Trending
>>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता >>   विशेष महाधिवेशनबाट कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन >>   कांग्रेसमा नयाँ नेतृत्वः गगन थापा सभापति, शर्मा–भुसाल उपसभापति >>   एकदर्जन बैंकहरुले घटाए ब्याजदर,कुनले कति ब्याज दिन्छन् ? >>   पार्टीमा कुनै नेता विशेषको प्रचार गर्नु राम्रो होइनः माधवकुमार नेपाल >>   निर्वाचनमा हामी जनताको घरदैलो अभियानमा केन्द्रित हुन्छौँः पुष्पकमल दाहाल >>   हाम्रो माग देउवा बाहेक अरुलाई प्रधामन्त्री तोकेर जाउँ भन्ने मात्रै होः गगन थापा >>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा
Logo
१ माघ २०८२, बिहीबार
१ माघ २०८२, बिहीबार

विपन्न परिवारलाई जस्ताको छानो


३०,असार ,भोजपुर, । भोजपुरको हतुवागढी गाउँपालिकाले अतिविपन्न एक सय छ परिवारलाई जस्ता पाताको छानो राख्न सहयोग गरेको छ । आर्थिक अवस्था कमजोर रहेका विपन्न परिवारको पहिचान गरेर गाउँपालिकाले फुसको छानो हटाउन सहयोग गरेको हो । गाउँपालिकाले गत र यो आर्थिक वर्षमा रु ७० लाख बजेट विनियोजन गरेर जस्तापाताको छानो फेरिदिएको छ ।

गाउँपालिकाले आफ्नै बजेटमा विपन्न आवास निर्माण कार्यक्रम लागू गरेर गत आर्थिक वर्षमा ४० र यो आर्थिक वर्षमा ६६ गरी एक सय छ परिवारलाई जस्तापाताको छानो वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिए । प्रतिपरिवार परिवारलाई रु ७५ हजार बराबरको सहयोग गरिएको प्रशासकीय अधिकृत निरौलाको भनाइ छ । कतिपय परिवारको घरसमेत निर्माण गरिदिएको उनले जानकारी दिए । “यहाँका विपन्न परिवारको फुसको छानो हटाएका छौँ”, प्रशासकीय अधिकृत निरौलाले भने, “आर्थिक अवस्था कमजोर भएका परिवारलाई राहत दिने लक्ष्यले उनीहरुलाई जस्ताको छानो दिएका हौँ । दुई आर्थिक वर्षमा यो कार्यक्रममा हामीले रु ७० लाख खर्च गरेका छौँ । छानो फेरिदिएपछि स्थानीयलाई सहजता भएको अवस्था छ ।”

गाउँपालिकाले वडा नं १ र २ का आठ/आठ घर, वडा नं ३ मा पाँच घर, वडा नं ४ मा १२ घर, वडा नं ५ मा आठ घर, वडा नं ६ मा नौ घर, वडा नं ७ मा छ घरलाई जस्ताको छानो वितरण गरेको हो । त्यस्तै वडा नं ८ मा पाँच घर र वडा नं ९ मा आठ घरलाई फुसको छानो हटाएर जस्तापाताको छानो वितरण गरेको हो । वर्षौंदेखि फुसको चुहिने छानोमा बस्दै आएका स्थानीय जस्ताको छानो पाएपछि खुसी भएका छन् । बर्र्सातको समयमा चुहिने छानोमा समस्या हुने भए पनि गाउँपालिकाले जस्ताको छानो दिएपछि सहज भएको हतुवागढी–१ की स्थानीय चिनिमाया खड्काले बताए । “फुसको छानो हुँदा धेरै समस्या थियो”, उनले भने, “म एकल महिला भएकाले छानो फेर्ने क्षमता थिएन । पानी परेपछि चुहिने ठाउँमा गाग्री, खड्कुला राखेर बस्थे । छानो पाएपछि मलाई धेरै सहज भएको छ ।”

आर्थिक अवस्था कमजोर भएका कारण छानो फेर्न नसक्ने परिवारको पहिचान गरेर गाउँपालिकाले फुसको छानो हटाएको हो । गाउँपालिकाले विपन्न आवास निर्माण कार्यक्रमअन्तर्गत नौवटै वडाका नागरिकलाई जस्ताको छानो दिएको छ । केन्द्र सरकारबाट फुसको छानो हटाउने कार्यक्रम निरन्तर नआएपछि गाउँपालिकाले आफै बजेट विनियोजन गरेर विपन्न परिवारको फुसको छानो हटाएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए ।

यो आव र आगामी वर्षको लागिसमेत केन्द्र सरकारबाट यो शीर्षकमा बजेट नआएको अध्यक्ष राईको भनाइ छ यो वर्ष वित्तीय समानीकरणमा आउने बजेट घटेको कारण फुसको छानो हटाउने कार्यक्रमलाई निरन्तरता दिन नसकेको उनले बताए । आगामी दिनमा यो कार्यक्रमलाई निरन्तरता दिइने अध्यक्ष राईको भनाइ छ । “हामीले यहाँका विपन्न परिवारको फुसको छानो हटाउने कार्यक्रम सञ्चालन गरिरहेका छौँ”, अध्यक्ष राईले भने, “फुसको छानो हटाउने केन्द्र सरकारको पनि कार्यक्रम छ तर हाम्रो गाउँपालिकामा यो बजेट निरन्तररुपमा आएको छैन । बजेटमा निरन्तरता नभएपछि गाउँपालिकाले नै फुसको छानो हटाएका छौँ ।”

केन्द्र सरकारबाट आउने फुसको छानो हटाउने शीर्षकको बजेट यो आव र आगामी आवमा समेत शून्य रहेको अध्यक्ष राईले बताए। केन्द्रको बजेटले यो गाउँपालिकालाई प्राथमिकतामा नराखेपछि आफैले कार्यक्रम ल्याएर जनताको फुसको छानो हटाएको उनको भनाइ छ । “हाम्रो गाउँपालिकामा फुसको छानो हटाउने केन्द्र सरकारको कार्यक्रमको बजेट नआएको अवस्था छ”, उनले भने, “मैले धेरै ठाउँमा यो विषय उठाएको पनि छु । तर पनि कार्यान्वयन भएको अवस्था छैन । आगामी वर्षलाई फुसको छानोको लागि हाम्रो गाउँपालिकामा बजेट आएको छैन । केन्द्रबाट बजेट नआए पनि यो कार्यक्रमलाई निरन्तरता दिने हाम्रो लक्ष्य छ । वित्तीय समानीकरणको बजेट घटेको कारण यो वर्ष निरन्तरता दिन सकिएन ।”

बर्सातको समयमा कष्टर जीवन बिताउँदै आएका स्थानीयलाई जस्ताको छानो फेरिदिएपछि सहजता थपिएको हतुवागढी–१ का वडाध्यक्ष कुमार विष्टले बताए । वडाका अतिविपन्न, एकल महिला, दलित आर्थिक रुपमा कमजोर रहेको परिवारलाई प्राथमिकतामा राखेर छानो वितरण गरिएको उनको भनाइ छ । स्थानीय तह सञ्चालनमा आएपश्चात् विभिन्न आर्थिक वर्षमा सुरक्षित आवास कार्यक्रमअन्तर्गत दुई सय ८९ घर, जनता आवास कार्यक्रमअन्तर्गत दश र गाउँपालिकाको विपन्न आवास निर्माण कार्यक्रमअन्तर्गत एक सय छ गरी हालसम्म चार सय पाँच परिवारले जस्तापाताको छानो पाएको गाउँपालिकाले जनाएको छ ।


प्रकाशित मिति: ३० असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?