Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक


१३ असार ,काठमाडौँ । आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को साउनदेखि पुससम्मको तथ्याङ्कमा आधारित अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन गरेर मङ्गलबार प्रतिवेदन सार्वजनिक गरेको हो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली र तरकारी एवं फलफूल तथा मसला) को उत्पादन चार दशमलव तीन प्रतिशतले बढेको छ । यस्ता बालीले ढाकेको भूक्षेत्र भने दुई दशमलव एक प्रतिशतले घटेको छ । खाद्य तथा अन्य बालीको उत्पादन मात्र पाँच दशमलव सात प्रतिशतले बढेको छ ।

त्यस्तै तरकारी तथा बागवानीको उत्पादन साढे चार प्रतिशतले बढेको छ । फलफूल र मसलाको उत्पादनमा भने क्रमशः पाँच दशमलव दुई प्रतिशत र आठ दशमलव चार प्रतिशतले घटेको छ । प्रतिवेदनअनुसार पशुजन्य उत्पादनअन्तर्गत दूध उत्पादन एक दशमलव चार प्रतिशत र मासु उत्पादन एक दशमलव सात प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै अर्धवार्षिक अवधिमा अण्डा उत्पादन २६ दशमलव तीन प्रतिशतले घटेको छ । वनजन्य उत्पादनअन्तर्गत काठ उत्पादन १६ दशमलव २३ प्रतिशतले र औषधिजन्य वस्तुको उत्पादन सात दशमलव चार प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा उद्योगको क्षमता उपयोग औसतमा ४३ दशमलव सात प्रतिशत रहेको छ ।

यो अवधि बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कूल कर्जामा औद्योगिक क्षेत्रमा प्रवाह भएको कर्जाको अंश २७ दशमलव नौ प्रतिशत रहेको छ । पुस मसान्तसम्ममा घरजग्गा रजिष्ट्रेशन सङ्ख्या ५० दशमलव ०३ प्रतिशतले घटेर एक लाख ९६ हजार पाँच सय ९५ कायम भएको र जग्गा रजिस्ट्रेशनबाट प्राप्त हुने राजस्व रु नौ अर्ब ९० करोड पुगेको प्रतिवेदनमा जनाइएको छ ।

घर तथा भवनको स्थायी नक्सा पास सङ्ख्या ३७ दशमलव पाँच प्रतिशतले घटेको छ । विसं २०७८ पुस मसान्तको तुलनामा २०७९ पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप नौ दशमलव एक प्रतिशतले र कर्जा प्रवाह चार दशमलव एक प्रतिशतले वृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थाको कूल निक्षेप र कर्जामा बागमती प्रदेशको अंश क्रमशः ६९ दशमलव चार प्रतिशत र ५५ दशमलव छ प्रतिशत रहेको छ ।

निक्षेप र कर्जामा कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम क्रमशः एक दशमलव दुई प्रतिशत र एक दशमलव दुई प्रतिशत रहेको छ । विसं २०७८ पुस मसान्तको तुलनामा २०७९ पुस मसान्तसम्ममा दर्ता भएका कूल सवारीसाधनको सङ्ख्या चार दशमलव एक प्रतिशतले वृद्धि भएको छ ।

पूर्वाधार क्षेत्रमा चालु आर्थिक वर्षको पहिलो छ महिनासम्ममा ३४ हजार ७५ किलोमिटर सडक र तीन हजार १८ पुल निर्माण भएको प्रतिवेदनमा उल्लेख छ । यो अवधिसम्ममा अन्तर्राष्ट्रिय उडानतर्फ तीन वटा नेपाली वायुसेवा र २९ वटा विदेशी वायुसेवा गरी ३२ वटा वायुसेवा कम्पनीले विभिन्न गन्तव्यमा उडान सञ्चालन गरिरहेका छन् । सबै मौसममा सञ्चालनमा रहने विमानस्थलको सङ्ख्या ३३ रहेको छ ।


प्रकाशित मिति: १३ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?