१३ ,श्रावण ,चितवन । नारायणगढ-मुग्लिन सडक खण्ड पुनः अवरुद्ध भएको छ । यस सडकखण्डको कालीखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान ७ बजे इच्छाकामना गाउँपालिका–६ कालीखोलामा पहिरो खसेपछि आवगमन अवरुद्ध भएको हो ।
जसका कारण सो सडक भएर गुड्ने सवारी साधन र यात्रु अलपत्र परेका छन् । पहिरो पन्छाउने काम भइरहेको प्रहरीको भनाइ छ ।
आज बिहान १ बजे सोही स्थानमा खसेको पहिरो पन्छाएर ३ बजेदेखि सडक सञ्चालनमा ल्याइएको थियो । पहिरोका कारण यस सडकखण्ड पटक–पटक अवरुद्ध हुँदै आएको छ ।
प्रकाशित मिति: १३ श्रावण २०८०, शनिबार