Trending
>>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

तनहुँमा २९ करोडको सुन्तला उत्पादन, अधिकांश सुन्तला जिल्ला बाहिर निर्यात


२० श्रावण, तनहुँ । तनहुँमा एक वर्षको अवधिमा रु २९ करोडको सुन्तला उत्पादन भएको छ । जिल्लामा उत्पादित अधिकांश सुन्तला जिल्ला बाहिर निर्यात भएको छ ।

आर्थिक वर्ष २०७९÷८० मा जिल्लामा नौ हजार छ सय ४५ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । उक्त सुन्तला बिक्री गरेर कृषकले रु २९ करोड आम्दानी गरेको ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए । उक्त आवमा एक हजार छ सय दश हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको थियो ।

आव २०७८÷७९ मा नौ हजार पाँच सय दश मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । त्यस वर्ष एक हजार चार सय ८० हेक्टरमा सुन्तला खेती गरिएको थियो । त्यस्तै आव २०७७÷७८ मा रु २६ करोड ५० लाख बराबरको सुन्तला उत्पादन भएको थियो । त्यसवर्ष एक हजार चार सय ६० हेक्टर क्षेत्रफलबाट नौ हजार तीन सय १० मेट्रिक टन सुन्तला उत्पादन भएको कार्यालयको तथ्याङ्क छ ।

तिवारीले भने, “प्रत्येक वर्ष जिल्लामा सुन्तला उत्पादन बढेको छ । सुन्तला खेतीबाट मनग्य आम्दानी हुन थालेपछि कृषक यसतर्फ आकर्षित हुँदै गएका छन् ।” जिल्लाका आठ हजार पाँच सय ७० हेक्टर क्षेत्रफलमा सुन्तला खेती विस्तारको सम्भावना रहेको छ । कार्यालयले सुन्तला खेती कृषकलाई बगैँचा व्यवस्थापनमा सहयोग गर्दै आएको छ । उनले भने, “कृषकलाई सुन्तला बगैँचामै पुगेर पनि आवश्यक परामर्श दिइरहेका छौँ ।”

तिवारीका अनुसार देवघाट गाउँपालिका–२ र ३, आँबुखैरेनी गाउँपालिका–५, म्याग्दे गाउँपालिका–४, व्यास नगरपालिका–७, १३ र १४, भिमाद नगरपालिका–८ र ९, बन्दीपुर गाउँपालिका–३, ऋषिङ गाउँपालिका–३ र घिरिङ गाउँपालिकामा सुन्तला खेती विस्तारको सम्भावना छ । तनहुँमा उत्पादित अधिकांश सुन्तला काठमाडौँका व्यापारीले लैजाने गरेका छन् । सुन्तला खरिदका लागि व्यापारी बगैँचासम्म पुग्ने गरेका छन् । काठमाडौँका अलवा पोखरा, नारायणगढलगायतका ठाउँमा यहाँको सुन्तला बिक्री हुने गरेको छ । यसका साथै जिल्लाकै दमौली, दुलेगौडा, खैरेनीटार, भिमादलगायतका ठाउँमा समेत यहाँको सुन्तला बिक्री हुने गरेको किसान बताउँछन् ।

ज्ञान केन्द्रले चालु आव २०८०÷८१ मा सुन्तला खेतीमा सहयोग गर्न रु एक करोड बजेट विनियोजन गरेको छ । कार्यालयले कृषकलाई बगैँचा व्यवस्थापनका लागि उक्त रकम सहयोग गर्ने जनाएको छ । केन्द्र प्रमुख तिवारीले भने, “भानु नगरपालिकाको रुपाकोटबाहेक सबै पालिकामा सुन्तला उत्पादन राम्रो भएको छ ।”

जिल्लाका स्थानीय तहले पनि सुन्तला खेती गर्ने कृषकलाई सहयोग गर्दै आएको छ । बन्दीपुर गाउँपालिकाले सुन्तला खेतीलाई प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गरेपछि यहाँ सुन्तला उत्पादनमा वृद्धि भएको छ । कुनै समयमा बन्दीपुरमा सुन्तला उत्पादन अत्यधिक हुने गर्दथ्यो । केही वर्षअघि सुन्तलामा लाग्ने भाइरसका कारण बिरुवा मर्दै जान थालेपछि सुन्तला उत्पादनमा ह्रास आएको थियो । केही वर्षयता पुनः बन्दीपुरमा सुन्तला उत्पादनमा वृद्धि हुन थालेको छ ।

केही वर्षयता गाउँपालिकालगायतका विभिन्न निकायबाट सुन्तला पकेट क्षेत्र घोषणा गरी विभिन्न कार्यक्रममार्फत उक्त भाइरसको निदान गरी सुन्तला जोगाउन थालिएको छ । बन्दीपुर–३ स्थित रामकोट, तामुङडाँडा, वडा नम्बर ५ को झारगाउँ, फलामडाँडा र वडा नम्बर ६ को काफलस्वाँरा, लखनबारी, घमलछाप, आँङटारीलगायत ठाउँ सुन्तला खेतीको पकेट क्षेत्र हुन् ।

बर्सेनि व्यावसायिकरूपमा उत्पादन हुँदै आएको सुन्तला गत वर्षभन्दा २५ प्रतिशतले वृद्धि भएको छ । यस वर्ष बन्दीपुरमा मात्रै एक सय ५० मेट्रिक टन सुन्तला उत्पादन भएको छ । काफलस्वाँरा कृषक समूहबाट मात्रै करिब छ सय क्विन्टल सुन्तला उत्पादन भएको समूहका अध्यक्ष धनराज गुरुङले जानकारी दिए ।

बन्दीपुर मध्यपहाडी क्षेत्रमा पर्ने हुँदा यो क्षेत्र सुन्तला उत्पादनका लागि उत्तम ठाउँ मानिएको छ । यहाँको हावापानी र माटो सुन्तला खेतीका लागि उपयुक्त रहेको गुरुङले बताए । उनले भने, “केही वर्ष पहिले बोटमा किरा लाग्यो, उपचार पाएनन् त्यसले गर्दा उत्पादनमा कमी आयो, तर अहिले त्यो समस्या छैन, मौसमले पनि साथ दियो ।” उहाँका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष २५ प्रतिशतले बढी उत्पादन भएको छ ।


प्रकाशित मिति: २० श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?