनेको अन्नप्रति सम्मान गर्नु हो । किरात लिम्बू समुदायले अन्नलाई एक प्रकारको देवताका रुपमा मान्ने गरेका छन् ।

पैयूँ फुल्ने, माछा र चरा दक्षिण तिर लागेको उँधौली यामको न्वागी पर्वलाई नै चासोक तङ्नाम भन्ने गरिएको हो । ‘चासोक’ को अर्थ नयाँ पाकेको शुद्ध अन्नलाई पवित्र मनले पुजेर तागेरा निङ्वा भुमाङ (प्रकृतिदेवी) लाई अर्पण गर्नु भन्ने हुन्छ । त्यस्तै ‘तङ्नाम’ भन्नाले पर्व अर्थात् उत्सव भनेर जनाउँछ । यो पर्वमा आआफ्नो घरमा फेदाङ्मा अर्थात लिम्बू पुरोहित बोलाएर चासोक पुजा गर्ने गरिएको स्थानीय नरबहादुर काङ्बाले बताए ।

यसरी घरमा बोलाइएका फेदाङ्माले तागेर निङ्वाभुमाङलाई पुकार्दै नयाँ अन्न खान पाउने अनुमति लिन्छन् । नयाँ अन्न खाँदा रोग नलागोस, स्वस्थ हुन पाइयोस् भन्ने कामना गरिन्छ । यसरी मनाइने पर्व पूर्वी पहाडी क्षेत्रमा संस्थागत रुपमा मनाउने गरिएको उनले बताए । त्यसैगरी, लिम्बूहरुको किरात याक्थुङ चुम्लुङ, सुनुवारको किरात सुनुवार सेवा समाज, किरात राई यायोख्या लगायतका जातीय संस्थाले पूजाआजा सहितका कार्यक्रमको अगुवाइ गर्दै आएका छन् ।

त्यस्तै, किरात समुदायले पूजाआजासहित मनाउने यो पर्वअन्तर्गतका विभिन्न कार्यक्रममा पछिल्लो समय अन्य समुदायका पुस्ताकोसमेत सहयोग, सद्भाव सहितको उपस्थिति देखिने गरेको स्थानीय बताउँछन् । चासोक तङ्नामका बेला हप्तौँसम्म खेलकुद, सांस्कृतिक कार्यक्रम आयोजना हुने गरेको छ भने यस वर्ष पनि ताप्लेजुङ सदरमुकाम क्षेत्रमा खेलकुद सहितका कार्यक्रम भइरहेका छन् ।

उक्त पर्वकै अवसरमा सदरमुकाम फुङलिङस्थित भानुजन माध्यामिक विद्यालयको खेलमैदानमा कञ्चनजङ्घा (सेसेलुङ) गोल्डकपको आयोजना भएको छ भने सिरिजङ्घा गाउँपालिकाको सिनाममा चासोक पूजासहित खेलकुद कार्यक्रम आयोजना गरिएको छ ।

सिनाममा आयोजित कार्यक्रममा चर्चित कलाकार मेलिना राई तथा सदरमुकाममा आयोजित कार्यक्रममा अस्मिता अधिकारी सहितका राष्ट्रिय कलाकार आउने भएका आयोजकले जनाएका छन् ।


प्रकाशित मिति: १० पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?