Trending
>>   लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा विनोद र पूर्णलक्ष्मी च्याम्पियन >>   जलवायु परिवर्तनसम्बन्धी चित्रकला प्रदर्शनी >>   मानव मर्यादा र आत्मसम्मान नै आधुनिक समाजको आधारः प्रहरी महानिरीक्षक कार्की >>   ६१ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसः माइतीघरमा ध्यानाकर्षण सभा >>   इनिशा विकको बलात्कारपछि हत्याको विरोध गर्दै माईतीघरमा प्रदर्शन >>   देशभर २४ घण्टामा ३६ विपद्का घटनाः एकको मृत्यु, ३० लाखभन्दा बढीको क्षति >>   इरानमाथिको आक्रमण कम गर्ने विचार गर्दैछु : डोनाल्ड ट्रम्प >>   दक्षिण कोरियाको अटो पार्टस कारखानामा आगलागी हुँदा १० जनाको मृत्यु, ५९ घाइते >>   नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखरा : मेयर धनराज >>   इस्लाम धर्मावलम्वी हर्षोल्लासका साथ इद उल फित्र मनाउँदै
Logo
८ चैत्र २०८२, आईतवार
८ चैत्र २०८२, आईतवार

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुई हात्ती थपिँदै


महेन्द्रनगर,कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुई हात्ती थपिँदै छन् । तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको सो निकुञ्जमा पछिल्ला वर्षमा वन्यजन्तुको सुरक्षार्थ गरिने गस्तीका लागि हात्तीको अभाव रहेको थियो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका अनुसार १० हात्तीको दरबन्दी रहेको शुक्लाफाँटामा हाल आठ हात्ती छन् भने निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले चितवनबाट यहाँ दुई हात्ती ल्याउने विषयमा विभागबाट निर्णय भइरहेको बताए ।

विश्वमै दुर्लभ बाह्रसिङ्गेको प्रमुख बासस्थान रहेको शुक्लाफाँटामा ३६ पाटेबाघ, १७ गैँडालगायत चराचुरुङ्गीका साथै वन्यजन्तुको महत्वपूर्ण बासस्थान छ । हाल यहाँ बाघ गणना भइरहेको छ भने निकुञ्जभित्र सडक सञ्जालको पहुँच नभएको र तालतलैया भएको संवेदनशील क्षेत्रमा हात्तीको सहारामा निकुञ्ज कर्मचारी एवं निकुञ्ज सुरक्षार्थ खटिएका सेनाले गस्ती गर्ने गरेका छन् ।

“चितवनबाट दुई हात्ती थपिएपछि काम गर्न सहज हुन्छ”, प्रमुख संरक्षण अधिकृत भट्टराईले भने, “जङ्गली हात्तीबाट क्षति कम गर्न पनि विभिन्न कोणबाट कार्यक्रम सञ्चालन हुने तयारी छ ।” निकुञ्जभित्र पश्चिम सेक्टरमा हात्तीबाट गस्ती गरेर वन्यजन्तु सुरक्षामा जोड दिइएको भए पनि पूर्व अर्जुनी सेक्टरमा भने कर्मचारी र सैनिक जनशक्ति मात्र परिचालित छन् ।

उक्त निकुञ्जभित्र पिपरिया, शुक्ला र मालुबेला गरी तीन स्थानमा हात्तीसार छन् भने एउटा हात्ती गस्ती लैजानेदेखि स्याहारसम्म गरेर माहुते, पछुवा र फणित गरेर तीन कर्मचारी खटिँदै आएका छन् । विसं २०२६ मा सिकार आरक्षका रूपमा स्थापना भएको शुक्लाफाँटा २०७३ साल फागुनमा राष्ट्रिय निकुञ्ज घोषणा भएको थियो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जारी बाघ गणनाको नजिता आगामी वैशाखसम्म सार्वजनिक गरिनेछ । यसैगरी निकुञ्जमा वन्यजन्तु उद्धार केन्द्र स्थापनाका लागि पनि गृहकार्य भइरहेको प्रमुख संरक्षण अधिकृत भट्टराईको भनाइ छ । “बाघलगायत सबै खाले वन्यजन्तुको उद्धार एवं नियन्त्रणमा लिने खालको जनशक्तिसहितको टोली तयार हुँदैछ”, उनले भने, “अब केही समयपछि वन्यजन्तुको उद्धारका लागि बर्दियालगायत अरु ठाउँको भर पर्नुपर्दैन ।”


प्रकाशित मिति: २ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?