Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना


४ ,कात्तिक ,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँले सबैखाले विकृति, विसङ्गति अन्त्य गर्दै सामाजिक सद्भाव, एकता, मेलमिलाप र भ्रातृत्वको अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।

बडादसैँको उपलक्ष्यमा दिएको शुभकामना सन्देशमा उनले यस पर्वले सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको आर्थिक समृद्धि प्राप्त गर्ने सामथ्र्य प्रदान गरोस् भनी कामना गरेका छन् ।

उनले भनेका छन्, “यो पर्व सत्यको विजय र असुरी चरित्रको पराजय, दुराचारमाथि सदाचारको जीत, आपसी सद्भाव, भ्रातृत्व र पुनर्मिलनको प्रतीक पनि हो ।”

राष्ट्रपति पौडेलले मुलुकमा परम्परागतरूपमा हर्षोल्लासपूर्वक मनाउने गरिएका यस्ता चाडपर्वले भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीच रहेको हाम्रो मौलिकतालाई थप सुदृढ गर्नुका साथै सांस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न पनि थप योगदान गरिरहेको बताए ।

बडादसैँमा मान्यजनप्रति श्रद्धा र सम्मान स्वतःस्फूर्त अभिव्यक्त हुने प्रचलनले पनि यसको महत्व उजागर गरिरहेको बताउँदै उनले दसैँलगायका महान् चाडपर्वको संरक्षण एवं संवर्द्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्ने विचार प्रकट गरेका छन् ।

राष्ट्रपति पौडेलले सन्देशमा भनेका छन्, “नेपालीहरूको महान् चाड बडादसैँ २०८० को शुभअवसरमा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

शक्तिको प्रतीकका रूपमा मनाइने बडादसैँ असोजको शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी सोही दिनदेखि निरन्तर शक्तिरूपी नवदुर्गा भवानीको पूजा आराधना गर्दै दशमीका दिन भवानीको प्रसादस्वरूप मान्यजनको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्न तथा पूर्णिमासम्म विशेषरूपमा मनाइँदै आएको प्रसङ्ग पनि उनले सन्देशमा उल्लेख गरेका छन् ।

राष्ट्रपति पौडेलले विजयादशमीको दिन दुर्गा भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको धार्मिक तथा ऐतिहासिक कथन रहेको तथा बडादसैँको उपलक्ष्यमा पारिवारिक जमघट एवं पुनर्मिलन भई खुुसीयाली र हार्दिकता साटासाट गरी मनाउने प्रचलन रहिआएको विषयसमेत जानकारी गराएका छन् ।

उनले सन्देशमा भनेका छन्, “बडादसैँ २०८० ले हामी सबैमा नयाँ उत्साह, उमङ्ग, असल कामलाई हौसला प्रदान गर्न र सकारात्मक ऊर्जा थप्न दुर्गा भवानीले आर्शीवाद दिउन् भन्ने शुभकामना प्रकट गर्दछु ।”


प्रकाशित मिति: ४ कार्तिक २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?