Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

पहिरोले आदिबराहताल बगरमा परिणत


२७ भदौ, पर्वत। पर्वतको जलजला गाउँपालिका–२ को पूर्णगाउँमा रहेको आदिबराहताल पहिराका कारण बगरमा परिणत भएको छ । जलजला गाउँपालिका–५ कुवापानीको पहाडबाट झरेको पहिराले ताल पुरिएको हो । समुद्री सतहदेखि एक हजार नौ सय ५० मिटरको उचाइमा अवस्थित आदिबराहताल तीन रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको छ ।

अङ्ग्रेजी अक्षरको ‘सी’ आकारको तालको सौन्दर्य र विशेषता ऐतिहासिक रहेको छ । करिब तीन मिटर गहिरो यस तालको पृष्ठभूमिमा धवलागिरि, नीलगिरि र अन्नपूर्ण हिमाल रहेको थियो । तालमात्र नभई त्यसमा रहेको बराह मन्दिरसमेत जोखिमा परेको छ ।

स्थानीय बासिन्दाका अनुसार नीलो तालको बीचमा बयसको रुखसँगै रहेको बराहको मन्दिर साह्रै नै मनमोहक देखिन्थ्यो । स्थानीय थलबहादुर घर्ती क्षेत्रीका अनुसार, “यो बराह मन्दिर रहेको ताल प्राकृतिक हो । यो मन्दिर स्थापनाको इतिहास खोज्दै जाँदा १२औँ शताब्दीसम्म पुगिन्छ । यहाँका घर्ती, क्षेत्रीले इष्टदेवका रूपमा बराह देवताको पूजा गर्दै आएको भए पनि सबै जातजातिले बराह देवताप्रति विश्वास र आस्था राखेर पूजा गर्दछन् । बराह देवता रहेको तालमा टाढा–टाढाबाट सेता जलहाँस उड्दै आएर पौडी खेलेको देख्न पाइन्थ्यो ।”

कुवापानी पहाडबाट गत साउन ६ गतेदेखि लगातार पहिरो बग्दै आएर बाढी पसेपछि ताल कमेरो माटोसहितको लेदोले भरिएको छ । सुन्दर ताल अहिले उराठलाग्दो बगर बनेको स्थानीय नवीन जिसीले जानकारी दिनुभयो । प्रत्येक वर्ष जनैपूर्णिमामा आदिबराहताल मन्दिरमा भव्य पूजासहित मेला लाग्ने गर्दछ । मेला हेर्न र बराह देवताको पूजा गर्नका लागि हजारौँ भक्तजन तथा सर्वसाधारणको घुइँचो लाग्ने गर्दथ्यो । गत भदौ १४ गतेको जनैपूर्णिमाका दिन मन्दिर वरपर रहेको केही मात्रामा हिलो पन्छाएर पूजा गरिएको जिसीले बताए ।

स्थानीय टेकबहादुर घर्ती क्षेत्रीको अध्यक्षतामा ताल संरक्षण समिति गठन गरिएको छ । समितिका अध्यक्ष घर्तीका अनुसार बजेट अभावमा तालभित्रको कमेरो लेदोमाटो हटाउन र तालसम्म पुग्ने कच्ची बाटो मर्मत गर्न सकिएको छैन । गाउँपालिकासँग यसका लागि बजेट नभएकाले प्रदेश सरकारसँग ताल संरक्षणका लागि तत्काल रु ५० लाख माग प्रस्ताव गरेको अध्यक्ष घर्तीले बताए । रकम प्राप्त भएपछि मात्र ताल संरक्षणको काम सुरु गर्न सकिने अध्यक्ष घर्तीको भनाइ छ ।

तालसँगै रहेको घर्ती क्षेत्रीहरूको बराह मन्दिर गत वर्षमात्रै तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको थियो । पछिल्लो समय ताल संरक्षणका लागि विभिन्न काम गरिएको भए पनि पहिराले सबै ध्वस्त बनाएको अध्यक्ष घर्तीले बताउनुभयो । छिमेकी जिल्ला म्याग्दीको सदरमुकाम बेनीबाट मल्लाज हुँदै करिब दुई घण्टा उकालो हिँडेपछि बराहताल पुग्न सकिन्छ । अहिले मोटरबाटोको समेत सुविधा पुगेको थियो ।

तालबाट पर्वत, म्याग्दी र बागलुङको विभिन्न बस्तीको अवलोकन गर्न सकिन्छ । हिमालको छायाँ पर्दा ताल निकै आकर्षक र मनमोहक देखिन्थ्यो । यहाँ पूजाआजा र भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ । घर्ती क्षेत्रीको कूलपूजासमेत यही तालको नजिकैमा रहेको मन्दिरमा गरिने भएकाले पनि यहाँ सन्तान लाभ, रोजगारी, व्यापार, व्यवसायमा सफलताका लागि कामना गर्न त्यहाँ जाने गरेको स्थानीय युवा नवीन जिसीले बताए ।

“छेउमै रहेको ढुङ्गेधारामा पानी सुक्दैन, यहाँका बासिन्दाले यही पानी खाने गर्छन्”, उनले भने, “तालको बीचमा रहेको मन्दिर र बरको रुखले समेत यो ताललाई आकर्षक बनाएको छ । बराहताल अन्नपूर्ण धवलागिरि सामुदायिक पदमार्गअन्तर्गत पर्दछ ।

जलजला गाउँपालिकाको सबैभन्दा ठूलो बराहताल कहिल्यै सुक्दैन । तालको बीच भागमा अवस्थित बयसको रुख यहाँको अर्को आकर्षण हो । सोही रुखको फेदीमा रहेको जलबराह देवताको मूर्तिमा पूजाआजा गरिन्छ । ताल संरक्षण र प्रवर्द्धनका लागि पछिल्लो समय स्थानीय र प्रदेश सरकारले चासो देखाएका बेला पहिराले पुरिएर समस्या परेको स्थानीय लालबहादुर अधिकारीले बताए ।

कुवापानीको पहाड नै चर्किएर झरेको पहिराले सात घर विस्थापित बनेका छन् भने यो तालसहित ८५ रोपनी क्षेत्रफलमा फैलिएको खेतीयोग्य खेतबारीसमेत बगरमा परिणत भएको छ । पहिराको केही दिनअघि खानी तथा भूगर्भ विभागको टोलीले अध्ययन गरेर फर्किएको छ । तर प्रतिवेदन आउन भने बाँकी छ ।


प्रकाशित मिति: २७ भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?