Trending
>>   आचारसंहिता उल्लङ्घन गर्ने मिडियामाथि निगरानीः कारबाहीका लागि प्रेस काउन्सिललाई पत्राचार >>   पत्रकारको सहज आवागमनका लागि प्रदेशस्तरीय प्रेस पासलाई पनि मान्यता दिने आयोगको तयारी >>   मतदानकै दिन साँझदेखि मतगणना शुरु हुनेः नतिजा छिटो सार्वजनिक गर्ने आयोगको लक्ष्य >>   उज्यालो नेपाल पार्टीले शनिवार खुला मञ्चमा उज्यालो प्रतिवद्धता सभा गर्ने >>   सामाजिक सञ्जालमा भिड्ने काम नगरौँ, मुलुकमा घृणा फैल्याउँछः गगनकुमार थापा >>   पुराना राजनीतिक दलहरुले दलीय संरचनालाई भ्रातृ संगठनका नाममा राज्य दोहनको ‘मेसिन’ बनाए: डा. स्वर्णिम वाग्ले >>   आसन्न निर्वाचनमा एमाले मुलुकको निर्णायक शक्तिको रुपमा उदाउनुपर्छः ईश्वर पोखरेल >>   मतदानका दिन सवारी साधन नियमनः कसलाई पास चाहिन्छ, कसलाई चाहिँदैन ? >>   पाँच वर्षको लागि राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमत दिनुस : रवि लामिछाने >>   निर्वाचनको सरगर्मीः सुनसान सिंहदरबार
Logo
१५ फाल्गुन २०८२, शुक्रबार
१५ फाल्गुन २०८२, शुक्रबार

वाल्मीकि आश्रम जान पुल बन्यो, बाटो बनेन


१५ ,श्रावण ,त्रिवेणी । धार्मिकस्थल वाल्मीकि आश्रम जाने गरी पुल निर्माण गरिए पनि बाटो निर्माण हुन सकेको छैन । गत वर्ष मात्रै नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६ त्रिवेणीस्थित नारायणी नदीमा झोलुङ्गे पुल निर्माण गरिएको थियो ।

नेपालको भूभाग हुँदै वाल्मीकि आश्रम जाने बाटो नभएपछि त्रिवेणीमा विकल्पका रुपमा पुल निर्माण गरिएको थियो । नौ वर्ष लगाएर करिब एक वर्षअघि चार सय ७९ मिटर लम्बाइको झोलुङ्गे पुल निर्माण गरिएपनि बाटो नबन्दा अहिले पनि भारतीय भूभाग हुँदै वाल्मीकि आश्रम पुग्नुपर्ने बाध्यता कायमै रहेको छ ।

वाल्मीकि आश्रम चितवनको माडी नगरपालिका–१, अन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्दछ । नेपालकै भूभाग हुँदै यहाँ पुग्ने बाटो छैन । नवलपुरको त्रिवेणी धामबाट भारतीय भूभाग वाल्मीकि नगरको बाटो प्रयोग गरि वाल्मीकि आश्रम पुग्न सकिन्छ ।

भारतीय बाटो हुँदै जाँदा समस्या भएपछि त्रिवेणीमा झोलुङ्गे पुल निर्माण गरिएको थियो । पुल निर्माण गरेपनि पुल तरेपछिको चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाटो अझै बन्न सकेको छैन । वाल्मीकि आश्रम पुग्न त्रिवेणीधामबाट पुल तरेपछि चितवनतर्फ करिब १६ सय मिटर बाटो निर्माण गर्नुपर्ने अवस्था रहेको छ तर पुल निर्माण भएको एक वर्ष बित्दासमेत बाटो निर्माणको काम अघि बढ्न सकेको छैन ।

पुल निर्माणसँगै चितवनतर्फको भूभागमा ट्रयाक निर्माणको पहल भइरहेको त्रिवेणी गजेन्द्रमोक्षधाम क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपिन्दे्रश्वर भुसालले बताउनुभयो । गण्डकी प्रदेश सरकारले चालु आवमा वाल्मीकि आश्रम पुग्ने ट्रयाक खोल्नका लागि रु १५ लाख विनियोजन गरेको उनले बताए । “पुल बनेर पनि भारतीय बाटोबाटै वाल्मीकि आश्रम जानुपर्ने बाध्यता कायमै रहेको छ, चितवन खण्डमा ट्रयाक खोल्ने काम नहुँदा यस्तो भएको हो”, उनले भने, “अब ट्रयाक खोल्ने गरी बजेट सुनिश्चित भएको छ, चाँडै काम अघि बढ्छ ।”

ट्रयाक खोल्ने कामसँगै सुरक्षार्थ नेपाली सेनाको जाँच पोष्टसमेत निर्माण हुने जनाइएको छ । निकुञ्ज क्षेत्र पर्ने भएकाले पुलको छेउमा चेकपोष्ट निर्माण गरिने कार्यकारी निर्देशक भुसालले बताउनुभयो । ट्रयाक खोलेपछि नेपालकै बाटो हुँदै सहजरुपमा वाल्मीकि आश्रम जान सकिने उहाँले बताउनुभयो । यसले वाल्मीकि आश्रमसहित त्रिवेणी धाम क्षेत्रमा समेत धार्मिक पर्यटकको आगमन बढ्ने कार्यकारी निर्देशक भुसालले बताए ।

वाल्मीकि आश्रम पुग्ने बाटो निर्माणसँगै यस क्षेत्रको विकासमा समेत काम गर्न आवश्यक रहेको उनले बताए । भूगोलले बागमती प्रदेशमा पर्ने र पहुँचले गण्डकी प्रदेशबाट सहज रहेको वाल्मीकि आश्रमको विकासमा बागमती प्रदेशले खासै चासो दिन सकेको छैन । जिल्लाको विनयी त्रिवेणी गाउँपालिकाले यसको संरक्षण गर्दै आएको छ ।


प्रकाशित मिति: १५ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?