Trending
>>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा >>   वार्ताबाट पार्टीको समस्या समाधान हुन्छः शशांक कोईराला >>   काँग्रेस विशेष महाधिवेशनः नेतृत्व चयन मंगलवारबाट, महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर सत्तरी प्रतिशत पुर्‍याउने दाबी >>   राइजिङ स्टार यू–१२ क्रिकेट प्रतियोगिता माघ १ गतेदेखि >>   एउटै व्यक्ति दोहोर्‍याएर प्रधानमन्त्री बन्न नपाउने व्यवस्था संविधानमा गर्नुपर्छः विश्वप्रकाश शर्मा >>   सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगाना समूह प्रदर्शनमा >>   विशेष महाधिवेशनलाई संविधान, कानून र निर्वाचन आयोगले पनि अवैधानिक भन्न सक्दैनः गगन थापा >>   माघ ४ गते राष्ट्रिय सभाको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस
Logo
२९ पुष २०८२, मंगलवार
२९ पुष २०८२, मंगलवार

पहिलो पटक पशुआहार चीन निर्यात


३०,असार ,चितवन, । नेपालबाट पहिलो पटक पशुआहार (हाइलेज) चीन निर्यात भएको छ । भरतपुरमा रहेको होराइजन इन्टरनेसनल प्रालिले उत्पादन गरेको पशुआहार आज एक कार्यक्रमबीच चीन निर्यात गरिएको हो ।

भरतपुरमा उद्योग रहेको छ । सो कम्पनीले तयार गरेको १० कन्टेनर पशुआहार पहिलो दिन चीन पठाइएको हो । कम्पनीका अनुसार अब क्रमशः दैनिक २० कन्टेनर पशुआहार चीन पठाइने छ । एक वर्षमा दुई सय करोड टन पशुआहार चीनको सिगात्से सहर पठाउने योजना छ । सो सहर निकै चिसो हुने भएकाले त्यहाँ घाँस उत्पादन हुँदैन । पालिएका पशु चौपायाका लागि घाँस पठाउन लागिएको हो ।

कम्पनीका प्रमुख कार्यकारी निर्देशक चाङका अनुसार अहिले पठाइएको हाइलेज डाँठ र दुधिलो घोगासहितको मकैको बोटबाट तयार पारिएको हो । क्रमशः अम्रिसो, नेपियर लगायतका घाँसबाट समेत पशुआहार बनाइँदै छ । यो कम्पनीले भरतपुर र वरपरका किसानबाट मकैको बोट नै खरिद गरेर प्रशोधन गरी पशुआहार बनाएको हो ।

चाङका अनुसार किसानलाई उन्नत जातको बीउ, सिँचाइको व्यवस्था र प्राविधिक सहयोगसमेत गरिँदै आएको छ । यो प्रविधिमा दुधिलो मकैको बोटलाई काटेर प्रशोधन गरेपछि हावा नपस्ने गरी प्याकिङ गरिन्छ । सुरक्षित भण्डारणमा एक सय २० दिन राखेपछि यो घाँस चीन पठाउने चाङले जानकारी दिए । दुई वर्षसम्म घाँस प्रयोग गर्न मिल्छ । यसलाई निकै पोषिलो आहारका रुपमा लिने गरिन्छ । कम्पनीले किसानसँग गुणस्तर हेरेर बोटै सहितको मकै खरिद गर्दै आएको छ ।

पशुआहारलाई रोला बनाएर पठाइएको छ । एउटा रोलामा चार सय ६० किलो पशुआहार हुन्छ । उनका अनुसार दैनिक ८० देखि एक सय रोला पशुआहार उत्पादन गर्न सकिन्छ । हाल तयार गरिएको पशुआहार चितवनका विभिन्न ठाउँबाट सङ्कलन गरिएको हो । धेरै मात्रामा पूर्वी चितवनको मकै रहेको छ । सन् २०२२ मा चिनियाँ उपराष्ट्रपति नेपाल आउँदा घाँस चीन लैजाने विषयमा सम्झौता भएको थियो । पहिलो चरणमा केरुङ र रसुवा नाकाबाट घाँस पठाइँदै छ ।

चाङले चीनको सो क्षेत्रमा दैनिक पाँच सय कन्टेनर घाँसको माग रहेको बताए । सिगात्से सहरसँग भरतपुर महानगरपालिकाको भगिनी सम्बन्ध रहेको छ । पशु आहार निर्यात कार्यक्रमको कृषि तथा पशुपन्छी विकास मन्त्रालय, नेपालका लागि चिनियाँ राजदूतावास र भरतपुर महानगरपालिकाले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका थिए ।


प्रकाशित मिति: ३० असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?