Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

यस्ता छन् ११ महिनाका आर्थिक सूचक


२५ असार, काठमाडाैँ । चालु आर्थिक वर्षको जेठसम्म शोधनान्तर स्थितिमा सुधार देखिएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा शोधनान्तर स्थिति जेठ मसान्तसम्म रू दुई खर्ब २८ अर्ब ९८ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु दुई खर्ब ६९ अर्ब ८१ करोडले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब २६ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा एक अर्ब ७४ करोडले बचतमा छ ।

प्रतिवेदनअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति छ दशमलव ८३ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति आठ दशमलव ५६ प्रतिशत थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति पाँच दशमलव ६६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति सात दशमलव ७६ प्रतिशत  छ ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसला उप-समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ३५ दशमलव २९ प्रतिशत, रेष्टुराँ तथा होटलको १४ दशमलव ३६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३ दशमलव ०६ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १० दशमलव ९८ प्रतिशत र सुर्तीजन्य पदार्थको आठ दशमलव ४९ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप-समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १६ दशमलव ६० प्रतिशतले घटेको छ ।

कुल विदेशी विनिमय सञ्चिति रू १४ खर्ब ८० अर्ब ८७ करोड र अमेरिकी डलरमा ११ अर्ब ३० करोड बराबर देखिएको छ । चालु आर्थिक वर्ष २०७९÷८० को एघार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११ दशमलव २ महिनाको वस्तु आयात र नौ दशमलव ६ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

यो अवधिमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २२ दशमलव ७ प्रतिशतले र अमेरिकी डलरमा १३ प्रतिशतले बढेको छ । त्यस्तै, आयात १६ प्रतिशतले, निर्यात २२ दशमलव सात प्रतिशतले र कुल वस्तु व्यापार घाटा १५ दशमलव दुई प्रतिशतले घटेको छ ।

गत जेठ मसान्तसम्ममा सङ्घीय सरकारको खर्च रू ११ खर्ब ७६ अर्ब ७ करोड र राजस्व परिचालन रू ८ खर्ब ३६ अर्ब ८५ करोड रहेको छ । यस अवधिसम्मको विस्तृत मुद्राप्रदाय सात दशमलव आठ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १० दशमलव नौ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन आठ दशमलव आठ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा तीन दशमलव चार प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२ दशमलव दुई प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर तीन प्रतिशत रहेको छ ।


प्रकाशित मिति: २५ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?