Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गर्ने महिला आरोही सम्मानित


अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गर्ने महिला आरोहीलाई सम्मान गरिएको छ । नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा सगरमाथा आरोही सङ्घ र नेपाल पर्वतारोहण सङ्घले संयुक्त रुपमा सगरमाथालगायत हिमाल आरोहण गर्ने ३५ महिला आरोहीलाई सम्मान गरेको हो । सम्मानित हुनेमा सन् २०१८ मा सबैभन्दा छिटो सगरमाथा आरोहण गरेर विश्वकीर्तिमान कायम गर्ने फुङ्जु लामासहित सगरमाथा आरोही नायिका निशा अधिकारी, नेत्री विना मगरलगायत हुनुहुन्छ । सम्मानित महिला आरोहीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले कदरपत्रद्वारा सम्मान गर्नुभयो । सो अवसरमा राज्यमन्त्री ठकुरीले समाजमा महिलाले कुनै पनि क्षेत्रमा साहसिक योगदान गर्न सक्छन् भन्ने दरिलो उदाहरण पेस गरेको उल्लेख गर्नुभयो । यस किसिमको कार्यक्रमले दिवसको औपचारिकता मनाउने मात्र नभई महिलाहरुको साहसिक क्षमता र प्रतिभाको उजागरमा समेत मद्दत पुग्ने उहाँको भनाइ थियो । राज्यमन्त्री ठकुरीले समाजको संस्कारसँग लड्न सगरमाथा आरोहणभन्दा पनि कठिन रहेको उल्लेख गर्दै यो कार्यक्रमको माध्यमबाट महिला कुनै पनि क्षेत्रमा कमजोर छैनन् भन्ने सन्देश दिएको विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “आज सम्मानित हुने कीर्तिमानी महिलालाई सगरमाथा आरोहण गर्न बरु सजिलो लाग्यो होला तर यो समाजको संस्कारसँग लड्न गाह्रो हुन्छ । किनकि अझै पनि समाजबाट निस्केर अघि बढ्न महिलालाई कठिनाइ छ ।” पितृसतात्मक सोचबाट महिलाहरु बिस्तारै माथि उठ्दै गए पनि समाजमा अझै पनि महिला अधिकार र पहिचानमा पछि परिरहेको उहाँले उल्लेख गर्नुभयो । राज्यमन्त्री ठकुरीले मुलुकको आर्थिक समृद्धिको आधारका रुपमा रहेको पर्यटन क्षेत्रको विकास प्रवर्द्धनका लागि नीतिगत सुधार जरुरी रहेको बताउनुभयो । उहाँले नेपालको पर्वतारोहणमा महिला आरोहीको महत्वपूर्ण भूमिका रहेको भन्दै कीर्तिमानी महिला आरोहीलाई प्रोत्साहन गर्न मन्त्रालयले छुट्टै युनिट बनाएर पहलकदमी लिने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल पर्वतारोहण सङ्घका प्रमुख सल्लाहकार आङ्छिरिङ शेर्पाले पर्वतारोहण संवेदनशील विषय भएकाले सम्पूर्ण आरोहीको सामाजिक सुरक्षाका लागि कल्याणकारी कोषको व्यवस्था हुनुपर्ने बताउनुभयो । उहाँले महिला आरोही तथा साहसिक आरोहणको क्षेत्रको आकर्षण र प्रोत्साहनका लागि राज्यले नीतिगत व्यवस्था गर्नुपर्नेमा पनि जोड दिनुभयो । नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमानुरु शेर्पाले मुलुकको पर्वतीय पर्यटन विकासमा महिला आरोहीको उल्लेख्य भूमिका रहेको भन्दै उनीहरुको सम्मान र प्रोत्साहनमा राज्यले ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो ।

उहाँले नीतिगत व्यवस्था गरेर आरोहणका लागि नखुलेका पिकहरु क्रमशः खुलाएर जानुपर्ने धारणा राख्नुभयो । ट्रेकिङ एजेन्सी एसासिएसन अफ नेपाल (टान) का अध्यक्ष नीलहरि बास्तोलाले पर्वतीय पर्यटनमा महत्वपूर्ण योगदान गर्ने महिला आरोहीको प्रोत्साहन र उनीहरुको सामाजिक सुरक्षालाई सुनिश्चित गर्न सम्बन्धित निकायले पहल गर्नुपर्ने बताउनुभयो । सगरमाथा आरोही सङ्घका अध्यक्ष माया शेर्पाले सरकारले पर्वतारोहणमा खटाउने सम्पर्क अधिकृतको कोटामा करिब ५० प्रतिशत आरोही सङ्घको प्रतिनिधित्व गराइदिन राज्यमन्त्रीमार्फत माग गर्नुभयो । अहिले सम्पर्क अधिकृतका रुपमा सङ्घबाट पाँचजनाको मात्रै प्रतिनिधित्व हुने गरेको उहाँको भनाइ छ । नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य नवाङ निमा शेर्पाले महिला आरोहीको प्रोत्साहनका लागि नीतिगत व्यवस्था गरिनुपर्ने बताउनुभयो ।


प्रकाशित मिति: २४ फाल्गुन २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?