Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२६ माघ २०८२, सोमबार
२६ माघ २०८२, सोमबार

भ्रष्टाचारका मुद्दामा मुछिएका दोषी र अपराधीलाई छोड्ने काम हुँदैन : गृहमन्त्री श्रेष्ठ


८ ,श्रावण ,काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानून सबैका लागि समान भएकाले भ्रष्टचारको मुद्दामा मुछिएका दोषी तथा अपराधीहरूलाई कुनै पनि हालतमा नछोडिने बताएका छन् ।

पुष्पलालको ४६ औँ स्मृति दिवसका अवसरमा पुष्पलाल मित्रता केन्द्रले आज काठमाडौँमा आयोजना गरेको ‘समाजवादी यात्राको चुनौती : भ्रष्टाचार र दण्डहीनता’ विषयक प्रवचन गोष्ठीमा उनले तत्थ्य र प्रमाणले भेटेसम्म भ्रष्टचारको मुद्दामा मुछिएका दोषी तथा अपराधीहरू जो सुकै व्यक्ति भए पनि कानूनी कारबाही गरिने बताए । उनले भने, “निर्दोष फस्ने काम नहोस्, दोषी र अपराधीलाई छाड्ने काम हुन्न, तथ्य र प्रमाणले भेटेसम्म भ्रष्टचारको मुद्दामा मुछिएका जुनसुकै ओहदाका व्यक्ति तथा पार्टीका भए पनि कारबाही हुन्छ ।”

उनले राजनीतिमा रहेकालाई एउटा कानून र सर्वसाधारण नागरिकका लागि अर्को कानून नभएको भन्दै कानून सबैका लागि बराबर भएकाले दोषीलाई कारबाही भएरै छाड्ने आश्वासन दिए । दोषी र अपराधी नछुट्ने गरी अनुसन्धान प्रक्रिया अगाडि बढिरहेकाले भ्रष्टाचारी हुन् की होइनन्, दोषी हुन् की होइनन् भन्ने विषयमा निष्पक्ष छानबिन गरेर दोषीलाई कानूनी दायमा ल्याउन आफूले निर्देशन दिएको उनको भनाइ थियो । उनले भने, “भ्रष्टाचारमा मुछिएका ठूलाबडा भनिएकाहरूलाई कारबाही नगरे के गरिब, निमुखाहरूलाई कारबाही गर्नु त ? भ्रष्टाचार गर्नेलाई कारबाही हुन्छ ।”

समाजवादमा गएपछि पनि भ्रष्टाचार स्वतः अन्त्य नहुने भन्दै उहाँले कमिशनतन्त्र र भ्रष्टाचारको जालोले राजनीतिलाई जबर्जस्तरूपमा गाँजेको भनाइ राखे । गृहमन्त्री श्रेष्ठले नयाँ प्रकारको लोकतन्त्र स्थापित गर्न नसक्दा जनतामा निराशा र विकर्षण रहेको स्वीकार गर्दै आर्थिक सामाजिक रूपान्तरणको प्रक्रिया धेरै धिमा र मन्द गतिमा सीमित रहेको धारणा राखे । उनले भने, “भ्रष्टाचारको साङ्लोमा राजनीति बेरिएकाले त्यसलाई भत्काएर राजनीतिलाई सफा नगरी देश बदल्न सकिँदैन ।”

समाजवादको आजको मोडल र ढाँचाबारे बहसकै रूपमा रहेको र समाजवाद निर्माणको बाटो के हो भन्ने पनि बहसकै रूपमा रहेको मन्त्री श्रेष्ठको भनाइ थियो । कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का कार्यवाहक अध्यक्ष राजेन्द्र पाण्डेले भ्रष्टाचार समाजवादका लागि मात्रै नभएर सिङ्गो लोकतन्त्रको चुनौतीका रूपमा रहेको बताए ।

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले देशबाट भ्रष्टाचार पूर्णरूपमा नियन्त्रण गर्न हरेक पार्टी भित्रैबाट भ्रष्टाचार विरोधी अभियान शुरु गर्नुपर्ने बताए ।समाजवादको यात्रालाई ठिक ढङ्गले अघि बढाउन पनि हरेकले आफ्नो पार्टी स्वयंलाई भ्रष्टाचार विरोधी बनाउन सक्नुपर्ने उनको भनाइ थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले भ्रष्टाचार विरोधी लडाइँमा आफ्नो पार्टीले सडकबाट जनतालाई एकीकृत गरेर सरकारलाई साथ दिइरहेको बताए । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले सरकारले भ्रष्टाचार काण्डका दोषीहरूलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्ने बताए । उनले नक्कली भुटानी शरणार्थी र सुन तस्करी प्रकरणमा संलग्न भ्रष्टहरूलाई कडा कारबाही गर्न सरकारलाई सचेत गराए ।


प्रकाशित मिति: ८ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?