Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१६ चैत्र २०८२, सोमबार
१६ चैत्र २०८२, सोमबार

सदन प्रक्रियामुखी नभई कार्यमुखी र परिणाममुखी हुनुपर्छ : नेत्री श्रेष्ठ


२२ ,कात्तिक ,काठमाडौँ । जनता समाजवादी पार्टी नेपालकी नेत्री सुशीला श्रेष्ठ लोकतन्त्रमा सरकार तथा सदनका कामकारबाही प्रक्रियामुखी नभई कार्यमुखी र परिणाममुखी हुनुपर्नेमा दृढ मान्यता राख्छिन् ।

सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेटमाथि लामो कर्मकाण्डी बहस–छलफल भए पनि त्यसमा समावेश गर्न दिइएका सुझाव र संशोधन नसमेटिएकामा उनि तीव्र असन्तुष्टि व्यक्त गर्छिन् ।

सांसद श्रेष्ठ भन्छिन्, “दैनिक रु १० लाख खर्च गरी बजेटमाथि महिनौँ छलफल गरियो । त्यसमा आएका सकारात्मक सुझाव समेट्नुपथ्र्याे । सरकारले जे ल्यायो, बैठकमा हुन्छ र हुन्न भन्ने आधारमा अल्पमत, बहुमत र सहमतिका नाममा पास भएको देखेँ । त्यो व्यावहारिक लागेन ।”

यस्तो ढाँचा, ढर्रा र औपचारिकताले देशले गति नलिने उल्लेख गर्दै उहाँले परिणाम नदिने झन्झटिलो प्रक्रियालाई तत्कालै सच्याएर जानुपर्ने सुझाव दिईन् ।

राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रबीच भ्रष्टाचार र अनियमितताका लागि नभई जनतालाई सुलभरूपमा दिनुपर्ने सेवा–सुविधाबारे गम्भीर समीक्षा हुनुपर्नेमा जोड दिँदै सांसद श्रेष्ठले देश र जनहितमा राष्ट्रिय सहमतिका लागि बनाइने कार्ययोजना, नीति र विधिका विषयमा संसद् र दलका बैठकमा गहन छलफल र मन्थनको आवश्यकता औल्याईन् ।

पार्टीले सदनमा गई नीति–निर्माणमा सहभागी हुन आफूलाई पहिलो मौका प्रदान गरेकामा गौरव महसुस गर्दै उनले संसद्मा बजेट तर्जुमा तथा राष्ट्रिय गतिविधिलाई नीतिगतरूपले व्यवस्थित र व्यावहारिकरूपले परिमार्जन गर्ने सोचाइबाट आफू आए पनि कार्यान्वयनको पाटो फितलो भएकामा दुःख व्यक्त गरिन् ।

मुलुकमा भ्रष्टाचार बढ्नुमा नेता स्वयं नीतिगत भ्रष्टाचारमा संलग्न हुने तथा आफूअनुकूलको कानुन बनाउने घटनाले पुष्टि गरेको उल्लेख गर्दै उनले प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट निर्वाचित सदस्य सुुन, ललिता निवास र नक्कली भुटानी शरणार्थी प्रकरण प्रतिनिधिमूलक नमूना घटनाका रूपमा रहेको प्रतिक्रिया दिईन् ।

मुलुकमा राजनीतिक परिवर्तनका लागि सहयात्रा गरेका राजनीतिक दल र नेताले आफ्ना स्वार्थका लागि जस्तोसुकै विषयमा सम्झौता गर्ने प्रवृत्ति अन्त्य गर्न आवश्यक रहेको सांसद श्रेष्ठको भनाइ छ । राजनीतिक घटनाक्रमले आदर्श र सिद्धान्तभन्दा नेताहरूले पार्टी, गुट र परिवारवादलाई महत्त्व दिएको देखिएको उनले आरोप लगाईन् ।

विसं २०२८/२९ मा नयाँ शिक्षा विरोधी विद्यार्थी आन्दोलनमा सहभागी भई राजनीतिक यात्रा प्रारम्भ गर्नुभएकी सांसद श्रेष्ठसँग स्ववियु कोषाध्यक्ष, क्रान्तिकारी महिला सङ्घको सदस्य, भूमिगत जीवन र अनेमसङ्घका केन्द्रीय सदस्य भई काम गरेको अनुभव छ ।

नेकपा (माले) उदयपुर जिल्ला सचिव, अनेमसङ्घ उपाध्यक्ष, माले केन्द्रीय कमिटी सदस्य, हाल सङ्घीय समाजवादी पार्टी नेपालको राजनीतिक समिति सदस्य भई काम गर्नुभएकी उहाँ हाल जसपा बागमती प्रदेश इन्चार्ज पनि हुन् ।

सांसद श्रेष्ठले भनिन्, “देशमा महँगी र बेरोजगारी चुलिएको छ, आम्दानीको स्रोत छैन, मुलुकको ठूलो श्रमशक्ति युवा–विद्यार्थी विदेश पलायन भइरहेका छन् । जलस्रोतको धनी भनिए पनि कतिपय गाउँमा खानेपानी अभावमा तड्पिनुपर्ने परिस्थिति छ । यस्तो बेला परिवर्तनका सहयात्रीबीच आरोप–प्रत्यारोप नभई देश विकासको साझा एजेन्डा आउनुपथ्र्याे, तर त्यो खै ?”

महिलाले अंश पाउनुपर्छ र वंशज कायम हुनुपर्छ भन्ने मागको सहज कार्यान्वयनमा अझै चुनौती रहेको उल्लेख गर्दै सांसद श्रेष्ठले बनेका कानुन कार्यान्वयनमा राज्यका संयन्त्र जागरुक हुनुपर्ने देखिन्छ भनिन् ।

सम्पत्तिभन्दा मान, सम्मान, इज्जत र प्रतिष्ठा महत्त्वपूर्ण विषय भएको भन्दै नेत्री श्रेष्ठले भनिन्, “पैसाभन्दा समाजमा सम्मान कमाउन निकै कठिन छ, जेल र भूमिगत जीवन बिताएका पाका नेतासमेतले विगतको आफ्नो योगदान बिर्सिएर लोभ गर्नुभयो भने सबैले विरोध गर्नुपर्छ ।”

सदनलाई व्यवस्थित र मर्यादित बनाउने सांसदको नै दायित्व भएकाले कमी–कमजोरीलाई सुधार गरेर अघि बढ्न प्रतिनिधिसभा, पूर्वाधार विकास समिति सदस्य सांसद श्रेष्ठले सबैलाई सुझाईन् ।

पछिल्ला चुनावमा उम्मेदवारबाट भएको खर्चको स्थितिले कहालीलाग्दो अवस्था देखाउने उल्लेख गर्दै उनले जसपा कार्यकारी समिति सदस्यले यसमा सुधार नगर्ने हो भने आर्थिक अवस्था कमजोर हुने तथा भ्रष्टाचार नगर्नेहरू केही समयमै राजनीतिक क्षेत्रबाट बाहिरिने ठोकुवा गरिन् ।

पार्टी सङ्गठन कमजोर र हारिने क्षेत्रमा महिलालाई उम्मेदवार बनाउने प्रवृत्ति सच्याउन आवश्यक रहेको सांसद श्रेष्ठको भनाइ छ । उनले भनिन्, “निर्वाचन प्रणाली पूर्ण समानुपातिक र समावेशी बनाउनुपर्छ । यसबाट भ्रष्टाचार रोकिन्छ कि जस्तो लाग्छ, अहिले समानुपातिकमा पुरुषको भाग खोसिएको छ ।”

उनका अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत कुनै निर्वाचन क्षेत्रमा आलोपालो चलाएर महिलाको स्थान सुरक्षित गर्न सकिन्छ ।

एक प्रसङ्गमा सांसद श्रेष्ठले नागरिकता प्रमाणपत्र दिइँदा आमाको नाम भएको स्थानमा बेठिक चिह्न लगाइएकामा त्यसविरुद्ध मुद्दा हाल्नुपर्ने अवस्था आउनसक्ने चेतावनी दिईन् ।

हाम्रा संस्कार, संस्कृति, सद्भाव र मेलमिलापको भावनाको संरक्षण गर्न आवश्यक रहेको उल्लेख गर्दै नेत्री श्रेष्ठले युवा र विद्यार्थीलाई विदेश पलायनका लागि रोक्ने शिक्षा पनि दिनुपर्नेमा जोड दिईन् ।


प्रकाशित मिति: २२ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?