Trending
>>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश >>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य >>   महाशिवरात्रिका लागि पशुपतिमा तयारी पूरा, ट्राफिक व्यवस्थापन कडा >>   सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख >>   निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको कडा निर्देशन >>   विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव >>   ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’-एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र >>   अब दुई कार्यदिनमै राहदानी उपलब्ध हुने
Logo
२ फाल्गुन २०८२, शनिबार
२ फाल्गुन २०८२, शनिबार

सीमावर्ती भारतीय बजारमा किनमेल गर्न जाने प्रवृत्ति निरुत्साहित


५ ,श्रावण ,झापा । मेची भन्सार कार्यालय काँकडभिट्टाले रु एक सयभन्दा बढी मूल्यको सामान भारतबाट ल्याउँदा भन्सार शुल्क लिन थालेपछि सीमावर्ती भारतीय बजारमा घरायसी सामान किन्न जाने निरुत्साहित भएका छन् ।

पूर्वीनाकामा परिचालन गरिएका भन्सार कर्मचारी, सशस्त्र प्रहरी र नेपाल प्रहरीले भारतबाट किनमेल गरेर फर्केकालाई भन्सार शुल्क तिराउन नाकामै जाँचमा कडाइ गर्न थालेका छन् । भन्सार र सुरक्षाकर्मीको कडाइपछि सीमावर्ती नेपाली बजारमा चहलपहल बढेको छ ।

भन्सार विभागको निर्देशनअनुसार यो नियम कडाइका साथ लागू गरिएको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताए । “साउन १ गतेदेखि नै हामीले यो नियम लागू गरिसकेका छौँ”, उनले नयाँ नियमबारे जानकारी दिँदै भने, “देशभरका सीमा नाकामा यो नियम लागू भएको हो । कसैले जबरजस्ती भन्सार नतिरी लैजान खोजे सामान जफत हुनेछ ।”

सीमावर्ती भारतीय बजार पानी ट्याङ्की, नक्सलबाडी र सिलिगुढीबाट किनमेल गरेर आउनेले यसअघि काँकडभिट्टा नाकाबाट भन्सार शुल्क नतिरी घरायसी सामान भित्र्याउँदै आएका थिए । भन्सारको कडाइपछि सीमावर्ती भारतीय बजारमा किनमेल गर्न जाने निरुत्साहित भएका छन् । स्थानीयवासी चिनी, तेल, दाल, सागसब्जी, लत्ताकपडालगायत घरायसी वस्तुको किनमेल गर्न भारतीय बजार धाउँदा झापाका काँकडभिट्टा, धुलाबारी जस्ता सीमाका ठूला बजार सुनसान बन्ने गरेका थिए । अब यी बजारमा चहलपहल बढ्ने अपेक्षा गरिएको मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष खेम प्रसाई बताउछन् ।

भारतबाट किनमेल गरेर ल्याइएको रु एक सयभन्दा बढीको सामानमा शुल्क लगाउने भन्सारको नयाँ नीतिलाई मेची उद्योग वाणिज्य सङ्घको समर्थन रहेको र कार्यान्वयनका लागि आवश्यक सहयोग गर्न सङ्घ तयार रहेको अध्यक्ष प्रसाईले बताए । “बिहान बेलुकै नुन, तेल, भुटुन र सागसब्जी किन्न भारतीय बजार जाने प्रवृत्तिलाई निरुत्साहित गर्न जरुरी थियो”, उनले भने, “नेपालका बजारमा सामान बिक्री नभएर व्यवसायीले पलायन हुनुपर्ने अवस्था आइसक्यो । भन्सारको कडाइले स्थानीय बजारलाई पुरानै लयमा फर्काउन मद्दत पुग्ने अपेक्षा गरेका छौँ ।”

मेचीनगर नगरपालिकाले भन्सारको नयाँ नियमलाई सघाउने जनाएको छ । नगरपालिकाकी कार्यवाहक नगरप्रमुख मीना उप्रेतीले आज पत्रकार सम्मेलन गरी भारतबाट रु एक सयभन्दा बढीको सामान आयात गर्दा भन्सार शुल्क लगाउने नीति स्वागतयोग्य भएको बताए ।

उनले आयातित मालसामानमा आयातकर्ता र बजार वितरकको पूरा विवरणसहितको लेबल लगाउन भन्सारले अनिवार्य गरेको विषय पनि स्वागतयोग्य भएको बताए । “राज्यलाई कर छलेर सीमावर्ती भारतीय बजारलाई पोस्ने गतिविधि रोक्ने भन्सार नीतिलाई कडाइका साथ लागू गराउन नगरपालिकाको अनुगमन समितिले सहयोग गर्छ”, कार्यवाहक नगरप्रमुख उप्रेतीले भने, “आयातित सामानको गुणस्तरप्रति उपभोक्तालाई विश्वास दिलाउन र ब्रान्डको दुरूपयोग रोक्न आयातकर्ता र बजार वितरकको लेबल अनिवार्य लगाइनुपर्छ । यदि लेबल नलगाई सामान बेचेको भेटिएमा जफत गर्नेछौँ ।”

मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रेग्मीले आयातित मालसामानमा साउन १ गतेदेखि आयातकर्ता र बजार वितरकको लेबल लगाउन अनिवार्य गरिएको बताए । यदि कुनै आयातकर्ता र बजार वितरकले लेबल नटाँसी सामान बजारमा लगेको पाइएमा नेपाल सरकारका अनुगमनकारी कुनै पनि निकायले सामान तत्काल जफत गर्ने कानूनी व्यवस्था रहेको उनले बताए ।


प्रकाशित मिति: ५ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?