Trending
>>   मिसन –८४ मा पार्टीलाई निर्णायक शक्तिका रूपमा स्थापित गर्छौं : शङ्कर पोखरेल >>   ‘देश र जनताका लागि व्यक्तिगत स्वार्थ त्याग्नु पर्छ’ >>   आज देखि २० दिन राति ११ बजेदेखि चार घण्टा पृथ्वीराजमार्ग बन्द हुने >>   आज मिति २०८१ साल मङ्सिर ०३ गते सोमबार,हेर्नुहोस आजको राशिफल >>   टेलिकमको अवरुद्ध सेवा सञ्चालन >>   खानेपानीका पाइप फुटेका ठाउँमा जडान गर्न मन्त्री यादवको निर्देशन >>   भारतद्वारा हाइपरसोनिक मिसाइल प्रक्षेपण >>   मनपरी हवाई भाडा वृद्धि गरी यात्रुलाई ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्छौं : मन्त्री पाण्डे >>   दुर्गा प्रसाईकाे नयाँ महाअभियान ‘फस्ट नेपाल,फस्ट नेपाली’ >>   सञ्चालनमा ल्याएको तीन महिना नबित्दै अनिश्चितकालका लागि धरहरा बन्द !
Logo
३ मंसिर २०८१, सोमबार
३ मंसिर २०८१, सोमबार

भरतपुर भ्रमण वर्ष : ७७ देशमा रहेका चितवनवासीलाई निमन्त्रणा


१३ ,श्रावण ,चितवन । भरतपुर भ्रमण, २०२४ का अवसरमा ७७ देशमा रहेका चितवनवासीलाई निमन्त्रणा गरिने भएको छ । भ्रमण वर्ष सफल बनाउन विभिन्न देशमा बसोबास गर्ने चितवनवासी र उनीहरुका विदेशी आफन्तलाई निमन्त्रणा गर्न लागिएको हो ।

भ्रमण वर्ष, २०२४ अन्तर्राष्ट्रिय समन्वय समितिका संयोजक सोम सापकोटाका अनुसार हालसम्म ५२ देशका चितवनवासीसँग प्रतिनिधिमूलक रुपमा सम्पर्क भइसकेको छ । गैरआवासीय नेपाली सङ्घका प्रवक्ता एवं पर्यटन प्रवद्र्धन समितिका संयोजकसमेत रहनुभएका सापकोटाले अन्तर्राष्ट्रिय क्षेत्रमा समन्वयको काम गरिरहेका छन् । यसका लागि ‘साथीलाई घर पठाऔँ (सेन्ड होम अ फ्रेण्ड)’ नारा दिएर अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार सुरु गरिएको छ ।

सापकोटाका अनुसार विभिन्न देशमा नेपालीले सञ्चालन गरेका होटल, रेष्टुराँ, ग्रोसरीलगायतमा ‘भिजिट भरतपुर’ को ब्रोसर, पोष्टरलगायतका सामग्री राखिँदै छ । ती देशमा स्थानीय प्रतिनिधिसँग समन्वय गरी भ्रमणको निम्तो दिइँदै छ । विश्वभर रहेका चितवनवासीकाबीचमा समन्वय गरेर सन् २०२४ मा परिवारसहित आफ्नो घर फर्किन र सँगै काम गर्ने एवं चिनजान भएका त्यहाँका साथीभाइलाई यहाँ ल्याउन आग्रह गरिएको छ ।

सापकोटाले माल्टा, जापान र बेलायतका स्थानीय सरकारका प्रमुखलाई निमन्त्रण गरिसकिएको छ । अन्य देशमा निम्तो गर्ने क्रममा रहेको उनले जानकारी दिए । नेपाल सरकार र पर्यटन बोर्डले विदेशमा आयोजना गर्ने कार्यक्रममा भरतपुर भ्रमणको प्रचारसमेत गर्ने कार्यक्रम राखिएको छ । चितवनवासी भएका देशमा राजदूतावासमा निम्ता दिनका लागि छोटा भिडियो, फोटोमार्फत प्रचार गरिँदै छ ।

विश्वका ७७ देशमा चितवनवासी भएको भन्दै उहाँले हालसम्म ५२ देशका चितवनवासीसँग सम्पर्क गरिएको र बाँकी देशमा सम्पर्कको क्रममा रहेको बताए । यकिन तथ्याङ्क नभए पनि पाँच लाख हाराहारी चितवनवासी विदेशका विभिन्न देशमा रहेको अनुमान छ । भ्रमण वर्षको अवसरमा दुई लाखभन्दा बढी विदेशीलाई चितवन भित्र्याउने लक्ष्य लिइएको छ ।

सापकोटाका अनुसार गैरआवासीय नेपाली सङ्घको ९० देशमा समिति छ । विश्वका एक सय १८ देशमा नेपाली रहेको उनको भनाइ छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भ्रमण २०२४ लाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरसम्म प्रचारप्रसार गरी विशेषरुपमा मनाउने बताए । छिमेकी देश भारत र चीनसँगै अन्य देशमा समेत व्यापकरुपमा प्रचारप्रसार गरी चितवन पर्यटक भित्र्याउने उनको भनाइ छ ।

विभिन्न समितिमार्फत् काम अघि बढिरहेको उनको भनाइ छ । भ्रमण वर्षको अवसरमा सङ्घीय सरकारको मन्त्रिपरिषद्को बैठक भरतपुरमा बस्न अनुरोधसमेत गर्न लागिएको उनले जानकारी दिए । देशकै मध्यभागमा रहेको पर्यटकीय दृष्टिले महत्वपूर्ण भरतपुरलाई ‘घुमौँ भरतपुर’ नाराका साथ भ्रमण वर्ष मनाउन लागिएको हो । भ्रमण वर्षमा दुई लाख विदेशी र सात लाख स्वदेशी पर्यटक भित्र्याउन लागिएको उनको भनाइ छ ।

नेपाल र विदेशमा फरक–फरक समिति बनाएर काम अघि बढाइएको दाहालले जानकारी दिए । भ्रमण वर्षअघि नै भौतिक पूर्वाधारलगायतका काम यथाशीघ्र सम्पन्न गर्ने योजनाका साथ काम अघि बढाइएको छ । भरतपुर महानगरलाई हरियाली बनाउन महानगरले बजेट विनियोजन गरी छिट्टै काम अघि बढाउँदै छ । महानगरभित्र ३० भन्दा बढी महत्वपूर्ण पर्यटकीय गन्तव्य रहेको भन्दै उनले ती गन्तव्यको प्रचारप्रसार गरी पर्यटकलाई घुमाइने बताए । महानगरपालिकासँगै चितवन राष्ट्रिय निकुञ्ज जोडिएको छ । जुन विश्वमा परिचित छ । भरतपुर भ्रमण वर्षले भरतपुर मात्रै नभएर सिङ्गो चितवनको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने दाहालको विश्वास छ ।


प्रकाशित मिति: १३ श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?