Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

तुलसीपुर उपमहानगरको जग्गा खोजी


तुलसीपुर उपमहानगरपालिकाले आफ्नो नाममा रहेको जग्गा खोजी गरेको छ । केही समयअघि सूचना प्रकाशन गरेर आफ्नो नाममा भएको जग्गामा बनेका घर हटाउने जानकारी गराइएको र त्यसका लागि जग्गाको विस्तृत विवरण तयार गर्न अध्ययन गरिएको उपमहानगरपालिकाका प्रवक्ता माधव वलीले बताउनुभयो । “हामीले जग्गा खोजी गर्न अध्ययन पूरा गरेका छौँ”,उहाँले भन्नुभयो, “अबको केही समयमा प्रतिवेदन आउछ, त्यो प्रतिवेदन आएपछि जग्गा व्यवस्थापनको काम हुन्छ ।” प्रवक्ता वलीले उपमहानगरको नामको जग्गामा बनेका घरलाई तीन किसिमले विभाजन गरेर काम अघि बढाउने बताउनुभयो ।

कोही जानाजान बसेको, केहीले २०५३ सालमा जग्गा बेचेको र केही जग्गा उपमहानगरपालिकाको भएको भन्ने थाहा नभएर बसेको पाइएको उहाँको भनाइ थियो । “तत्कालीन अवस्थामा नगरपालिकाले आफ्नो जग्गामा तारबार गरे पनि केही जग्गामा तारबार गर्न छुटेछ”,प्रवक्ता वलीले भन्नुभयो, “तारबार गरेकोभन्दा बाहिरको जग्गा ऐलानी होला भन्ने ठानेर घर बनाएका पनि पाइयो, यस विषयमा भने हामी सामाजिक न्यायका आधारमा काम गर्छौंँ ।” जानाजान उपमहानगरपालिकाको जग्गामा बनेका घरलाई भने हटाउने नै तयारी रहेको भए पनि अञ्जानमा बसेकालाई भने सामाजिक न्यायका आधारमा प्रक्रिया अघि बढाउने उहाँको भनाइ थियो। विसं २०५३ मा तत्कालीन नगरपालिकालाई पाँच बिघा जग्गा बेच्न अनुमति दिइएकामा साँढे दुई बिघा जग्गा मात्रै बिक्री भएको र बाँकी साँढेदुई बिघा जग्गा पनि विक्री गरिने प्रवक्ता वलीले बताउनुभयो । उपमहानगरपालिकाको कित्ता नं ५(घ) ८१२ मा केही जग्गा अतिक्रमण परेको थियो । त्यो जग्गामा बनेका घर भने घरधनीले आफै हटाउन थालेका छन् । उपमहानगरपालिकाका पाँच वटा कित्तामा जग्गा छन् । तीमध्ये तुलसीपुर बसपार्कको उत्तरतर्फ आलुमण्डी आसपासको कित्ता नं ५(ख) ५४४ मा एक बिघा १० कठ्ठा १४ धुर जग्गा छ । त्यस्तै कित्ता नं ५(ख) कै ५४५ मा ३४ कठ्ठा, ५(ख) ५४६ मा ११ कठ्ठा र ५(ख)४९९३ मा ५३ हजार पाँच सय ६५ वर्गमिटर जग्गा रहेको छ ।

तीमध्ये अधिकांश जग्गा अतिक्रमणमा परेको छ । उपमहानगरपालिकाले कात्तिक ३ गते नै जग्गा खाली गरिदिन भन्दै ३५ दिने सूचना जारी गरेकामा म्याद सकिसक्दा पनि चासो नदिएको भन्दै आमनागरिकले नगरपालिकाको ध्यानाकर्षण गराइरहेका थिए । आफूहरु पनि यही कार्यमा नियमित लागिरहेको नगरप्रमुख टीकाराम खड्काले बताउँदै आउनुभएको छ । उहाँलेले जग्गा अतिक्रमण गर्नेमध्ये वास्तविक सुकुम्वासी भए भने निश्चित ठाउँमा व्यवस्थापन गरिने जानकारी दिनुभयो । केहीले २०५६ सम्म उपमहानगरपालिकालाई भाडा तिर्ने गरेकामा पछिल्लो समय भाडा पनि नतिरेको पाइएको प्रमुख खड्काले बताउनुभयो । सूचना प्रकाशन भएपछि केही व्यक्ति कार्यालयमा आएर केही भाडा छुट छुट गराउन माग गर्दै भाडा तिर्ने प्रतिबद्धता जनाएका थिए।


प्रकाशित मिति: २५ फाल्गुन २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?