Trending
>>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

बाढीमा बेपत्तालाई मृतक सरह राहत उपलब्ध गराउन सिफारिस


२ ,श्रावण ,किमाथाङ्का । सङ्खुवासभामा गत असार २ गते राति अविरल वर्षापछि आएको बाढीमा बेपत्ता भएकालाई मृतक सरह राहत उपलब्ध गराउन सिफारिस गर्ने निर्णय गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले बाढीपहिरामा परेर बेपत्ता भएकालाई मृतक सरह राहत उपलब्ध गराउन गृह मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको हो । केही दिनअघि जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बाढीमा परी जिल्लाका विभिन्न स्थानका २० जना बेपत्ता भए भएका थिए । बेपत्ता खोजी कार्यका लागि प्रहरीले विभिन्न संयन्त्र अपनाएको थियो । बाढीमा पुरिएको वा बगाएको स्थानमा मेसिन तथा औजारको सहयोगमा खन्ने, खोज्ने र प्रहरीको तालिमप्राप्त कुकुर लगाएर खोजी गर्दा फेला पार्ने नसकेपछि समितिको बैठकले मृतक सरह राहत उपलब्ध गराउन सिफारिस गर्ने निर्णय गरेको हो ।

बेपत्ता भएका २० जनामध्ये एक जनाको एक महिनापछि शव फेला परेको प्रहरीले जनाएको छ । गत असार २ गतेदेखि हालसम्म निरन्तर रूपमा खोज तलास गर्दासमेत केही चिनोसमेत नभेटिएपछि अब मृतक सरह नै सरकारबाट राहत सुविधाका लागि अन्तिम नामावली गृह मन्त्रालय पठाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष कार्कीले बताए ।

लामो समय खोज तथा उद्धारको कार्यमा लागे पनि हालसम्म उनीहरूको अवस्था अज्ञात रहेकाले उनीहरूलाई मृतक सरह राहत उपलब्ध गराउनका लागि गृह मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरिएको प्रजिअ कार्कीको भनाइ छ । बाढीमा परी सुपर हेवाखोला हाइड्रोपावरका १६, अपरहेवाखोला जलविद्युत् आयोजनाका एक, अमर कन्स्ट्रक्सन (सडक निर्माण कम्पनी) का एक जना र पहिरोमा परी सभापोखरी–३ सुनाम्लामा दुई जना गरी हालसम्म २० बेपत्ता रहेका छन् ।

उनीहरूलाई अब मृतक सरह राहत उपलब्ध गराउन गृह मन्त्रालयमा सिफारिस गरिएको हो । बाढीपहिराले सङ्खुवासभामा २९ घर विस्थापित भएका छन् । तीमध्ये १४ घर पूर्ण क्षति र १५ घरमा आंशिक क्षति भएको छ । बाढीले भौतिक संरचना बगाउँदा करोडौँको क्षतिको भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

जिल्लाभर पुल, नहर गरी २८ वटा भौतिक क्षति भएका छन् भने ठूला आयोजनाअन्तर्गतका सडक, पक्की पुल र झोलुङ्गे पुल गरी १३ वटा क्षति भएको छ । हेवाखोलाको पक्की पुल बगाउँदा पाँचखपन र चैनपुरको आवतजावत नै बन्द भएको छ ।

जिल्लाभर सुपरहेवा हाइड्रोपावर, अपरहेवा हाइड्रोपावर, पिलुवाखोला हाइड्रोपावर, मायाखोला हाइड्रोपावर, रिभर फल्स हाइड्रो पावर, शुभम् पावर हाइड्रो, लङखुवा हाइड्रो पावर, अरुण तेस्रो अडिट–२ आम्राङलगायत १३ हाइड्रो पावरमा करोडौँ रूपैयाँ बराबरको क्षति भएको छ भने तीन वटा ठूला खानेपानी आयोजनामा क्षति पुगेको जिल्ला विपद् व्यवस्थापन समितिले उल्लेख गरेको छ ।


प्रकाशित मिति: २ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?