Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

प्रवासी नेपालीले मनाए भानु जयन्ती


७ ,श्रावण ,कोलकाता (भारत) । भारतको कोलकातामा आदिकवि भानुभक्त आचार्यको दुई सय १०औँ जन्मजयन्तीका अवसरमा यहाँका नेपालीभाषीले शनिबार विशेष कार्यक्रम आयोजना गरेका छन् ।

नेपाली जनकल्याण समितिको आयोजनामा पश्चिम बङ्गालको हावडास्थित सरत सदनमा भएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई प्रमुख अतिथि र पश्चिम बङ्गाल सरकारका सहकारीमन्त्री अरुप राय विशेष अतिथिका रूपमा उपस्थित थिए । कुलपति राईले आफूले सानो हुँदा कथाका रूपमा सुनेको कोलकातामा भानुभक्तको यस प्रकारको महत्त्व र गतिविधि देखेर खुसी लागेको बताए ।

उनले प्रज्ञा प्रतिष्ठानले आगामी दिनमा यस्ता कार्यक्रममा सहकार्य विस्तार गरी नेपाली रहेका स्थानमा नेपालको साहित्यप्रतिको रुचिबारे समाजशास्त्रीय अध्ययनमा ध्यान दिने जनाए । प्रदेश मन्त्री रायले भानुभक्तका नाममा हावडामा सडकमार्ग नामकरणको निर्णय भइसकेको र भानुभक्तको प्रतिमा निर्माणका लागि पनि सघाउन तयार रहेकोे जानकारी दिए ।

भानुभक्तको तस्बिरमा श्रद्धाञ्जलि दिएर सुरु भएको कार्यक्रममा प्राज्ञ परिषद् सदस्य डा मधुसुदन गिरी नेपाली महावाणिज्य दूतावासका उपमहावाणिज्यदूत कर्णप्रसाद तिमल्सिना, जनकल्याण समितिका प्रमुख सल्लाहकार धर्मराज बराल, प्राध्यापक डा सत्यप्रकाश तिवारी, प्रवासी नेपाली सङ्घ भारतका अध्यक्ष नारायणप्रसाद होमागाईँलगायतले आदिकविको व्यक्तित्व र कृतित्व देश–विदेशमा रहेका नेपालीमाझ फैलिएको र आदिकविका कारण नेपालीबीच साहित्यिक एकताको मार्ग बनेको उल्लेख गरेका थिए ।

सो अवसरमा साहित्यका योगदानका लागि कुलपति राईलाई समितिले अभिनन्दन गरेको थियोे भने समितिको प्रकाशन ‘बिहानी’को २४औँ अङ्कको विमोचन गरिएको थियोे । कविहरु धर्मराज बराल, मोहनकुमार सिंह, सञ्जीव गुरुङ, रामबहादुर कार्कीलगायतले भानुभक्तको रामायणसहित आफ्ना रचना वाचन गरेका थिए ।

पछिल्लो समयमा बरालले नेपाली र कोलकाताका साहित्यकारबीच सेतुको कार्य गर्दै आएका छन्। समितिका सभापति बद्रीविक्रम थापाले लामो समयदेखि यहाँ विभिन्न सेवा र व्यवसाय गर्दै आएका नेपालीभाषीहरूको सहयोग र समन्वय भानुभक्त जयन्ती र अन्य मानवीय सहयोगका कार्यक्रम हुँदै आएको जानकारी दिए ।

राष्ट्रिय विभूति भानुभक्तको जन्मदिन हरेक असार २९ गते परे पनि साताव्यापी जयन्ती मनाइन्छ । शनिबार रातिसम्म चलेको कार्यक्रममा युवा र विद्यार्थीहरूले नेपाली र हिन्दी गीतमा मनमोहक सांस्कृतिक नृत्य र प्रस्तुति गरेका थिए ।


प्रकाशित मिति: ७ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?