Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

देवघाटधाममा स्नान गर्नेको भीड


१ ,श्रावण ,भरतपुर । पवित्र धार्मिक एवं तीर्थस्थल देवघाटमा स्नान गर्ने भक्तजनको भीड लागेको छ । आज साउनको पहिलो दिन सोमबार परेकाले पनि बिहानैदेखि भक्तजनको भीड लागेको हो ।

कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटमा हरेक वर्षको साउने सङ्क्रान्तिमा बोलबम मेला लाग्ने गर्छ । भोलिदेखि मलमास सुरु हुने भएका कारण पनि आज पहिलो सोमबार भक्तजनको भीड लागेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले बताए । उनले मेलामा सुरक्षालगायतका व्यवस्थापनका काम गरिएको बताए ।

साउने सङ्क्रान्तिसँगै नेपालीको अधिकांश चाडपर्व सुरु हुने भएकाले पनि यसको महत्व रहेको छ । यो दिन सबेरै उठी स्नान गरी सूर्यलाई जल अर्पण गरी ब्राह्मण–पुरोहितबाट सङ्क्रान्तिफल सुन्ने चलन छ । गाउँघरमा साँझपख यो दिन लुतो फ्याँक्ने गरिन्छ । अमिला फल, कुरिलो, कुकुर डाइनो, भलायोलगायतका वनस्पति बिहानै घरमा ल्याएर राख्ने र साँझतिर अगुल्टोसहित लुतो फ्याँक्ने चलन छ ।

यसरी लुतो फ्याँक्नाले वर्षभरि रोगब्याधिबाट मुक्ति पाइने विश्वास छ । औँसी तिथि र सोमबार एकै दिन परेकाले आज सनातन धर्मावलम्बीले सोमबारे औँसीसमेत मनाउँछन् । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा हरेक वर्ष साउनको सोमबार मनाउँदै आइरहेको बोलबम मेलालाई यस वर्ष मलमासले प्रभावित पार्ने भएको छ । मलमासमा कुनै कामना राखेर गरिने धार्मिककार्यको फल प्राप्ति नहुने धार्मिक विश्वास रहेकाले यसपटक मेला प्रभावित हुने भएको हो ।

देवघाट क्षेत्र विकास समिति र देवघाटमा धार्मिक सङ्घसंस्थाले साउने सङ्क्रान्ति सोमबार परेकाले सङ्क्रान्तिको दिनबाहेक अन्य सोमबार खासै महत्व नभएको बताएका छन् । मलमास सुरु हुनुअगाडि असार र साउनको एक–एक सोमबार र मलमास सकिएपछि भदौको दुईवटा सोमबारमा दर्शन गर्न उत्तम हुने उनीहरूको सुझाव छ ।

महेश आश्रम देवघाटका अध्यापक सन्तोष गिरीले मलमासमा कामना राखेर गरिने फलको आशा निषेध गरिएकाले साउने सङ्क्रान्तिपछि साउन महिनाका चार सोमबारमा बोलबमका दर्शनार्थीका लागि उचित समय नभएको बताए । चितवन, तनहुँ र नवलपुरको सङगमस्थल देवघाटमा साउनको सोमबार हरेक वर्ष उत्सवका रूपमा बोलबम मेला लाग्ने गरेको छ ।

साउने सोमबार देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजाआराधना गरे मनोकामना पूरा हुने धार्मिक विश्वास छ । साउनको हरेक सोमबार निराहार व्रत बसी बिहान सबेरै स्नान गर्ने धार्मिक मान्यता छ । यस वर्ष साउनमा पाँच सोमबार परे पनि साउन २ गतेबाट मलमास सुरु हुँदैछ ।


प्रकाशित मिति: १ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?