Trending
>>   सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन मतपत्र ढुवानीको काम सम्पन्न >>   कामनपा वडा-१९, यटखा बहालमा फायर हाइड्रेन्ट पोइन्ट पाइपलाइनको उद्घाटन (तस्बिरसहित) >>   धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने >>   वागमती प्रादेशिक ललितकला प्रदर्शनी शुरु (तस्बिरसहित) >>   बैंक खाता खोल्ने काममा ढिलाई नगर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ताकेता >>   ‘संविधान कार्यान्वयन नगर्ने राजनीतिक दलहरूले चुनावी घोषणापत्र कसरी कार्यान्वयन गर्छन् ?’ >>   राष्ट्रिय सभा अध्यक्षद्वारा निर्माणाधीन संसद भवनको अवलोकन (तस्बिरहरु) >>   निर्वाचन नहुने संशय हट्योः अर्थमन्त्री >>   दलहरुको घोषणापत्रः आर्थिक एजेण्डा प्रमुख प्राथमिकतामा >>   हतियार नत्यागे ‘कडा कारबाही’ गर्ने हमासलाई ट्रम्पको चेतावनी
Logo
९ फाल्गुन २०८२, शनिबार
९ फाल्गुन २०८२, शनिबार

बोलबम मेलालाई मलमासले प्रभावित बनाउने


३१,असार ,भरतपुर । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा हरेक वर्ष साउनको सोमबार मनाउँदै आइरहेको बोलबम मेलालाई यस वर्ष मलमासले प्रभावित पार्ने भएको छ । मलमासमा कुनै कामना राखेर गरिने धार्मिककार्यको फल प्राप्ति नहुने धार्मिक विश्वास रहेकाले यसपटक मेला प्रभावित हुने भएको हो ।

देवघाट क्षेत्र विकास समिति र देवघाटमा धार्मिक सङ्घसंस्थाले साउने सङ्क्रान्ति सोमबार परेकाले सङ्क्रान्तिको दिनबाहेक अन्य सोमबार खासै दर्शनार्थी नआउने बताएका छन् । मलमास सुरु हुनुअगाडि असार र साउनको एक–एक सोमबार र मलमास सकिएपछि भदौको दुईवटा सोमबारमा दर्शन गर्न उत्तम हुने उनीहरूको सुझाव छ ।

गलेश्वर आश्रम देवघाटका स्वामी अद्वेतानन्द गिरीले आगामी साउन २ गतेबाट मलमास पर्ने भएकाले मलमास सकिएपछि मात्र बोलबमको दर्शन गर्न सकिने जानकारी दिए । उनले यस वर्ष साउने सङ्क्रान्तिपछिका सोमबार धार्मिकरूपले दर्शनार्थी कम आउने बताए । महेश आश्रम देवघाटका अध्यापक सन्तोष गिरीले मलमासमा कामना राखेर गरिने फलको आशा निषेध गरिएकाले साउने सङ्क्रान्तिपछि साउन महिनाका चार सोमबारमा बोलबमका दर्शनार्थीहरूका लागि उचित समय नभएको बताए ।

उनले भने, “युवाहरू घुम्न र भगवान्को दर्शन गर्न कुनै फलको आशा नगरी आउन सक्छन् तर मनोकामनापूर्वक गरिने दर्शन भने हुँदैन । नियमित कर्मको रूपमा भगवान्को दर्शन र गङ्गा स्नान गर्न सकिने भए पनि मनोकामनापूर्वक भने बोलबम मेला यसपटक लाग्दैन ।”

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले भोलि साउने सङ्क्रान्तिका दिन सोमबार परेकाले त्यस दिनका लागि आवश्यक तयारी गरिएको बताए । उनले सङ्क्रान्तिका दिन धेरै भक्तजन आउन सक्ने भएकाले सुरक्षा र अन्य व्यवस्थापनका काम गरिएको जानकारी दिए । देवघाट क्षेत्र विकास समितिका सूचना अधिकारी पुष्पराज पौडेलले भने घुम्ने हिसाबले पनि सोमबार झन्डै दुई लाखजति दर्शनार्थी देवघाट आउने अनुमान गरिएको बताए ।

साउने सङ्क्रान्तिको दिनमा भने मलमास सुरु नहुने भएकाले झन्डै ५० हजारजति भक्तजन आउने उनको अनुमान छ । चितवन, तनहुँ र नवलपुरको सङगमस्थल देवघाटमा साउनको सोमबार हरेक वर्ष उत्सवका रूपमा बोलबम मेला लाग्ने गरेको छ । पण्डित शेखर शास्त्रीले भने पहिलोपटक नभई नियमित गरिरहेका कर्महरू खासै रोक्न जरुरी नभएको बताए ।

साउने सोमबार देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजाआराधना गरे मनोकामना पूरा हुने धार्मिक विश्वास छ । साउनको हरेक सोमबार निराहार व्रत बसी बिहान सबेरै स्नान गर्ने धार्मिक मान्यता छ । यस वर्ष साउनमा पाँच सोमबार परे पनि साउन २ गतेबाट मलमास सुरु हुँदैछ ।


प्रकाशित मिति: ३१ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?