Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

पशुपतिबाट वैदिक मन्त्रोच्चारणसहित सूचनाको हकका लागि समुदाय जागरण


६ श्रावण, काठमाडाैँ । पशुपति क्षेत्रबाट वैदिक मन्त्रोच्चारणसहित सूचनाको हकका लागि समुदाय जागरणको दोस्रो हप्ताको कार्यक्रम गरिएको छ । सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ जिल्ला कार्य समिति काठमाडौँको आयोजनामा काठमाडौँ महानगरपालिका–७ स्थित चाबहिल चोकबाट सुरु भएको जागरण यात्राको आरम्भमा वैदिक पण्डितले मन्त्रोच्चारण गरी कार्यक्रम आरम्भ भएको हो ।

जागरण यात्रा चन्द्रविनायक मन्दिर, मित्रपार्क, सिफल, जयवागेश्वरी, भुवनेश्वरी हुँदै वनकालीमा आएर सम्पन्न भएको थियो । कार्यक्रममा पशुपति मित्र माध्यमिक विद्यालय, स्थानीय क्लब एवं सङ्घ संस्थालगायत स्थानीयवासी र जनप्रतिनिधि सहभागी थिए । ‘सूचना मागौँ, भ्रष्टाचारको अन्त्य गरौँ’ भन्ने मूल नाराका साथ सुरु भएको प्रभात फेरीमा ‘सूचना किन माग्ने ?’, ‘सूचना कहाँ माग्ने ?’, ‘कस्ता सूचना माग्ने ?’, ‘सूचना कसरी माग्ने ?’, ‘कस्लाई माग्ने ?’, ‘सूचना नदिनेलाई के हुन्छ ?’ लगायत नारा लेखिएको पर्चा वितरण गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय सूचना आयोगका आयुक्त कमला ओली थापाले स्वीडेनमा सूचनाको हक लागू भएको दुई सय ३५ वर्षपछि नेपालमा सूचनाको हक कार्यान्वयनको बाल चरणमा रहेको बताइन् । अनियमितताका विरुद्ध सामाजिक सञ्जालमा लेखेरमात्र नहुने उल्लेख गर्दै उनले त्यसका बारेमा सूचना माग गरेर पारदर्शिता कायम गराउन सकिने बताइन् ।

“सूचना नपाएर आयोगमा पुनरावेदन गर्नेलाई सूचना दिन आदेश गर्ने गरिएको छ, आयोग दिनुपर्ने सूचना दिलाउन कठोर भएर लागेको छ, सूचना नदिनेलाई कारबाही हुन्छ”, आयुक्त थापाले भनिन् ।

पशुपति क्षेत्र विकास कोषका सूचना अधिकारी गौरीशङ्कर पराजुलीले सुशासनका लागि सूचनाको हक आवश्यक रहेकामा जोड दिए । कोषमा सूचना माग गर्नेलाई समयमै दिने गरिएको उल्लेख गर्दै उनले कानुनमा तोकिएको समय अलि कम भएको हो कि ? भन्ने लागेको बताए ।

काठमाडौँ महानगरपालिका–७ का अध्यक्ष विमलकुमार होडाले वडामा प्रत्येक महिना भए गरेका कामको सूचना विवरण बनाएर सार्वजनिक गर्ने परिपाटी बसालिएको जानकारी दिए । समुदाय जागरण यात्रामा वडा नं ८ का अध्यक्ष आशामान संगतको पनि सहभागिता रहेको थियो । कार्यक्रममा महासङ्घका केन्द्रीय अध्यक्ष उमिद बागचन्द र काठमाडौँ उपत्यकाका अध्यक्ष तारबहादुर भण्डारीले सूचनाको हक नागरिकस्तरसम्म अभ्यासमा लैजान समुदाय जागरण अभियान सुरु गरिएको बताए । गत असार ३० गते विश्वसम्पदा सूचीमा सूचिकृत बौद्धनाथ क्षेत्रबाट अभियान सुरु भएको थियो ।


प्रकाशित मिति: ६ श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?