Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

कक्षा ६ का विद्यार्थीको दिवा खाजा कटौती


७ श्रावण, काठमाडाैँ । सरकारले सामुदायिक विद्यालयका विद्यार्थीलाई खुवाइरहेको दिवा खाजाका लागि रकम अपुग भएको छ ।

बजेट भाषणमा प्रारम्भिक बाल विकासदेखि कक्षा ६ सम्मका विद्यार्थीलाई दिवा खाजा दिने घोषणा गरिएको छ । तर अर्थ मन्त्रालयले रकम कक्षा ५ सम्मका विद्यार्थीलाई मात्रै खाजा खान पुग्ने गरी छुट्याएकाले यस्तो अवस्था आएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत दिवा खाजाका लागि आठ अर्ब ४५ करोड रुपियाँ छुट्याएको छ । मन्त्रालयको नीति तथा कार्यक्रम शाखाका उपसचिव घनश्याम अर्यालका अनुसार सोही रकम स्थानीय तहमा पठाइएको छ । तर यो रकमले कक्षा ५ सम्मका विद्यार्थीलाई मात्रै दिवा खाजा खान पुग्छ । कक्षा ६ का विद्यार्थीलाई पनि खाजा खुवाउने हो भने थप एक अर्ब रुपैयाँ चाहिन्छ ।

गत वर्ष पनि सरकारले बजेट भाषणमार्फत नै कक्षा ६ का विद्यार्थीलाई पनि दिवा खाजा दिने घोषणा गरेको थियो । तर अर्थ मन्त्रालयले कक्षा ५ सम्मका विद्यार्थीका लागि मात्रै रकम उपलब्ध गराएको थियो । कक्षा ६ का विद्यार्थीका लागि थप चाहिने एक अर्ब १५ करोड रुपैयाँ पनि अर्थ मन्त्रालयबाट अझै नआएको उपसचिव अर्यालले जानकारी दिए ।

उक्त रकम मन्त्रालयले सोधभर्ना गरेर विद्यालयलाई पठाएको छ । अर्थ मन्त्रालयका उपसचिव धु्रव पण्डेले गत वर्ष लक्ष्य अनुसार राजस्व सङ्कलन नभएको र खर्च कटौती गर्नुपर्ने अवस्था आएका कारण शिक्षा मन्त्रालयले मागे अनुसारको रकम उपलब्ध गराउन नसकिएको बताए ।

“बजेट भाषण गर्दा राजस्व सङ्कलनमा सुधार होला र दिवा खाजाको रकम पनि थप्दै जाऔँला भन्ने योजना अर्थ मन्त्रालयको थियो । तर राजस्व सङ्कलन लक्ष्य अनुसार नभएपछि शिक्षालाई थप रकम दिन सकेनौँ,” उनले भने, “यस हिसाबले हेर्दा कक्षा ६ का विद्यार्थीलाई गत वर्ष नै रकम दिन नसकेका कारण चालु वर्षको बजेट भाषणमा आएको ‘दिवा खाजा कार्यक्रमलाई गत वर्षकै निरन्तरता’ भनेको कक्षा ५ सम्मलाई मात्रै हो कि कक्षा ६ लाई पनि हो भन्ने विषय स्पष्ट भएको छैन ।”

यस पटक पनि बजेटमा एकथरि घोषणा गर्ने तर व्यवहारमा अर्कै गर्ने प्रवृत्तिका कारण समस्या आएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका योजना महाशाखाका सहसचिव डा. हरिप्रसाद लम्सालका अनुसार दिवा खाजा कार्यक्रमको लागि अपुग रकम उपलब्ध गराइदिन अर्थ मन्त्रालयमा पत्राचार गरिएको छ ।

“स्थानीय तहले आफूले पाएको रकमबाट कक्षा ६ सम्मकै विद्यार्थीलाई खाजा खुवाइरहेका छन् । फेरि सरकारले बजेटमा पनि यो कुरा उल्लेख गरेको छ,” उनले भने, “अहिले आएर कक्षा ६ का विद्यार्थीलाई खाजा खुवाउन सकिँदैन भन्न मिल्दैन । अर्थ मन्त्रालयको जवाफ प्राप्त भएपछि थप छलफल गर्नु पर्छ ।”

सरकारले आर्थिक वर्ष २०७८/७९ सम्म कक्षा ५ सम्मका विद्यार्थीलाई मात्रै दिवा खाजा उपलब्ध गराएको थियो । यस कार्यक्रमलाई विस्तार गर्ने भन्दै आर्थिक वर्ष २०७९/८० देखि भने कक्षा ६ का विद्यार्थीलाई पनि खाजा खुवाउने घोषणा गरेको थियो । तर सोही वर्षको बजेट भाषणमा दिवा खाजाको रकम भने कक्षा ५ सम्मका विद्यार्थीलाई मात्रै पुग्ने गरी छुट्याएको थियो ।

बजेटमार्फत गरिएको घोषणा अनुसार रकम उपलब्ध गराइदिन मन्त्रालयले यसअघि पनि पटक पटक अर्थ मन्त्रालयलाई पत्राचार गरे पनि रकम प्राप्त भएको छैन । दिवा खाजा कार्यक्रम अनुसार हरेक विद्यार्थीलाई वर्षमा दुई हजार सात सय उपलब्ध गराइन्छ । यो भनेको दैनिक १५ रुपियाँको दरले १८० दिनलाई दिइएको दिवा खाजा हो ।

 


प्रकाशित मिति: ७ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?