Trending
>>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

पूर्वमा आज चासोक तङ्नाम पर्व मनाइँदै


ताप्लेजुङ। किरात समुदायको बसोबास रहेको पूर्वी पहाडमा आज उद्यौली पर्व अर्थात् चासोक तङ्नाम धुमधामका साथ मनाइँदै छ । विशेष गरी ताप्लेजुङ, पाँचथर, तेह्रथुम, इलाम, धनकुटा, झापा, मोरङ, सुनसरीलगायत क्षेत्रमा पूजाआजासहित विविध कार्यक्रम गरेर यो पर्व मनाइँदै छ ।

त्यसैगरी, चासोक तङ्नामका बेला थान थापेर प्रकृतिदेवीलाई पुकार्दै नयाँ अन्नबाली पुज्ने गरिन्छ । बाली उब्जाइदिने प्रकृति, जल, जमिन, वायु, अग्नि (सूर्य) लाई प्रकृतिदेवीका रुपमा मानेर पुजा गर्ने परम्परा रहेको छ भने किरात समुदायमा चासोक तङ्नाम भनेको अन्नप्रति सम्मान गर्नु हो । किरात लिम्बू समुदायले अन्नलाई एक प्रकारको देवताका रुपमा मान्ने गरेका छन् ।

पैयूँ फुल्ने, माछा र चरा दक्षिण तिर लागेको उँधौली यामको न्वागी पर्वलाई नै चासोक तङ्नाम भन्ने गरिएको हो । ‘चासोक’ को अर्थ नयाँ पाकेको शुद्ध अन्नलाई पवित्र मनले पुजेर तागेरा निङ्वा भुमाङ (प्रकृतिदेवी) लाई अर्पण गर्नु भन्ने हुन्छ । त्यस्तै ‘तङ्नाम’ भन्नाले पर्व अर्थात् उत्सव भनेर जनाउँछ । यो पर्वमा आआफ्नो घरमा फेदाङ्मा अर्थात लिम्बू पुरोहित बोलाएर चासोक पुजा गर्ने गरिएको स्थानीय नरबहादुर काङ्बाले बताए ।

यसरी घरमा बोलाइएका फेदाङ्माले तागेर निङ्वाभुमाङलाई पुकार्दै नयाँ अन्न खान पाउने अनुमति लिन्छन् । नयाँ अन्न खाँदा रोग नलागोस, स्वस्थ हुन पाइयोस् भन्ने कामना गरिन्छ । यसरी मनाइने पर्व पूर्वी पहाडी क्षेत्रमा संस्थागत रुपमा मनाउने गरिएको उनले बताए । त्यसैगरी, लिम्बूहरुको किरात याक्थुङ चुम्लुङ, सुनुवारको किरात सुनुवार सेवा समाज, किरात राई यायोख्या लगायतका जातीय संस्थाले पूजाआजा सहितका कार्यक्रमको अगुवाइ गर्दै आएका छन् ।

त्यस्तै, किरात समुदायले पूजाआजासहित मनाउने यो पर्वअन्तर्गतका विभिन्न कार्यक्रममा पछिल्लो समय अन्य समुदायका पुस्ताकोसमेत सहयोग, सद्भाव सहितको उपस्थिति देखिने गरेको स्थानीय बताउँछन् । चासोक तङ्नामका बेला हप्तौँसम्म खेलकुद, सांस्कृतिक कार्यक्रम आयोजना हुने गरेको छ भने यस वर्ष पनि ताप्लेजुङ सदरमुकाम क्षेत्रमा खेलकुद सहितका कार्यक्रम भइरहेका छन् ।

उक्त पर्वकै अवसरमा सदरमुकाम फुङलिङस्थित भानुजन माध्यामिक विद्यालयको खेलमैदानमा कञ्चनजङ्घा (सेसेलुङ) गोल्डकपको आयोजना भएको छ भने सिरिजङ्घा गाउँपालिकाको सिनाममा चासोक पूजासहित खेलकुद कार्यक्रम आयोजना गरिएको छ ।

सिनाममा आयोजित कार्यक्रममा चर्चित कलाकार मेलिना राई तथा सदरमुकाममा आयोजित कार्यक्रममा अस्मिता अधिकारी सहितका राष्ट्रिय कलाकार आउने भएका आयोजकले जनाएका छन् ।


प्रकाशित मिति: १० पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?