Trending
>>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ
Logo
८ कार्तिक २०८३, शनिबार
८ कार्तिक २०८३, शनिबार

नारायणी लिफ्टबाट पानी छोड्न समय लाग्ने


२८,असार ,चितवन । लामो समयको खडेरीका कारण धान रोप्न नपाएका यहाँका किसान नारायणी सिँचाइ आयोजनाबाट पानी नछोड्दा अझै अन्योलमा परेका छन् । यस सिँचाइ आयोजनाबाट पानी छोडेर धान रोप्ने किसान पानी छोड्ने दिन गन्दै बसेको समयमा लिफ्टबाट पानी छोड्न समय लाग्ने भएको हो ।

लिफ्टमा मेसीन जडानको काम भइरहेकाले केही दिन लाग्ने आयोजनाले जनाएको छ । आयोजनाका इन्जिनियर कुलराज चालिसेका अनुसार पुराना पम्प मोटर बिग्रिदा नयाँ मोटर जडानको काम भइरहेको छ । अहिले चारवटा मोटर जडानको काम भइरहेकाले अझै केही दिन पानी छोड्न कठिन हुने उनले बताए । उनले भने, “असार मसान्तभित्र मेसिन जडानको काम सकिन्छ । त्यसलगत्तै पानी छाड्ने योजनामा रहेका छौ ।”

रु २६ करोडको ठेक्का सम्झौतामा भारतीय कम्पनीले मेसिन जडानको काम गरिरहेकाले केही दिन लागेको उनले जानकारी दिए । उनले थपे, “साउन पहिलो साताभित्र पानी दिने गरी काम गरिहेका छौँ ।” पुराना मेसीन बिग्रदै जाँदा क्षमताअनुसार पानी तान्न नसकेकाले नयाँ मेसीन जडानको काम गरिएको हो ।

चालीस वर्ष पुराना मेसिनका कारण पानी तान्दातान्दै समेत बिग्रने अवस्था आउने गरेकाले यसलाई परिवर्तन गरिएको हो । नारायणी लिफ्ट सिँचाइ सञ्चालनमा आएसँगै नारायणपुर, कैलाशनगर, पारसनगर, फूलबारी, शिवनगर, गितानगर, पार्वतीपुरलगायतका क्षेत्रमा सिँचाइ हुने गर्दछ । विसं २०४० मा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको नारायणी लिफ्ट सिँचाइ आयोजनाबाट चार हजार सात सय हेक्टर क्षेत्रफल सिँचाइ हुने गर्दछ ।

नारायणी नदीको लिफ्टिङ गरेर पानी निकाली नहरमा पठाइन्छ । जसबाट २५ हजार घरधुरी लाभान्वित हुने गरेका छन् । पानी समयमा छोड्न नसक्दा ती कृषक मर्कामा परेका छन् । नारायणी लिफ्टमा रहेका चारवटा पम्पमध्ये दुई वटाबाट दुई घनमिटर प्रतिसेकेण्ड र दुईवटा पम्पबाट चार घनमिटर प्रतिसेकेण्ड पानी तान्ने क्षमता रहेको छ । यस्तै खगेरी सिँचाइबाट असार १५ गतेदेखि नहरमा पानी छोडिएको छ ।

अहिले यस नहरको दुई वटा क्यानलबाट पानीको पठाइएको उनले जानकारी दिए । लामो समय खडेरी पर्दा खोलामा पानी नभएका कारण सो नहरबाट समेत क्षमताअनुसारको पानी पठाउन नसकिएको कार्यालयले जनाएको छ ।

विसं २०२६ मा सञ्चालनमा आएको खगेरी सिँचाइ आयोजनाले तीन हजार नौ सय हेक्टर क्षेत्रफल सिञ्चित गर्दछ । खगेरी खोला, ताल र घोलबाट आएको पानीलाई सङ्कलन गरी नहरमा पठाइने गरिएको छ । जसबाट १५ हजार घरधुरी लाभान्वित हुने गर्दछन् ।


प्रकाशित मिति: २८ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?