Trending
>>   विदेशी लगानी आकर्षित गर्न निजी क्षेत्रसँगको साझेदारी आवश्यक छ : मन्त्री भण्डारी >>   यो सरकारलाई उल्ट्याएर बन्ने सरकार हाम्रै हो, चिन्तित हुने कुरा छैन: प्रचण्ड >>   सरकार निराशालाई चिर्दै सकारात्मक सोचका साथ विकास निर्माणका तल्लीन छ : शङ्कर पोखरेल >>   काठमाडौंमा माओवादी र एकीकृत समाजवादीबीच चुनावी तालमेल >>   सरकारले मुलुकलाई समृद्धितर्फ अघि बढाएको छ : सञ्चारमन्त्री गुरुङ >>   भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने >>   करको सदुपयोग राष्ट्र समृद्धिको आधार : अर्थमन्त्री पौडेल >>   उपनिर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता >>   ‘कार्वन व्यापारलाई थप प्रभावकारी बनाउनु आवश्यक छ’ >>   पहाडी भू-भागका एक-दूई स्थानमा वर्षा र तराईका भू-भागमा बाक्लो हुस्सु/कुहिरो लाग्ने
Logo
१ मंसिर २०८१, शनिबार
१ मंसिर २०८१, शनिबार

भूकम्प जोखिममा रहेका संरचनालाई प्रवलीकरण गर्न सुरु


खजुरा,बाँके। पुराना र कमजोर संरचनालाई भूकम्पको जोखिमबाट न्यूनीकरण गर्नका लागि नेपालगञ्जमा प्रवलीकरण (रेट्रोफिटिङ) सुरु भएको छ । नेपालगञ्जमा भूकम्पको अतिजोखिममा रहेका संरचनालाई प्रवलीकरण गर्नका लागि स्थानीयस्तरमा सचेतना प्रवर्द्धन गर्न थालिएको हो ।

धेरै पुराना र कमजोर संरचनालाई भूकम्प प्रतिरोधी बनाउन पुनःमर्मत गरी जोखिम न्यूनीकरण गर्ने उद्देश्यले प्रवलीकरणका लागि सचेतना अभिवृद्धि गर्ने काम थालिएको जिल्ला विपत् व्यवस्थापन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए ।

यहाँका अधिकांश पुराना संरचना भूकम्पको जोखिममा रहेको प्राविधिक अध्ययनले देखाएपछि ती संरचनालाई भूकम्पको जोखिमबाट जोगाउन स्थानीयलाई अभिप्रेरित गर्न थालिएको उनको भनाइ थियो भने ज्ञवालीका अनुसार नेपालगञ्जको वडा नं ३ स्थित इस्लामिक चिल्ड्रेन स्कूललाई नमुनाका रुपमा प्रवलीकरण गरिएको छ ।

“पुराना संरचना भूकम्पको उच्च जोखिममा छन्, ती संरचनालाई भूकम्प प्रतिरोधी बनाउने उद्देश्यले प्रवलीकरण (रेट्रोफिटिङ) गर्न सकिन्छ भन्ने सन्देश समुदायस्तरमा प्रवाह गर्न नमुनाका रुपमा इस्लामिक स्कुललाई छनोट गरेका हौँ”, सिभिल इञ्जिनियर नरेश निदालले भने, “पुराना संरचना भत्काएर नयाँ बनाउन नसक्ने अवस्थामा रेट्रोफिटिङ गर्न सकिन्छ । जसले गर्दा भूकम्पको जोखिमलाई धेरै हदसम्म कम गर्दछ ।”

नेपालगञ्जमा जोखिममा रहेका घरको संरचनात्मक लेखाजोखा गरी त्यसको प्रतिवेदनका आधारमा प्रवलीकरण गर्न सकिने सूचना व्यवस्थापन अधिकृत ज्ञवालीलले बताए । उनका अनुसार विसं २०७२ अघि नेपालगञ्जमा निर्माण भएका अधिकांश संरचना भूकम्प प्रतिरोधी नभएको प्राविधिक अध्ययनले देखाएको छ ।

पहिला बनेका घर नक्सापास, जाँचपासलगायतका प्राविधिक मापदण्ड पूरा नगरी निर्माण गरिएकाले भूकम्पको जोखिम बढेको नेपालगञ्ज उपमहानगरपालिकाका इञ्जिनियर निमेष शर्माले बताए । उनले विसं २०७२ देखि उपमहागनरले घरलगायतका संरचना निर्माण गर्दा अनिवार्यरुपमा नक्सापास गराई भूकम्प प्रतिरोधी बनाउनुपर्ने प्रावधान रहेको बताए ।

विद्यालयका पुराना संरचनालाई प्रवलीकरणले विद्यार्थी र अभिभावकमा रहेको भूकम्पको डर र त्रास हट्ने इस्लामिक चिल्ड्रेन विद्यालय व्यवस्थापन समितिका सदस्य मक्सुद अहमदले बताए । पुराना संरचनाले विद्यालय बढी जोखिममा रहेकाले पश्चिम क्षेत्रमा गएको भूकम्पपछि विद्यार्थी र अभिभावकमा डर र त्रास सृजना भएको उनको भनाइ थियो । उनका अनुसार स्कुलमा कक्षा आठसम्म अनाथ बालबालिकालाई निःशुल्क अध्ययपन गराइन्छ ।

नेपालगञ्ज उपमहानगरसँगको सहकार्यमा सुपर परियोजनाले भूकम्प प्रतिरोधी संरचना निर्माण, पुराना संरचना प्रवलीकरण, आवास बीमा, विपद् प्रतिकार्यका लागि दक्ष जनशक्ति उत्पादन, सचेतना प्रवर्धन लगायतका काम गरिरहेको सूचना व्यवस्थापन अधिकृत ज्ञवालीले जानकारी दिए । उनका अनुसार उपमहानगरभित्र वडा नं ३ र ७ लाई मुख्य कार्य क्षेत्र बनाइएको छ ।

युरोपियन युनियनको सहयोग तथा युएनडिपी, युनिसेफ र युएनओमनको साझेदारी तथा सिडिएम र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा उपमहानगरमा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) ले भूकम्पीय जोखिम न्यूनीकरणका लागि डेढ वर्षदेखि विपद्पूर्व तयारी र प्रतिकार्यका लागि काम गरिरहेको छ ।


प्रकाशित मिति: २ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?