Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

नेपालगन्जको बजेट र नीति तथा कार्यक्रम पारित


२३ असार ,जानकी । नेपालगन्ज उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट र नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । आज बसेको नगरसभाको १३औँ अधिवेशनको दोस्रो बैठकमा नगरप्रमुख प्रशान्त विष्टले निर्णयार्थ प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम, बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक सर्वसम्मत पारित भएको हो ।

यही असार ९ गते बसेको नगरसभाको १३औँ अधिवेशनको पहिलो बैठकमा नगरप्रमुख विष्टले आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम र उपप्रमुख कमरुद्दिन राईले रु एक अर्ब ६७ करोड ५६ लाख एक हजार पाँच सय ८७ बराबरको बजेट प्रस्तुत गरेका थिए । उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले समग्र नगर विकासका लागि वडा कार्यालयसँगको सहकार्यलाई आत्मसात गर्दै आगामी आवका लागि पनि रु २५ करोड सिलिङ उपलब्ध गराउने व्यवस्था गरेको उपप्रमुख राईले उल्लेख गरेका छन् ।

उपमहानगरपालिकाले आन्तरिक आय रु १८ करोड र राजस्व र अनुदान बचत मौज्दात रु २० करोड हुने अनुमान गरेको छ । कुल आम्दानीको अधिकांश भार केन्द्रीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान भएकाले आन्तरिक राजस्वको दायरा बढाई आन्तरिक स्रोत वृद्धि गर्ने कार्यक्रमलाई अभियानकै रूपमा अघि बढाइने उपप्रमुख राईले बताए ।

उपमहानगरको नीति तथा कार्यक्रममा विद्यालयलाई सूचना प्रविधिमैत्री बनाउने, गुणस्तरीय शिक्षामा जोड, स्थानीय पाठ्यक्रम कार्यान्वयन, निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने, योगमैत्री नगर बनाउने, पाँच वर्षभित्र क्षयरोगमुक्त उपमहानगर घोषणा गर्ने, जमुनाहानाकामा हेल्थडेस्क सञ्चालन गरी सरुवाजन्य रोगको रोकथाम, निगरानी र व्यवस्थापन गर्ने, राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक पहल गर्ने उल्लेख छ ।

होटल व्यवसायीसँगको सहकार्यमा होटल परिसरमा सार्वजनिक शौचालय निर्माणका लागि आवश्यक पहल गर्ने, वर्षात्को समयमा हुने डुबान कम गर्नका लागि नालीको प्रभावकारीरूपमा सरसफाइ तथा व्यवस्थापन गर्ने, नेपालगन्जको ऐतिहासिक कला, संस्कृति झल्किने गरी वडा नं २० स्थित सुर्खेतरोडमा प्रवेशद्वार स्थापना गर्ने, आफ्नै भवन नभएका वडा कार्यालयको भवन निर्माणकार्यलाई प्राथमिकता दिने, बागेश्वरी मन्दिरलाई थप व्यवस्थित र सौन्दर्यकरण गर्न पूर्वतर्फ बागेश्वरी चिल्ड्रेन पार्क निर्माण गर्ने विषय नीति तथा कार्यक्रममा समेटिएका छन् ।

साथै आगामी दुई वर्षभित्र १५ शय्याको आधारभूत अस्पताल सञ्चालनका लागि प्रदेश तथा सङ्घीय सरकारसँग पहल गर्ने, ६० वर्ष पुगेका स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन एवं सम्मानसहित बिदाइ गरिने, प्लाष्टिकको झोलाको प्रयोगलाई न्यूनीकरण गर्ने, हरित नेपालगन्ज बनाउन सडकको दायाँबायाँ बिरुवा रोप्ने योजना नीति तथा कार्यक्रममा उल्लेख छ ।

साथै श्रम सूचना बैंक स्थापना, रोजगार मेला सञ्चालन गर्ने, रोजगारी सिर्जना गर्ने, सहकारीको निरन्तर अनुगमन गरी नियमनको दायराभित्र ल्याइने, कृषि उपजमा नेपालगन्जलाई आत्मनिर्भर बनाउने, सामाजिक सुरक्षा भत्ता विद्युतीय प्रणालीमार्फत उपलब्ध गराउने, सामुदायिक कुकुरलाई बन्ध्याकरण गरी आवश्यक व्यवस्थापन गरिने, सुशासन कायम गर्नका लागि हेल्पडेस्क, डिजिटल नोटिस बोर्ड, सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षणलगायतका कार्यलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्ने, अतिक्रमण भएका सडकपेटी खाली गराई व्यवस्थापन र अनुगमन गर्ने उल्लेख छ ।


प्रकाशित मिति: २३ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?