Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

नेपाली तानमा बनाइएको ‘नेचुरल कार्पेट’ अन्तर्राष्ट्रिय बजारमा प्रदर्शन गरिने


पच्चिस जना महिलाले झन्डै छ महिना लगाएर तयार पारेको ‘नेचुरल टेक्सटायल कार्पेट’ अन्तर्राष्ट्रिय बजारमा प्रदर्शनी गरिने भएको छ । ब्रिटिस काउन्सिलको सहयोगमा पोखरास्थित महिला सीप विकास संस्थाले तयार पारेको उक्त कार्पेट १६ मिटर लामो रहेको संस्थाका संस्थापक कार्यकारी निर्देशक रामकली खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार सुती धागोबाट जडीबुटी र फलफूलको रस प्रयोग गरी ‘केमिकल’रहित कार्पेट तयार पारिएको हो । नेपाली उत्पादनलाई विश्वबजारमा चिनाउनका लागि कार्पेट तयार पारिएको उहाँले बताउनुभयो । कार्पेटको बीच भागमा विभिन्न चित्र, नक्सा अङ्कित गरिएको छ । उहाँका अनुसार मोबाइल एपमार्फत् कार्पेट बनाउँदा प्रयोग भएका कच्चा पदार्थका साथै तयार पार्ने महिलाको कथा हेर्न सकिनेछ । सोह्र मिटर लामो कार्पेटसँगै डेढ मिटरका अन्य २४ वटा साना नेचुरल कार्पेट पनि तयार गरिएको छ ।

ब्रिटिश काउन्सिलले गरिबी निवारणका लागि एकल, द्वन्द्वपीडित, हिंसापीडित, अपाङ्गता भएका एवं पछाडि पारिएका महिलालाई आयआर्जनमा जोडेर सम्मानित जीवनयापनका लागि ल्याएको कार्यक्रममा संस्थाको सहकार्य रहेको खड्काको भनाइ छ । “कार्पेट प्रदर्शनीका लागि मात्रै भएकाले मूल्य तोकेका छैनौँ”, उहाँले भन्नुभयो, “विभिन्न देशमा यसलाई प्रदर्शन गर्ने हाम्रो योजना अनुसार बेलायतबाट यसको सुरुआत गर्नेछौँ ।” उहाँका अनुसार प्रदर्शनीपछि यसलाई बेलायतकै विश्वविद्यालयमा राखिने छ । प्रदर्शनपछि माग आएमा नयाँ कार्पेट तयार गरी मूल्य निर्धारण गरिनेछ । पोखरा महानगरको सहयोगमा मार्च ८ मा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा संस्थाबाट उत्पादिन सामग्री प्रदर्शनीसँगै उक्त कार्पेटलाई पनि प्रदर्शन गरिएको थियो । विसं २०३२ मा स्थापना भएको महिला सीप विकास संस्थाले विशेष गरी आर्थिकरुपमा विपन्न, अपागङ्ता भएका, एकल र द्वन्द्वपीडित महिलालाई आयआर्जनमा जोडेर सम्मानित जीवनयापनाका लागि पहल गर्दै आएको संस्थाका अध्यक्ष देवी गुरुङले जानकारी दिनुभयो ।

‘स्वदेशी हस्तकला सामानको प्रयोग गराँै, स्वरोजगार सिर्जना गरौँ, वातावरण जोगाऔँ’ भन्ने नाराका साथ ४७ वर्षदेखि हस्तकलाका सामग्री उत्पादन तथा निर्यातमा सक्रिय संस्थाले झन्डै एक हजारभन्दा बढी सामग्री उत्पादन गर्दै आएको छ । अध्यक्ष गुरुङका अनुसार हालसम्म करिब २१ हजार महिलालाई संस्थाले तालिम प्रदान गरिसकेको छ । हाल तीन सय ५० जना महिला उद्यमी संस्थामा आबद्ध छन् । संस्थाले झोला, पर्स, गुडिया र सजावटका सामान उत्पादन गर्दछ । स्थानीय कच्चापदार्थ, अल्लो, मकैको खोस्टाबाट फूल, गुडियालगायतका अनेकौँ सामान उत्पादन गर्दछ । उत्पादनको ८० प्रतिशत विदेशी बजारमा निर्यात हुने गरेको छ भने बाँकी २० प्रतिशत आन्तरिक खपत हुने गरेको संस्थाको भनाइ छ । संस्थाले हस्तकला सामान निर्यातमार्फत् विदेशी मुद्रा आर्जन गर्न सफल भएको संस्थाकी कार्यकारी निर्देशक खड्काको भनाइ छ । संस्थाका उत्पादन खासगरी अमेरिका, जर्मनी, इटली, कोरिया, क्यानडा, अस्ट्रेलिया, जापानलगायत विभिन्न देशमा निर्यात हुने उहाँले जानकारी दिनुभयो ।


प्रकाशित मिति: २६ फाल्गुन २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?