Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

हल्दिबारीमा भेटिए पुरातात्विक इँटा


झापा। दक्षिण झापाको हल्दिबारी गाउँपालिका–४ च्याङ्ग्राबन्ध गाउँमा पुरातात्विक महत्त्वका सामग्री भेटिएका छन् । स्थानीयवासीले खेतबारी जोत्ने र खाल्डो खन्ने क्रममा अनौठा इँटा, भाँडाकुँडा र इनार भेटेका हुन् ।

“ती सामानको कुनै सरकारी निकायबाट खोज तथा अनुसन्धान भएको छैन । बारीमा तरकारी लगाएका थियौँ,” स्थानीय मञ्जु बरालले भनिन्, “ट्युबेलको पानीले पुग्दैन भनेर इनारका लागि खाल्डो खन्दै थियौँ । अलिकति गहिरो खन्दा घ्याम्पो आकारको पुरानो इनार पो भेटियो ।” गाउँलेले गाड्धन होला भनेर अनुमान लगाए पनि त्यहाँ कुनै बहुमूल्य धातु भने नभेटिएको उनले बताइन् ।

बरालका अनुसार उक्त इनार आठ फिट गहिरोसम्म उधिनेर फेरि पुरिएको छ । बरालकै खेतबारीमा अहिले गाई, कुखुरा र मान्छेको पाइला अङ्कित अनौठा चारपाटे इँटा धेरै भेटिएका छन् । “हेर्दा बिस्कुट जस्ता चारपाटे यी सबै पुराना इँटा हुन्”, उनले बारीका इँटा देखाउँदै भनिन् ।

च्याङ्ग्राबन्ध गाउँमा विराट राजाको दरबारको भग्नावशेष हुनसक्ने स्थानीयवासीको अनुमान छ । दक्षिण झापामा किच्चकबधस्थल र विराटनगरमा विराट राजाको दरबार रहेको पहिचान भइसकेकाले मध्यभागमा पर्ने यो स्थान विराट राज्यकालीन हुनसक्ने नेपाल पत्रकार महासङ्घ झापाका पूर्वअध्यक्ष तारामणि सापकोटाले बताए ।

“मैले पनि त्यहाँ भेटिएका अनौठा इँटा हेरेको छु,” उनले भने, “अहिलेसम्म सरकारी तहबाट कुनै खोज अनुसन्धान नभएकाले ती वस्तु कहिलेका हुन् भनेर यकिनका साथ भन्न सकिने अवस्था रहेन । ती सामान पुरातात्विक महत्त्वका हुन् भनेर चाँही सजिलै अनुमान गर्न सकिन्छ ।”

सापकोटाले च्याङ्ग्राबन्ध गाउँका धेरै खेतबारीमा विसंं २०४२ देखि नै पुराना इँटा र भाँडाकुँडा भेटिएको जनाउँदै पुरातत्व विभाग र इतिहासका अन्वेषकहरुले चासो राख्नुपर्नेमा जोड दिए । उनका अनुसार किच्चकबध क्षेत्र नजिकै भएकाले ती सामग्री र भग्नावशेष विराट राज्यकालीन हुनसक्ने सम्भावना छ ।

हल्दिबारी गाउँपालिकाका गुनासो सुन्ने अधिकारी राजन न्यौपानेले पुराना भाँडाकुँडा र इँटा भेटिएको भन्ने सुन्नमा आएको बताएका छन् । ती सामान कति ऐतिहासिक छन् भनेर अनुसन्धानको खाँचो रहेको उनले बताए ।

त्यस्तै, हल्दिबारीबाट १७ किलोमिटर सडक दूरीमा ऐतिहासिक किच्चकबधस्थल रहेको छ । विराट राज्यकालीन किच्चकलाई बध गरिएको स्थानको रुपमा किच्चकबध स्थललाई मानिएको छ । किच्चकबध स्थलमा विराट राज्यकालीन इँटा, पर्खाल, भवन र इनार सतहमुनि पुरिएको अनुमान गरिएको छ भने जसमध्ये इँटा, पर्खाल र भाँडाकुँडा उत्खनन् गरेर निकालिएका छन् ।

च्याङ्ग्राबन्धमा अहिले भेटिएका इँटा किच्चकबध स्थलमा उत्खनन्बाट भेटिएका इँटासँग मिल्दोजुल्दो रहेका पत्रकार सापकोटाले जानकारी दिए । उनका अनुसार हल्दिबारी–४ मै खेतबारीमा पूरानो पर्खालको एउटा भग्नावशेषसमेत भेटिएको छ ।

स्थानीयवासीका अनुसार यहाँ राणाकालदेखि नै एक जना सेनाका जर्नेलले हुकुम प्रमाङगीबाट २० बिघा जग्गा पाएका थिए । स्थानीयवासीले सोही कारण गाउँलाई जर्नेल कामत पनि भन्ने गरिएको बताएका छन् ।


प्रकाशित मिति: २ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?