Trending
>>   ओखलढुङ्गाको एक मतदान केन्द्रमा किन कसैले पनि गरेनन् मतदान ? >>   कुनैपनि केन्द्रमा मतदान रोकिएको छैनः निर्वाचन आयोग >>   निर्वाचनले लोकतन्त्र सुदृढ गर्नुका साथै देशमा स्थायित्व ल्याउनुपर्छ: ओली >>   देशभर उत्साहजनक मतदानः मुस्ताङमा साढे १२ बजेसम्ममै ४० प्रतिशत मत खस्यो, प्रतिघण्टा १० प्रतिशतले बढ्दै >>   छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण मतदान, रोकिएका स्थानमा पनि सुचारु >>   समयमै मतदान गर्नुस्ः आयुक्त तुलाधर >>   ओखलढुङ्गामा मतदान बिथोल्ने भ्रामक सूचना फैलाउनेमाथि प्रहरीको कडा कारबाही तयारी >>   निर्वाचनका दिन काठमाडौं उपत्यकामा सवारीसाधन चेकजाँचमा कडाइ (तस्बिरहरु) >>   धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा उत्साहजनक मतदान >>   झापा ५ मा मतदान जारी : उत्साहजनक सहभागिता
Logo
२१ फाल्गुन २०८२, बिहीबार
२१ फाल्गुन २०८२, बिहीबार

भारतको सहयोगमा निर्मित उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उद्घाटन


२२ असार ,काठमाडौँ । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उद्घाटन गरिएको छ ।

परियोजनाअन्तर्गत दैलेखमा निर्माण गरिएका तीन वटा विद्यालय भवन हिजो भारतीय राजदूतावासको विकास साझेदारी प्रभागका द्वितीय सचिव प्रशान्तकुमार सोना र जिल्ला समन्वय समिति, दैलेखका प्रमुख नमराज शाहीले संयुक्तरूपमा उद्घाटन गरेका हुन् ।

नेपाल–भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको रु १० करोड ८६ लाख आर्थिक सहयोगमा दैलेखमा निर्माण गरिएका लालिकाँडास्थित श्री मालिका उच्च माध्यमिक विद्यालय, बडाभैरवस्थित श्री भैरव माध्यमिक विद्यालय, बडाखोलास्थित श्री जगदीश माध्यमिक विद्यालय उद्घाटन गरिएको हो ।

यसअघि रामपुरस्थित श्री नारायण क्याम्पसको क्याम्पस भवन यही असार १८ गते नेपाल सरकारका सम्बन्धित स्थानीय निकायलाई औपचारिकरूपमा हस्तान्तरण गरिएको नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ । कार्यक्रममा गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर विसी, भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेशबहादुर थापा, महाबु गाउँपालिकाका कार्यवाहक अध्यक्ष मञ्जुकुमारी शर्मा (पाण्डे), नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्मा, समाजसेवी, राजनीतिक दलका प्रतिनिधि, नेपाल सरकारका पदाधिकारी तथा स्थानीय समुदायका अगुवाको उपस्थिति थियो ।

यी परियोजनाहरू भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रूपमा अघि बढाइएको हो । विद्यालय र क्याम्पस निर्माण परियोजनाको कार्यान्वयन जिल्ला समन्वय समिति, दैलेखमार्फत भएको हो । यी विद्यालय र क्याम्पस भवनले त्यस क्षेत्रका विद्यार्थीलाई गुणस्तरीय शैक्षिक पूर्वाधार उपलब्ध गराई दैलेखमा गुणस्तरीय शिक्षाका लागि उपयुक्त वातावरण सिर्जना गर्न मद्दत गर्नेछ ।

सन् २००३ यता भारतले नेपालमा पाँच सय ४४ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइसकेको छ । तीमध्ये चार सय ८० वटा परियोजना सम्पन्न भइसकेका छन् । यी परियोजनामध्ये दैलेखका चार गरी कर्णाली प्रदेशमा १४ वटा परियोजना रहेका छन् ।

यसका अतिरिक्त भारत सरकारले भारतको स्वतन्त्रता र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी तथा शैक्षिक संस्थालाई नौ सय ४० वटा एम्बुलेन्स र एक सय ८४ वटा स्कुल बस उपहारस्वरूप प्रदान गरिसकेको छ । यी मध्ये दैलेख जिल्लालाई हालसम्म छ वटा एम्बुलेन्स उपलब्ध गराइएको छ ।


प्रकाशित मिति: २२ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?