Trending
>>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता >>   विशेष महाधिवेशनबाट कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन >>   कांग्रेसमा नयाँ नेतृत्वः गगन थापा सभापति, शर्मा–भुसाल उपसभापति >>   एकदर्जन बैंकहरुले घटाए ब्याजदर,कुनले कति ब्याज दिन्छन् ? >>   पार्टीमा कुनै नेता विशेषको प्रचार गर्नु राम्रो होइनः माधवकुमार नेपाल >>   निर्वाचनमा हामी जनताको घरदैलो अभियानमा केन्द्रित हुन्छौँः पुष्पकमल दाहाल >>   हाम्रो माग देउवा बाहेक अरुलाई प्रधामन्त्री तोकेर जाउँ भन्ने मात्रै होः गगन थापा >>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा
Logo
३ माघ २०८२, शनिबार
३ माघ २०८२, शनिबार

कञ्चनपुर–कमला सडकमा नयाँ प्रविधिको पुल


२२ असार ,काठमाडौँ । पूर्व–पश्चिम राजमार्गअन्तर्गतको कञ्चनपुर–कमला सडकमा नयाँ प्रविधिमा आधारित रहेर पुल निर्माण गरिने भएको छ । पुलको माथिल्लो भाग (बिम) निर्माणस्थलमा नबनाई प्रयोगशालामै बनाउने गरी नयाँ प्रविधिको प्रयोग गर्न लागिएको हो ।

नेपालमा समान्यतया पुल बनाउँदा त्यसको सबै भाग निर्माणस्थलमा नै बनाउने गरिएकामा नयाँ प्रविधिका रुपमा प्रयोगशालामा बनाएर ल्याएर जडान गर्न लागिएको कञ्चनपुर–कमला सडक योजनाले जनाएको छ । सो योजनाका लागि ऋण सम्झौता हुनु पहिले एसियाली विकास बैंकसँग प्राविधिक हस्तान्तरणका विषयमा छलफल भएको थियो । सोही आधारमा नयाँ प्रविधिको प्रयोग यो योजनामा गर्न लागिएको कञ्चनपुर–कमला सडक योजना पश्चिमका प्रमुख नारायणदत्त भण्डारीले बताए ।

यो सडकको पूर्वी र पश्चिम दुवै खण्डका सबै पुलमा यही प्रविधिबाट गर्न लागिएको उनले बताए । उनले भने, “गुणस्तर र समय बचतका हिसाबले यस्ता पुलहरु हाम्रा लागि उपयोगी छन् ।” पुलको माथिल्लो भाग भारतमा बनाइएकामा कतिपय बनिसकेर ल्याइएको र कतिपय बनिरहेको उनले बताए ।

नालाहरु बनिरहेको र त्यसलाई ल्याएर राखिने उनले बताए । पुलमा प्रयोग गरिएको यो प्रविधिलाई ‘प्रि कास्ट ब्रिज’ भनिन्छ । निर्माणस्थलमा नै सबै निर्माणको काम गरिने प्रविधिलाई ‘कास्ट इन सिटु’ भन्ने गरिएको छ । नयाँ प्रविधिबाट पुल बनाउँदा बढी गुणस्तरीय बनाउन सकिने उनले बताए ।

बिम प्रयोगशालामा बनाउने हुँदा गुणस्तर राम्रो हुने प्रमुख भण्डारीको धारणा छ । उनका अनुसार प्रयोगशालामा हुँदा आवश्यकताअनुसार केके चाहिन्छ र कति चाहिन्छ त्यहीअनुसार हुन्छ भने निर्माणस्थलमा काम हुँदा कामदारको भर पर्नुपर्ने हुन्छ । उनले भने, “सबैको मात्रा मिल्ने हुँदा गुणस्तर कायम गर्न सकिन्छ ।” समय बचतका हिसाबले पनि ‘प्रि कास्ट ब्रिज’ महत्त्वपूर्ण मानिन्छ । व्यस्त सडकमा निर्माणको समय बढी लाग्ने हुँदा यसलाई उपयुक्त मानिन्छ ।

एकातिर निर्माणस्थलमा जग बनिरहँदा अर्कातिर प्रयोगशालामा बन्ने र एकै पटक काम हुँदा समय कम लाग्ने प्रमुख भण्डारीले बताए। हाल नेपालमा प्रयोगमा रहेको प्रविधिमा निर्माणस्थलमा जग बनेपछि मात्रै फर्मा हाल्नुपर्ने र त्यसपछि ढलान गरेर पुल निर्माण गरिने उनले बताए ।

ढलान सेट हुन कम्तीमा २८ दिन लाग्छ र त्यसपछि बल्ल माथिको काम गर्न सकिन्छ । ‘प्रि कास्ट’ बाट गर्दा ती सबै कुरा हट्ने उनले बताए । उनले भने, “जग, पिलर हुनासाथ बिम ल्याएर हाल्न सकिने हुन्छ ।” योजनाको पूर्वी खण्डमा सानाठूला गरी २९ र पश्चिम खण्डमा पर्ने २५ पुल रहेका छन् । सन् २०२२ को अक्टोवरमा सुरु भएको योजनाको अवधि आगामी अक्टोवरसम्म रहेको छ ।


प्रकाशित मिति: २२ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?